चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअधिकारकर्मी मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी सञ्चालकका रुपमा रहनेछन् । फाउण्डेसनले गरेको पत्रकार सम्मेलनमा सञ्चालकहरुले सुनाएको अनुभव हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

त्यस्तो ठाउँ भेटेको छैन, जहाँ विभेद नहोस्
– मोहना अन्सारी, मानव अधिकारकर्मी

मैले अहिलेसम्म त्यस्तो कुनैपनि समय भेटेको छैन, जहाँ मैले विभेद नखपेको होस् । मलाई याद छैन, मैले एकदमै सोहार्द रुपमा, सम्मानपूर्ण व्यवहारको महसुस गरेको छैन, मेरो नामलाई लिएर, मेरो नामको पछाडिको थरलाई लिएर । कतिपय समयमा त मान्छेहरुले भन्छन् कि, ए तिमी पक्कै ब्राह्मणकी छोरी हौ । र तिम्रो आमा अथवा बाबा हिन्दु हुनुुहुन्छ । मान्छेहरुले यत्तिकै अनुमानहरु गर्छन् । यसरी मसँग चाँहि दुई वटा कुरा जोडिएर आउने गरेको छ, एउटा जात, अर्को धर्म ।

कहिले काँही तिमी मुस्लिम हो । बाहिर बस ! तिमीले छोएको मैले खानुहुदैन भन्ने पनि मैले भोगेँ । कहिलेकाँही तिमलाई चोख्याउनुपर्छ भनेर पनि भनियो । मेरो क्षेत्री÷बाहुन साथीहरु हुन्थे । कहिलेकाँही हामी सँगै मन्दिर जान्थ्यौँ । बागेश्वरी मन्दिर पुग्दा त्यहाँ उनीहरुले तिमी मन्दिरभित्र जानुहुदैन भन्थे । यस्ता अनेकथरी अनुभव छन् ।

कहिलेकाँही त लाग्छ, यो जातको बहसमा जोडिन नै नपरोस् । तर, अहिले फेरि हामी त्यही अभियानमा छौँ । खासमा त्यस्ता कुराहरु म सम्झिननै चाहदिनँ । म मेरो समुदायबाट यहाँसम्म पुग्ने पहिलो व्यक्ति हुँ होला सायद । मैले त्यही विभेद खेपेँ । खेप्न बाध्य भएँ । अहिले पनि विभेदको महसुस हुन्छ । आफु विभेदमा परेको भन्न छोड्नुस् भनेर धेरै भन्नुहुन्छ । तर मैले त दोहोरो तेहोरो विभेदको शिकार हुनुप¥यो । अझै मैले पितृसत्ताको तापमा सधैँ जेलिरहनुप¥यो । मलाई लाग्छ, मानव जीवनको उत्पत्ति नै ….! खान र सुत्न त सबैले जानेका छन् । र, खाने र सुत्नेमात्रै यदि जीवन हो भने अरु केही पनि चाहिदैन होला सायद ।

 

दलितको मात्रै मुद्धा हो भनेर गैरदलितहरु हात बाँधेर बस्न मिल्दैन’

राजेश हमाल, महानायक

हाम्रो समाजमा जातीय विभेद जुन भइरहेको छ, यसको भुक्तभोगी म आफैँ नभएपनि मेरो वरिपरि मैले त्यो देख्ने गर्थेँ । त्यसप्रति म सधैँ संवेदनशीलचाँहि थिएँ । एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहारमा किन यति फरक छ ? एउटा कोही व्यक्ति कुन जातको छ भन्ने आधारमा किन ऊमाथि गर्ने व्यवहारमा यति धेरै फरक छ ? भन्ने कुराले मलाई धेरै सताइरहन्थ्यो । मैले चलचित्रहरु गर्दा पनि यस्ता विभिन्न चरित्रहरुलाई नजिकबाट आत्मसाथ पनि गर्ने मौका पाएको थिएँ । मान्छेहरुलाई देख्दाखेरि लाग्छ कि ऊ त कलाकार हो, उसले त जस्तो पनि अभिनय गरिहाल्छ । तर, कलाकारले कुनै पनि चरित्र निभाउँदा खेरि उसले नजिकबाट आत्मसात् गरेको हुन्छ । र त्यो चरित्रसँग जोगिएर भोगाईहरु, नयाँ अनुभुतिहरु संगाल्ने मौका पाउँछ ।

मेरो अहिलेको अनुभवले चाँहि मलाई के लाग्छ भने यो जातीय व्यवस्था हाम्रो समाजमा अत्यन्तै गहिरो प्रभाव र हाम्रो मन मष्तिस्कमा चाँहि निकै नराम्रोसँग गडेको विषयवस्तु रहेछ । हामीले यसलाई लिपिबद्ध गरेर अथवा यसलाई संविधानमा जतिसुकै व्यवस्था गरेर जतिसुकै राम्रो संविधान बनाएपनि यसलाई व्यवहारमा उतार्न चाँहि निकै ठूलो चुनौती रहेको पाएको छु । मैले राजनीतिक, प्रशासनिक, न्यायिक वा अन्य जुनसुकै क्षेत्रका सरोकारवालासँग कुरा गर्दा खेरि उहाँहरु सबैले जातीय विभेदलाई महसुस गर्नुभएको छ । यो समाजमा भएको समस्या छ, भन्ने कुरा स्वीकार्नुहुन्छ । यसलाई हटाउनुपर्छ भन्ने पनि देखियो । तर, कता–कता त्यो सबै कुरा हुँदाहुँदै पनि, त्यो इच्छाशक्ति, त्यो चाहना हुँदाहुँदै पनि व्यवहारमा उहाँहरु स्व्यम्ले चाँहि उतार्नका लागि भोगिरहेको पनि पाएँ । त्यसैले मलाई यो समाज झनै जटिल रुपमा गडेको छ । यो कानूनीरुपमा परिवर्तन गर्न खोजेपनि हाम्रो मानसिकतामा परिवर्तन नआएसम्म नहुने रहेछ भन्ने लागेको छ ।

जातीय विभेद भनेको हाम्रो सोचमा आधारित हो । हाम्रो सोचबाट उत्पन्न भएको हो । यो मानवीय स्वभाव होइन, प्रकृतिले उत्पन्न गरेको विषय होइन । यो त हाम्रो सोचले उत्पन्न गराएको हो । त्यसैले सोचलाई बदल्नुपर्छ । यो सोचले कति पीडा दिएको छ भनेर गैरदलितले महसुस गर्नसकेका छैनन् । सक्दैनन् । त्यसैले दलितलेमात्रै यो मुद्धाको निराकरण गर्न सक्दैनन् । यसलाई दलितकै मात्रै मुद्धा हो भनेर गैरदलितहरु हात बाँधेर बसेको अवस्थामा चाँहि यो समस्याको समाधान सम्भव छैन ।

म चाँहि माइलो समुदायको हुँ भन्ने लाग्थ्यो
दयाहाङ राई, नायक

जातको आधारमा गरिने विभेद एउटा समुदाय वा जातको मात्रै चासोको विषय होइन । जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो हाम्रो समाजको ठूलो समस्या हो । यो अहिलेदेखि भइरहेको प्रक्रिया पनि होइन । यो लामो छ । मैले सानै उमेरदेखि यो विषयमा सून्दै भोग्दै गर्दै नै आएँ । मैले बारम्बार भन्दै आएको पनि छु । म चाँहि माइलो समुदाय हो भन्ने लाग्थ्यो । मेरो समाजका हुकाई पनि त्यसैगरी भयो । किनभने मभन्दा माथिल्लो जात छ, जसले मैले छोएको खाँदैन । र मभन्दा तल्लो एउटा जात छ, जसले छोएको मैले खानुहुदैन भन्ने समाजमै हुर्किएको मान्छे हुँ म । मैले पनि यसरी जातीय विभेद भोगेको छु । यो म लुकाउँदिन पनि ।

यो त परम्परागत हो । यो विस्तारै परिवर्तन हुदै जान्छ भन्ने हाम्रो सोच छ । तर, विस्तारै भनेको कहिले हो ? कति लामो समय हो ? कहिले हुन्छ त विभेदको अन्त्य ? यो कुराले चाँहि मलाई सधै छुन्छ । यो विषयमा लकडाउनका समयमा झन् धेरै घटनाहरु बाहिर आए । यी घटनाहरुले समाजमा यो समस्या कसरी जकडिएर रहेको छ भन्ने कुरालाई उजागर ग¥यो । अहिले अन्तरजातीय विवाहमा एकदमै ठूलो समस्या रहेछ । मैले त्यस्ता कथाहरु नै सुन्ने र अनुभुत गर्ने मौका पाएँ । जो भोगेर मैले उहाँहरुको कथा सुनेँ । यो त बास्तवमै जटिल कुरा रहेछ । यो विषयमा घरघरमा कुराकानी हुनुपर्छ । छलफल हुनुपर्छ । जातको आधारमा जुनसुकै विभेदहरु अन्त्य हुनुपर्छ । यो चासो सबैको हुनुपर्छ । किनभने हामीले समाजलाई स्वास्थ्य र संमृद्धि समाजको परिकल्पना गरेका छौँ, त्यसकालागि यो सबैको चासोको विषय हो भन्ने लाग्छ ।

आफुलाई महान् बनाउन थरमात्रै फेरे पुग्नेरहेछ
निश्मा ढुंगाना चौधरी, सञ्चारकर्मी

म निश्मा चौधरी । म थारु समुदायको हुँ । थारु समुदायलाई कसरी हेरिँदो रहेछ भने प्रष्ट नेपाली पनि बोल्न नसक्ने । प्रष्ट अंग्रेजी पनि बोल्न नसक्ने । थारुलाई हाम्रो समाजले चाँहि यसरी बुझ्दो रहेछ । अनि मेरो आमाचाँहि ढुंगाना । मामु ब्राह्मण, पापा चौधरी । मैले त्यहीकारण ढुंगाना चौधरी लेखेँ । सामाजिक सञ्जालमा मैले यो नाम राखेपछि धेरैले के भन्नुभयो भने तिमीले चाँहि आफुलाई ब्राह्मण बनाउनका लागि ढुंगाना लेख्न थाल्यौ । तिमीलाई ब्राह्मण हुन मन रहेछ भनेर भन्न थाल्नुभयो । त्यो सुनेपछि चाँहि मैले आफैँले दुई समुदायलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भनेर आफैँले महसुस गर्न पाएँ ।

ब्राह्मण भनेको चाँहि ठूलो रहेछ, थारु भनेको चाँहि सानो रहेछ । यहाँ आफुलाई महान् बनाउन खाली एउटा थरमात्रै फेरे पनि पुग्नेरहेछ । र त्यही थरको कारणले हामी सानो हुने र हेपाईमा पर्ने रहेछौँ । विभेद कति रहेछ भन्ने कुरा यहीबाट पुष्टि हुन्छ ।

जातीय विभेद साझा मुद्धा बनाइनुपर्छ
प्रकाश सपुत, गायक
जब मैले मेरो पूरा नाम भन्छु, त्यो परिचयसँगै विभेदका फेहरिस्त आउँछन् भन्ने लाग्छ । त्यो स्पष्ट सिँढीहरु भएको समाजमा म जन्मिएँ । मजन्मिँदा नै मेरो मानसिकतामा मैले त्यहाँ छुनुहुदैन, त्यहाँ जानुहुदैन । त्यो साथी र म बबराबर होइन भन्ने समाजमा बाँचे, हुर्किएँ । मैले धेरै विभेद त भुलिसकेँ । अर्थात् कतिपय कुरामा त मलाई विभेदनै लाग्दैनथ्यो होला । जबकि मैले कति धेरै विभेदका घटनाहरु भोगेँ हुँला ? काठमाडौं आइसकेपछि पनि कोठा नपाउनुका पीडाहरु, कयौँ त्यस्ता घटनाहरु छन् ।

यो दलित हो, यो सानो हो भन्ने खाले व्यवहार त मैले कति भोगेँ, कत्ति । यो त आमदृष्टिकोण छ भनेपछि मैले कति कति बेला विभेद भोगेँ भनेर मैले कसरी सुनाउने ? कति सुनाउने ? जातको प्रश्न मलाइ सबैभन्दा धेरै आउने गरेका छन् । एउटा त किन सपुत लेखेको ? किन थर लुकाएको ? किन जात लुकाएको ? किन विश्वकर्मा नलेखेको ? भनेर एकदमै धेरै प्रश्न आउँछन् । अर्को कुरा, जब विभेदका घटना हुन्छन्, त्यस्तो बेला पनि ममाथि प्रश्नहरु आउने गर्दछन् ।

जब रुकुमको घटना हुन्छ, जब रुपा सुनारहरु विभेदमा पर्छन् । त्यस्तो बेला मलाई जातको प्रश्न आइहाल्छ । मैले जतिसुकै इन्टरटेनिङ गीत संगीत गरुँ । तर मलाई जुनसुकै अन्तरवार्ता होस् वा अरु कुरामा जहाँ पनि मैले जातको प्रश्न खेपेको छु । यो जातको प्रश्न एकदमै धेरै आउने प्रश्न हो । तर, त्यही प्रश्न अर्को कुनै गैरदलित समुदायको कलाकारले किन खेप्नुपर्दैन ? किन सोधिदैन ? किन यसलाई साझा मुद्धा बनाइदैन ? भनेर प्रतिप्रश्न गर्ने गरेको छु । अब चाँहि यो साझा मुद्धा बनाइनुपर्छ । र यसलाई साझा बनाउनुपर्छ भनेर लागेको छु ।

तपाईको प्रतिक्रिया