तेह्रथुम, पुस ५–तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ५ छातेढुंगाको नागेश्वरीकी गीतादेवी देवान दुई वर्षअघि गाउँ छाडेर परिवारसहित बसाई सर्ने सोच बनाउँदै हुनुहुन्थ्यो । कृषि पेशाकै आडमा बाँचेको उहाँको परिवारलाई सिंचाई समस्या, घट्दो उब्जनी, पिउने पानीको अभाव, आवश्यक सेवा सुविधाको अभावलगायतका कारणले थात्थलो छाड्नुपर्ने बाध्यता सिर्जना हुँदै थियो ।
त्यसो त उहाँले गाउँ छाडेर जाने प्रयास नगर्नुभएको भने हैन् । तर गाउँमा भएको जायजेथा बिक्री नहुने, र त्यत्तिकै छाडेर जाँदा अन्यत्र गएर बाँच्न नसकिने भएकाले चटक्कै छाड्न सक्नुभएन् । तर अहिले उहाँ पिउने पानीबाहेक सबै समस्याबाट मुक्त हुनुहुन्छ ।
हावापानी सुहाउँदो बालीनाली लगाउन नजान्दा जीविकोपार्जन गर्नै मुस्किल परिरहेको उहाँको परिवारले अहिले घर खर्च चलाएर दुई चार हजार रुपैयाँ बचतसमेत गर्न थालेको छ । २०७२ सालको अन्तिमतिर गाउँमा एउटा महिला समूह गठन भयो । एक्सन एड नेपालको सहयोगमा देउराली सोसाइटीले सञ्चालन गरेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठित समूहले गाउँका महिला तथा किसानलाई बोलाएर सामूहिक समस्याहरुमाथि छलफल र समाधानको बाटो खोज्न सिकायो ।
गीतादेवी जस्तै गाउँका धेरै महिलाहरु र किसान परिवारले आफ्ना समस्याको समाधान छलफलबाट निकालेर गाउँमै हावापानी सुहाउँदो खेती गर्न थाले । अहिले गीतादेवीको बारीमा मकै र कोदोको सट्टा टमाटर, खुर्सानी र कपास फल्छ । यो वर्षमात्रै गीतादेवीले खुर्सानीबाट ४५ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ भने टमाटर खेतीबाट घरमा आफूले खाएर ३५ हजार रुपैयाँ कमाउनु भएको छ । यसका साथै उहाँले कपास खेती पनि गर्नुभएको छ ।
मकै र कोदो खेती गर्दा हुने आम्दानी भन्दा अहिले दोब्बर आम्दानी कम मेहिनेत र लगानीबाटै हुन थालेपछि बसाइ सरेर जाने कुरा बिर्सिएको उहाँले बताउनुभयो । ‘मकै र कोदो खेती गर्दा वर्षभरि खानै पुग्थेन, त्यो पनि बाँदरबाट जोगाउन मुस्किल थियो,’ गीतादेवी भन्नुहुन्छ, ‘अहिले खाद्यान्न बाली लगाएभन्दा तेब्बर बढी आम्दानी छ ।’
नागेश्वरी गाउँका धेरैले गीतादेवी जस्तै खाद्यान्न बाली छाडेर अहिले हावापानी सुहाउँदो खुर्सानी, टमाटर र कपासको खेती गर्न थालेका छन् । तमोर नदीसँग सीमा जोडिएको यो गाउँ सुख्खाग्रस्त क्षेत्र हो । यहाँ पानीका मुहान छैनन् । भएका पनि धेरैजसो सुकिसके । अब गाउँमा दुईवटा मात्रै खानेपानीका मुहान बाँकी रहेको गीतादेवीका श्रीमान तेजमान देवानले बताउनुभयो ।
नागेश्वरी गाउँमा राई, लिम्बु र केही दलित घरधुरी गरी २५ घरधुरीको बसोवास छ । यहाँ पुग्न साविक छातेढुंगा गाविसको कार्यालयबाट पनि कम्तीमा दुई घण्टा पैदल हिँड्नुपथ्र्यो । तर अहिले यो गाउँसम्म सडक सुविधा पुगिसकेको छ ।
हाल गाउँमा भएको उत्पादन व्यापारीले घरैमा आएर लैजान्छन् । गाउँदेखि पाँचथरको फिदिमसम्म दैनिक सवारी चल्छन् । गाउँका किसानले उत्पादन गरेका टमाटर, खुर्सानी, कपासबाट बनाइएको खाडी कपडा, बनमारा लगायत फलफूल बालीहरु बजारसम्म पु¥याउन कुनै समस्या छैन । गाउँमा गठन भएको समूहमार्फत नै अग्र्यानिक उत्पादन र व्यवसायिक तरकारी खेतीबारे सिकेपछि आफूले खाद्यान्न बालीभन्दा राम्रो आम्दानी गर्न थालेको किसान मनकुमार देवानले बताउनुभयो ।
उहाँका अनुसार गाउँमा धेरैले कपास उत्पादन गरी आफै धागो बनाएर खाडी कपडा तयार पार्छन् । त्यसरी कपासबाट बनेको खाडी कपडाको एक थान दौरासुरुवालको मुल्य १२ हजार रुपैयाँ पर्छ । ‘टमाटर र खुर्सानी पनि दिगो हुँदैन, हाम्रो भूगोल र पर्यावरण कपासकै लागि उपयुक्त छ,’ उहाँ भन्नुहुन्छ, ‘ अब कपासलाई व्यवसायिक बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
खाडी कपडाको माग अनुसार आफूहरुले कपडा दिन नसकेको उहाँले बताउनुभयो । कपास खेती सबैले पहिलेदेखि नै गर्दै आए पनि किसानलाई प्रविधिको ज्ञान र व्यवहारिक सीपको खाँचो रहेको उहाँले बताउनुभयो । ‘हामीलाई व्यवसायिक कपास खेती र खाडी कपडाको सीप सम्बन्धी तालिमको खाँचो छ, यसबारे जनप्रतिनिधिसँग माग राखेका छौँ’, उहाँले भन्नुभयो ।
नगेश्वरीका सबैजसो घरधुरीले मकै कोदोको खेती लगाउन छाडेका स्थानीय बासिन्दासमेत रहनुभएका जिसस (जिल्ला समन्वय समिति) सदस्य जयप्रसाद कन्दङवाले बताउनुभयो । ‘गाउँमा सबैले टमाटर खेती लगाएका छन्, थोरैमा पनि १०–२० हजार त सबैले टमाटर बेचेरै कमाउँछन्,’ कन्दङवाले भन्नुभयो । अहिले तमोर तटीय क्षेत्रमा हाइब्रिड जातको टमाटर खेती लोकप्रिय बनेको छ ।
किसानको माग बमोजिम खाद्यान्न बालीको सट्टा टमाटर, खोर्सानी, गहत, कपास र बनमारा खेतीलाई व्यवस्थित गर्न आफूहरुले ध्यान केन्द्रित गरेको जिसस सदस्य कन्दङवाले बताउनुभयो । यहाँका किसानले अहिले अग्र्यानिक खेतीको अभियानलाई समेत जोड दिएका छन् ।
उहाँहरुले आफैले घरैमा जैविक मल बनाएर बालीनालीमा प्रयोग गर्छन् । सुख्खा क्षेत्रका किसानलाई त्यहाँको पर्यावरण बमोजिमको बालीनाली लगाउन र खेती प्रविधि अपनाउन कार्यक्रममार्फत सहजीकरण गरिएको देउराली सोसाइटीका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो ।
अहिले सोसाइटीको सहजीकरणमा आठराई गाउँपालिकाका सात वटै वडाहरुमा सो परियोजना सञ्चालित छ । दश वर्षसम्म सञ्चालन हुने परियोजनाले सुख्खा क्षेत्रका किसानको जीवनस्तर उकास्न सकारात्मक काम गरेर देखाउन थालेको आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङवाले बताउनुभयो ।