तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले बालबालिकालाई गुणस्तरीय शिक्षा तथा बालमैत्री शिक्षाका लागि विद्यालयमा टेलिभिजन कार्यक्रम सुरुवात गरेको छ ।

सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तर घट्दै गएको चर्चा भइरहेको बेला गाउँपालिकाले पृथक् कार्यक्रम अघि सारेको हो । गाउँपालिकाले ‘एक विद्यालय एक टेलिभिजन कार्यक्रम’ सञ्चालन गरी विद्यालयहरुलाई टेलिभिजन दिने कार्यक्रम सुरु गरेको जनाएको छ ।

गाउँपालिकामा रहेको ३३ आधारभूत विद्यालयमध्ये पहिलो चरणमा विद्यार्थी संख्या र विद्युत जडान भएका १४ वटा विद्यालयलाई टेलिभिजन प्रदान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

यो कार्यक्रमले विद्यालयमा रहेका बालकक्षामा अध्ययनरत विद्यार्थीहरु थप आकषर्ण हुने भएको छ । सेतोपाटीमा साइनपेनले लेख्दै र सिकाउँदै आएपनि टेलिभिजन पाएपछि पठनपाठनमा सहज हुने भएको शिक्षक शम्सेर अधिकारीको भनाइ छ । बालविकास केन्द्रहरुमा बालबालिकाहरुलाई भित्तामा टाँसिएका तस्बिर तथा विभिन्न खेल सामाग्रीहरुबाट मनोरञ्जन दिइँदै आएको छ ।

स्थानीय सरकारले बालमस्तिष्कसँगै प्रविधिको उपयोग गरी शिक्षण शिकाई गर्न सके बालबालिकाको आकर्षण हुने भएकाले पनि स्मार्ट टेलिभिजन विद्यालयहरुलाई प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

गाउँपालिकामा रहेको ४२ विद्यालयमध्ये नौवटा माध्यमिक विद्यालय आईसिटी कार्यक्रमअन्तरगत व्यवस्थापन भइसकेको र बाँकी रहेका १९ वटा आधारभूत विद्यालयमा विद्युत जडान गरी आ.व.२०७८/७९ मा प्रदान गरिने भएको छ । यो कार्यक्रमले बालबालिकालाई शिक्षण सिकाइमा राहत मिल्ने विश्वास लिएको छ । गाउँपालिकाले आ.व.

२०७७/७८ मा नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया