भक्तपुर । भक्तपुरको सिपाडोलमा १४ रोपनी क्षेत्रफलमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ मा पर्ने सो क्षेत्रमा शनिबारदेखि ‘उर्वरा रिसोर्ट’ सञ्चालनमा आएको हो । सुर्यविनायक नगरपालिका ८ सिपाडोल, डोलेश्वर मन्दिर नजिकै रिसोर्ट सञ्चालनमा आएको हो ।
सञ्चालक सुमित्रा थापा सहितले सञ्चालन गरेको रिसोर्टमा आफनै फर्ममा उत्पादित अर्गानिक तरकारी, खसी, कुखुराको अर्गानिक स्वाद लिन पाइने छ । स्वास्थ्यवद्र्धक, ताजा, गुणस्तरीय र सर्वसुलभ सुविधामा खानाका विभिन्न परिकार उपलब्ध गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा आएको छ । म मेरै पौरखमा रमाउँछु भन्नेसन्देश बोकेर रिसोर्ट करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो रिसोट १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
उक्त रिसोर्टमा कृषिफर्म र पशुपालनमा समेत गरी एक दर्जन जनशक्तिले रोजगारी पाएका छन् । रिसोर्टमा बट्टाई, खसीबोका, हाँस, टर्की, माछापालन पनि सुरु गरिएको छ । दैनिक दुई सय भन्दा बढी ग्राहकलाई सेवा दिने सामथ्र्य बोकेको रिसोर्टमा ठाउँठाउँमा ग्राहकको सुविधाका लागि टहरा र कटेज बन्दै गरेका छन् ।
पाखो बारीलाई झारपात र बुट्यान फाँडेर उर्वर पारिएकाले पनि यसको नाम नै उर्वरा राखिएको प्रबन्ध निर्देशक थापाको भनाइ छ । थापा भन्छिन्, “अरुले केही गर्देला र खाउला भनेर कुर्नुभन्दा आफ्नै सोच, सीप र उद्यमशिलतामा लाग्नुपर्छ भनेर र युवाहरुलाई आफ्नै देशमा पौरख गर्न प्रेरणा मिलोस् भनेर उही काम तर फरक तरिकाबाट गर्नका लागि हामीले नमुना कामको थालनी गरेका हौ ।”
देशको विकास अरु कसैले गरिदिन्छ भनेर आस गरेर बस्नुभन्दा जसले जहाँबाट जे सकिन्छ त्यही गर्नु उपयुक्त हुन्छ थापा भन्छिन्, ‘कृषि पेशालाई आधुनिकीकरण गर्दै आफूलाई चाहिने सामाग्रीमा आत्मनिर्भर बन्न स्थानीय उत्पादनमा जोड दिनु अबको आवश्यकता हो, यही आवश्यतालाई बोध गर्दै रिसोर्ट निर्माण गरेका हाैं।’
आफ्नै बारीमा उत्पादन गरिने हुँदा ग्राहकले सस्तो मुल्यमा ताजा ,स्वस्थ र स्वादिलो भोजन खाना पाउने सञ्चालकको दाबी छ ।
नेपाल अर्थबाट साभार ।