काठमाडौं ।  टुबोर्ग, काल्सबर्ग र गोर्खा बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले झन्डै अर्ब रुपैयाँ कर छली गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको ५८औं वार्षिक प्रतिेवदनमा गोर्खा ब्रुअरीले नियम विपरीत बढी जर्ती कटाएर ९२ करोड ३५ लाख ५७ हजार रुपैयाँ कर छली गरेको उल्लेख गरेको हो।

अन्तशुल्क नियमावली २०५९ को नियम २३ मा बियरको मौज्दात कमीको मिनाहा तथा अन्तशुल्क निर्देशिकामा बियर प्याकिङ सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्था अनुसार बियर उत्पादकले बढीमा २ प्रतिशतसम्म जर्ती दावी गर्न पाउँछ। तर ब्रुअरीले २०७३/०७४ देखि २०७५/०७६ सम्म नर्म्सभन्दा बढी दाबी गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार ५९ लाख ७६ हजार लिटर जर्ती अमान्य गरी उक्त परिमाणलाई बियरको बिक्री कायम गरी आन्तरिक राजश्व कार्यालय चितवन र कावासोतीले २०७४/०७४ र २०७४/०७५ मा प्रतिलिटर ११५ रुपैयाँ र २०७५/०७६मा प्रतिलिटर १५० रुपैयाँका दरले अन्तशुल्क निर्धारण गरेको छ,’ महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘मदिरा उत्पादन व्यवस्था अनुसार आन्तरिक राजश्व  कार्यालय भरतपुर र कावासोतीले कायम गरेको बिक्रीलाई आधार लिँदा ३ वर्षमा २ अर्ब १४ करोड ७८ लाख ६ हजार रुपैयाँ बराबरको बियर उत्पादन भई बिक्री गरेको सरह मानिने प्रतवेदनमा भनिएको छ।

उक्त परिमाणको बियरलाई आयमा समावेश गरी ३० प्रतिशतले हुने कर ६४ करोड ४३ लाख ४२ हजार र मूल्य अभिवृद्धि कर २७  करोड ९२ लाख १५ हजार समेत ९२ करोड ३५ लाख ५७ हजार रुपैयाँ सम्बन्धमा छानबिन गरी कर निर्धारण गुर्नपर्ने प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा बियर उत्पादक कम्पनीको नाम उल्लेख नभएपनि ठूला करदाता कार्यालय चितवन र कावासोती अन्तरगतको कम्पनी गोर्खा ब्रुअरी नै यसअघि कर छली आरोपमा उच्च अदालत पोखरामा रिट परेको थियो।

तपाईको प्रतिक्रिया