सोलुखुम्बु, पुस २–सोलुखुम्बुको देउसामा विद्युत गृह पहिरोले बगाएपछि सुम्बुखोला लघु जलविद्युत प्रणालीको विद्युत प्रसारण बन्द भएको छ । दुधकोसीका गाउँपालिका ७ मा रहेको विद्युत गृह शनिबार राति पहिरोले बगाएपछि प्रसारण बन्द भएको प्रणालीका व्यवस्थापक चुडामणि केसीले जानकारी दिनुभयो ।

विद्युत प्रसारण बन्द हुँदा विद्युत प्रयोगकर्ता देउसाका झण्डै २ सय ९७ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत उत्पादनका लागि ल्याइएको पानीको पाइप फुटेपछि पहिरो गएको व्यवस्थापक केसीले बताउनुभयो । विद्युत गृहमै एक जना अपरेटर बस्ने गरेको भए पनि शनिबार राति उनी घर गएको हुँदा मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् ।

विद्युत गृह नै पहिरोले बगाउँदा मेसिनमा क्षति पुगेकाले प्रसारण बन्द भएको प्रणालीका व्यवस्थापक चुडामणि केसीले बताउनुभयो । पहिरो व्यवस्थापन र विद्युत गृह निर्माण पश्चात चाँडै विद्युत सुरु गर्ने गरी काम अगाडि बढाइएको विद्युतका अध्यक्ष रामसंघर्ष किराँतीले बताउनुभयो । । १५ किलोवाट क्षमताको उक्त विद्युत २०६७ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो ।

तपाईको प्रतिक्रिया