तेह्रथुम, पुस ६ – कञ्चनपुरको बेलौरी नगरपालिकाका – ४ का ३६ वर्षे प्रेमकुमार चौधरी आफ्ना दुई भान्जासहित मजदुरीका लागि सुदूर पूर्वको तेह्रथुममा हुनुहुन्छ । डेढ महिनाअघि अलिअलि भएको बालीनाली थन्काएर चौधरी मजदुरीका लागि दोश्रोपटक यता आउनुभएको हो । उहाँ गएको असारमा ६ महिना यतै काम गरेर घर फर्किनुभएको थियो ।

गाउँघरमा काम पाए पनि ज्याला कम हुने र कामको निरन्तरता पनि नहुने भएकाले घरमा श्रीमतीलाई एक्लै छाडेर टाढासम्म आएर काम गरिरहेको उहाँले बताउनुभयो । बेलौरी नगरपालिका–४ कै रामबहादुर चौधरीका दाजुभाइ पनि अहिले तेह्रथुममै मजदुरी गरिरहनुभएको छ । ‘गाउँमा खेती गरिखाने जमिन कम छ, मजदुरी गर्दा ज्याला पनि कम पाइन्छ’ रामबहादुरले भन्नुभयो, ‘त्यसैले दुई चार पैसा जोहो गर्न यता आएका हौँ ।’

पढ्ने र भविष्य बनाउने उमेरका धेरै युवा पनि गरिबीका कारण मजदुरी गर्न बाध्य छन् । कक्षा–११ को परीक्षा लेखेर पढाई पूरा गर्ने खर्च नहुँदा मजदुरी गर्न यहाँ आउनुभएका बेलौरी नगरपालिका–६ का अशोककुमार चौधरीले पढ्न मन भएको तर कमजोर आर्थिक अवस्थाले मजदुरी गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

उहाँहरु जस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका मात्रै २० जना युवाहरु अहिले मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड अन्तर्गत ओयाक्जुङमा कार्यरत छन् । ती युवाको नेतृत्व प्रेमकुमार चौधरीले गर्नुभएको छ । लोकमार्गमा काम गर्दा दैनिक ५ सयदेखि १२ सयसम्म कमाई हुने चौधरीले बताउनुभयो । ‘मिस्त्रीको दैनिक १२ सयसम्म हुन्छ, अरु हेल्पर र ढुंगाको काम गर्नेहरुको ५ सयदेखि ९ सयसम्म कमाई हुन्छ’ उहाँले भन्नुभयो ।

यसरी दैनिक ज्यालाबाट मासिक २५ देखि ४० हजार रुपैयाँसम्म कमाई हुने गरेको छ । यहाँका कार्यरत मजदुर सिकिस्त बिरामी पर्दा र चाडपर्व बाहेक अन्य समयमा घर पुग्दैनन् । ६ महिनामा एक पटकसम्म घरमा पुगेर व्यवहार मिलाउने र फेरि मजदुरीमै फर्किने चलन रहेको प्रेमकुमारले बताउनुभयो ।

आफूहरु मजदुरीकै लागि धेरै जिल्ला पुगिसकेको कामदार बताउँछन् । परदेश जाँदा धेरै खर्च लाग्ने र परिवार साथीभाइबाट धेरै टाढा जानुपर्ने भएकाले स्वदेशमै काम गर्न आएको मजदुरहरु बताउँछन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा तमोर नदीको माझीटार दोभान–म्याङलुङ सडकखण्ड (८९ किमि) का विभिन्न क्षेत्रमा धमाधाम काम भइरहेको छ ।

सडक निर्माणका क्रममा अहिले यहाँ एक हजार बढी मजुदरहरु कार्यरत रहेका छन् । १७ वर्षे ठिटादेखि परिपक्व बुढापाकाहरु पनि लोकमार्गमा मजदुरी गरिरहेका भेटिन्छन् । कतिपय परिवारसहित साना नानीहरु समेत लिएर मजदुरी गरिरहेका भेटिन्छन् ।

तपाईको प्रतिक्रिया