प्रकाश पाक्साँवा, 

तेह्रथुम । तेह्रथुममा रहेका ६ वटा स्थानीय तह तथा धनकुटा र पाँचथर जिल्लासँग सिमाना जोडिएको छथर गाउँपालिका हो । छथर गाउँपालिका पूर्वी नेपालको १७ थुममध्येको एक थुम छथर हो । छथरको नामकरणका सम्बन्धमा थुपै्र किंवदन्ती रहेका छन् । छथर शब्द थङथरु शब्दबाट अपभ्रंश भएको मानिन्छ, यसको अर्थ लडाइँ थामियो भन्ने हुन्छ । दस्ताबेजहरूमा विक्रम संवत् १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङहरू लिम्बुवानका महŒवपूर्ण शक्तिको रूपमा गनिन्थे ।

वि.सं. १८६७ ताका यिनै छथरे खेवाले आफ्नो छुट्टै अस्तित्व खडा गरी थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामकरण गरी कायम गराएको किंवदन्ती रहँदै आएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माण गर्ने आधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी योजनाहरू सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको मुख्य सडक सिधुवा शुक्रबारे ओख्रे सडकलाई कालोपत्रेको रूपमा तीव्र रूपमा निर्माण भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रदेश, संघ साझेदारीमा ६९ करोड गाउँपालिकादेखि सबै वडा कार्यालयसम्म जोडिने मापडण्डमा आधारित सडक स्तरोन्नति, सबै वडालाई जोडिने चक्रपथ निर्माण, हरेक वडाहरूबाट तमोर नदी जोडिने सडकहरू, ट्र्याक खोल्ने काम सन्पन्न भएका छन् । हाक्पारा–पाँचथर मोटरेबल पुल निर्माण सुरु भएको छ ।

त्यस्तै शुक्रबारे म्याङलुङ सडक स्तरोन्नति गरी सवारी साधन सुचारु भएका छन् । गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिकका लागि उज्यालो छथर अभियान कार्यक्रम ल्याएको छ । सो कार्यक्रममार्फत आर्थिककै कारण मिटरबक्स जडान गर्न नसक्ने नागरिकहरूलाई निःशुल्क मिटरबक्स तथा कालोतार प्रदान गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत सबै टोलबस्तीमा सूचीकरण तथा दुर्गम बस्ती सोलार सेट प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

पूर्वाधार निर्माणतर्फ गाउँपालिकाले छथर क्याम्पस भवन निर्माण, बसपार्क निर्माण, गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण, गाउँपालिकास्तरीय खेलमैदान निर्माण, एक वडा एक खेलमैदान, सामुदायिक भवन कृषि हाटबजार व्यवस्थापन तथा तरकारी संकलन केन्द्र केपाङ निर्माणलगायतका पूर्वाधार निर्माण भएको अध्यक्ष लिम्बूले बताए ।

त्यस्तै तेलिया खानेपानी आयोजना ५ करोड लागतमा खानेपानी आयोजना सञ्चालन गरी ८ सय घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजारमा रहेका घरहरूलाई रंग्याएर नीलो सहरका रूपमा विकास गरिएको छ । अब निर्माण हुने घरहरूले अनिवार्य रूपमा नीलो जस्ता प्रयोग गर्नुपर्ने नीति गाउँपालिकाले ल्याएको छ ।

त्यस्तै स्वास्थ्यतर्फ गाउँपालिकाको वडा नं १, ३, ४, ५ र ६ स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । छथर अस्पताल निर्माण तथा नयाँ भवन निर्माणको १८ करोडबराबरको टेन्डर आह्वान गरिएको गाउँपालिकाले जाएको छ । वडा नं. १, २, ५ र ६ मा ५ वटा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रको स्थापना गरी सेवा प्रवाह हुँदै आएको छ ।

शिक्षा क्षेत्रमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूको बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पठाउनुपर्ने नीति ल्याई शिक्षाको गुणस्तर विकास गरिएको छ । हरेक विद्यालयहरूमा विद्युतीय हाजिरी जडान गरी शिक्षकहरूलाई अनुशासित बनाई शिक्षण सिकाइलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै एक विद्यालय एक टेलिभिजन कार्यक्रम गाउँपालिकामा रहेका सबै माविमा कम्प्युटर शिक्षा, सबै बालविकास केन्द्र माटेश्वरी शिक्षा प्रवद्र्धन, माध्यमिक विद्यालयहरूमा प्रयोगशाला, पुस्तकालय, आईसीटी कार्यक्रम, महिला छात्राहरूका लागि छात्रा आराम कक्षा स्थापना सञ्चालन हरेक माविका शिक्षक अनुदान कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

गाउँपालिकामा रहेका चारवटा माविमा चारकोठे भवन निर्माण कार्य भइरहेका छन् । साथै गाउँपालिकाले एक टोल एक विकास निर्माण एक टोल एक उत्पादन, ज्येष्ठ नागरिकहरूलाई घरदैलो स्वास्थ्य उपचार कार्यक्रम, दन्त उपहार कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क स्वस्थ्य बिमा, दीर्घरोगीहरूलाई उपचारमा आर्थिक सहयोग, गरिब तथा विपन्नलाई जस्तापाता वितरण, बसाइँ सरी आउनेलाई व्यावसायिक अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । सोही कार्यक्रमअन्तर्गत ३५ घर बसाइँ सरी आएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै ज्येष्ठ एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । वार्षिक ५ हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । बिरामी उद्धार कार्यक्रम सञ्चालन गरी आर्थिक विपन्न तथा गरिब नागरिकहरूलाई निःशुल्क रूपमा सवारी सवारी साधनमार्फत अस्पताल पु¥याउनेलगायतका कामहरू गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया