काठमाडौं, पुष २ –नेपाल प्रहरीले काठमाडौंमा नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने काममा सक्रिय सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड डिजिटल फोटो स्टुडियो धापासी, राप्ती फोटो स्टुडियो धापासी, रचना फोटो स्टुडियो धापासी, स्याङजा तनहुँ कमिन्युकेशन धापासी, श्रेष्ठ कमिन्युकेशन धापासी, कलङ्की एयरपोर्ट स्टुडियो सिनामंगलका संञ्चालक र कान्तिपुर म्यानपावर सामाखुशीका कर्मचारी रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार पक्राउ परेकाहरु नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्रलगायतका सरकारी कागजात किर्ते रुपमा बनाउने कार्यमा सक्रिय रहेका थिए ।
अवैध रूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा मंसिर २८ र २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भैरहेको सिआईबीले जनाएको छ ।