तेह्रथुम । विभिन्न गुट र उपगुटमा विभाजित हुँदा धेरै ठाउँमा कांग्रेसले वडा अधिवेशनमै चुनावी प्रक्रिया अपनाएको छ ।

केन्द्रीय नेताहरुले आफुअनुकुलका उम्मेदवार र नेता कार्यकर्तालाई विजयी गराउन लविङ गरिरहेका छन् । त्यहीकारण अधिकांश ठाउँमा चुनाव नै भइरहेको छ । तर, तेह्रथुममा भने सबै वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ४३ वटै वडामा शुक्रबार भएको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेको हो । सबै वडाबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् ।

हरेक वडामा एक जना सभापतिसहित एक हजार छ सय ८६ जना पदाधिकारी निर्वाचित भएका छन् । त्यस्तै, अधिवेशनले सभापतिसहित छ सय ८८ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

ती प्रतिनिधिले पालिका र प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशनपछि जिल्लाको नेतृत्व चयन गर्नेछन् । जिल्ला सभापति गोविन्द ढुंगानाले सबै वडाहरुको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको भन्दै थप एकतावद्ध भएर अधिवेशनमा होमिनका लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया