दलित मर्दा अन्य जाति मलामी समेत नजाने अवस्थाको अन्त्य

लक्ष्मी गौतम, पाँचथर

पूर्वी नेपालमा एउटा यस्तो गाउँ पनि छ जहाँ केही दिन अघिसम्म छुवाछूत थियो । पश्चिम नेपालमा चर्कै छ छुवाछूतको कुप्रथा । तर, पूर्वी नेपालको पहाडी भेगमा निकै कम हुन्छ भनिन्थ्यो छुवाछूत । तर, हिलिहाङ अपवाद थियो ।

गाउँमा दलितको मृत्यु हुँदा अन्य जातिका मानिस मलामी समेत जाँदैनथे । अब विचार गरौं, यो ठाउँमा दलितले छोएको अरुले खान्थे होलान् ? अहँ, खाँदैनथे ।

अहिले हिलिहाङ गाउँपालिकाभित्र रहेको विगतको सुभाङ गाविसमा छुवाछूत निकै चर्काे थियो । यति चर्काे छुवाछूत रहँदै आएको सुभाङ शिक्षाको अन्धकार भएको ठाउँ भन्न चाहिँ मिल्दैन । किनभने साहित्यकार खगेन्द्र संग्रौला, वरिष्ठ अधिवक्ता युवराज संग्रौला जस्ता व्यक्तित्व यही गाउँका हुन् । पढेलेखेका र नाम चलेका धेरै व्यक्तिको गाउँ हो यो । तर, के गर्ने, यहाँ छुवाछूत चर्काे थियो ।

सुभाङको छुवाछूत जिल्लाभरी चर्चित थियो । भोजमा दलितका लागि बेग्लै पकाइन्थ्यो, खाने ठाउँ बेग्लै थियो । छुवाछूत र अपमान चर्काे थियो । पश्चिम नेपालतिर जस्तो पूर्वी नेपालमा छुवाछूत हुँदैन भनिए पनि सुभाङ तथा हिलिहाङभित्रका केही क्षेत्र अपवाद थिए ।

हिलिहाङमा मात्र नभएर जिल्लाभरी छुवाछूत केही न केही मात्रामा व्याप्त रहेको सामाजिक अभियन्ताहरु बताउँछन् ।

तर, फेरियो सुभाङ

सुभाङ ७ मसर गाँउकी सुजा रसाइली (२७ वर्ष) को स्फुर्ती बुधवार (२७ मंसिर) दिँउसो निकै देखिन्थ्यो । त्यहाँ स्थित फक्ताङलुङ मिङसु माङहिम परिसरमा तरकारी रोटी र दाल पकाउने, पस्किने देखि माङहिम परिसरमा आउने अतिथिलाई भाग लगाएर अगाडी लाने थप्ने आदी काममा उनी उत्तिकै खटिरहेकी देखिन्थिन् ।

त्यहाँ भेला भएका धनमाया र शान्ता उभरकोटीको ब्यस्तता पनि सुजाको भन्दा कम थिएन । मसरगाँउ हिलिहाङ गाँउपालिकाको यस्तो क्षेत्र हो त्यहाँ धेरै सार्की र कामी त्यो भन्दा थोरै लिम्बू र नगण्य संख्यामा क्षेत्रीबाहुनको बसोवास छ ।

मिश्रित बसोवास रहेपनि यसअघि त्यहाँ दलितका घरमा पुगेका जनजाती र क्षेत्री बाहुनले पानी खानु त परै जावोस मरण हुँदा मलामी सम्म जाँदैनथे ।

पुस्तौंदेखि दलितको पगरी गुथाएर बहिष्करणमा पारिएका त्यो वस्तीका दलित, जनजाती र ब्राह्मण बीचको विभेद अन्त्य गर्न पहिलो नेपाल जन उद्धार संघ नामक सामाजिक सस्थाको सहजीकरणमा किराँत फक्ताङलुङ मिङसु माङहिमले सहभोग आयोजना गरेको हो । सहभोजमा आफूहरुले पकाएर दिएको खानेकुरा सबैले स्नेहपूर्वक खाइदिँदा सबैभन्दा खुशी दलितहरुमा छाएको थियो ।

सहभोज कार्यक्रममा उपस्थित दलित समुदायका महिलाले प्रमुख अतिथि पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले सहित त्यहाँ उपस्थित ब्राह्मण र दलित समुदाय ब्यक्तित्वहरुलाई दाल, तरकारी र रोटी सहितका ब्यञ्जन दिएर सहभोजको उद्घाटन गरियो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि काफ्लेले मुलुकी ऐनले २०२० सालमै छुवाछूत अन्त्य गरेपनि हालसम्म ग्रामिण परिवेशमा व्यवहारतः अन्त्य नभएकोमा दुःख व्यक्त गरे। सहभोगमा दलित जनजाती र ब्राह्मण समुदायका दुई सयजना भन्दा धेरैले सहभोग खाए ।

सहभोजमा दलित, जनजाती र बाहुन समुदायका महिलाहरुले खानेकुरा पकाउनदेखि बाड्ने सबै काम गरे भने उपस्थित सबै जात जातीले सँगै बसेर भोजन गरे ।

यो सहभोजले अब छुवाछूत अन्त्यसँगै सामाजिक सद्भावको थालनी गरेको जनउद्धार संघका अध्यक्ष बालकृष्ण ओझा बताउँछन्।

तैपनि…

सहभोजमा तन्नेरी र प्रौढहरुको उल्लेख्य उपस्थिति रहे पनि वृद्धवद्धाहरु भने थोरै मात्रै देखिए । यद्यपी सहभोज खाइसकेपछि उपस्थित सबैले अब हाम्रो गाउँबाट छुवाछुत अन्त्य भयो भनेर खुसी मनाएका थिए । जातीय आधारमा हामी कसैलाई ठूलो सानो भनेर विभेद गर्ने छैनौं भन्ने उद्घाष स्थानीय नगेन्द्र प्रसाद ओझाले मञ्चबाटै गर्दा सबैले तालि बजाएका थिए ।

अब दलित मर्दा बाहुन र जनजाती मलामी हुनेछन् भने बाहुनका घरमा गरिने बिहे कार्जेमा दलितलाई छुट्टै चुलो नबनाइने ओझाले बताए ।

“पढेलेखेकाहरु गाउँमा नबस्ने भएकाले नै यहाँ छुवाछूत थियो । यो सहभोजले भने अन्तरह«दबाटै छुवाछूत अन्त्य गर्ला कि भन्ने आशाको त्यान्द्रो पलायो । ” स्थानीय कर्ण उभरकोटीको टिप्पणी थियो ।

सहभोजमा निम्तो गर्दा सबैले यसरी आएर कदर गर्लान् भन्ने खासै विश्वाश नलागेको तर सबैले छुवाछूत विरुद्धको सहभोजमा सहभागिता जनाइदिँदा खुसी लागेको स्थानीय मेनुका उभरकोटीको प्रतिकृया थियो ।

गाउँमा सहभोज भयो, छुवाछूत अन्त्यको घोषणा गरियो । यो सकारात्मक पक्ष हो । अझै पनि छुवाछूत छ यो असाध्यै नकारात्मक पक्ष हो ।

तर, सुखद कुरा के भने मेटिँदै गएको छुवाछूतलाई झन चाँडो हटाउन समुदाय नै यसरी हातेमालो गर्दै उठिरहेको छ । यही हो सामाजिक क्रान्ति भनेको । हिलिहाङमा लागेको यो सकारात्मक घाम सर्वत्र फैलिनुपर्छ, फैलाउनुपर्छ ।

हाम्रो कथाबाट साभार ।

तपाईको प्रतिक्रिया