पढदै गरेको अखवार टेवलमा ठप्प राखेर, अलि अलि मुस्कुराउँदै, कुर्सी बसिराखेको छ ठुले । केसरी, हातमा चिया लिएर ठुले भएको ठाउँतिर अगाडी बढछे ।

केसरी-   के भयो ठुले, पागल जस्तै एक्लै हाँस्दै बसिराखेको छौ नि ? अफिस जाने टाईम भएन भन्या ?

ठुले- केसरी, आज कस्तो अनौठो सपना देखे ! हेर न । मकालु हिमालले मलाई बादलको घुम्टोबाट  लुग्दै,  चियाउंदै  कुकु हा… कुकु हा …. गरेर जिस्काईरहेको थियो भन्या। हो केसरी, म त आज राती मकालु हिमाल संग, साँच्चै संवाद गर्दै थिए। लुकामारी खेलिरहेको थिए ।

आ .. हा .. बिपना भए पनि हुन्थ्यो नि…  चु.. चु ….

केसरी- होईन ए ठुले , एउटा नागरिकले आफनो देशमा भएको हिमाल लाई सपनामा देख्नु त्यती अनौठो कुरा हो र ?

 केसरी ले ल्याईदिएको चियाको एक चुस्की लिन्दै, ठुले आफनो नाड़ीमा बाँधिएको घडीमा मीती हेर्दै ..

ठुले – हुन पनि आज ठ्याक्कै २६ वर्ष पुगेछ, विदेशतिर हानिएको । हेर, केसरी; मलार्इ अनि अलि याद छ ती दिनहरु ।

त्यति खेर मैले भर्खर दा्री खौरिन थालेको थिए। गालाहरु राता राता छाम्दै रगत झर्ला झै थिए।  पहाड को छोरा, छाती पनि पहाड जस्तै अंजंगको थियो। गाउँको आटो खाएर हुर्रकीएर  होला, जे गर्दा पनि पहाड फालौंला झै आँट आउँथ्यो । बालुवा पेलेर भएपनि तेल निकाल्छु झै हुन्थ्यो । गोरु दोएर भएपनि ढुंग्रो भर्छु झै लाग्थ्यो ।

केसरी-   ओ.. हो ! ति पुराना दिनहरुको सम्झना तिम्रो मनमष्तिकमा जिउँदै रहेछन। राम्रो। !good .. । तर हेर ठुले, समय ले त्यो तिम्रो सबै कुराहरु खुईल्याईदिई सकेको छ। एकचोटी ऐनामा हेर त , त्यो तिम्रा ती रातो गालाहरुमा अनन्त चाउरि पर्न थालिसकेका छन ।  घाँटि पनि घोटता घोटतै बिलाउन लागेको चन्दनको ठेका जस्तै भईसकेको छ । अब त्यस्ता उहिलेका कुराहरु गरेर के अर्थ छ भन्या.. ?

ठुले-  केसरी को कुरा वास्ता नगरी …..

फेरी एकचोटि, हिउं वोकेको चिसो हावा स्पर्स गर्न। वसन्त रितुको आगम संगै तिनजुरे पडाहमा फुलेका लाली गुराँसको सुन्दरता चुम्न। मेन्छ्यायम डांडा बाट घाम झुल्केको हेर्न। हिमालहरु संग मुस्कान साट्न।   सोमवारे र राँके मेला भर्न । गाउँ घर र छरछिमेक संग जन्ती जान। मलामी जान। जीवन भर अविरल माया दिने आमाको मुहार हेर्न । अब त साँचै स्वदेश फर्कनु पर्छ केसरी ।

ठुले निरन्तर भट्याउँदै जान्छ .., किन हो कोनि आज भोली मलाई यो विदेशी

स्याउको रस अमिलो लाग्छ।  वरु स्वदेसी च्याउको तलतल  बढन थाल्यो।

 प्रदेशका शिशाको महलहरु  भन्दा खरको छानो मुनि शितल ताप्न हुटहुटी जाग्न थाल्यो ।पराईदेशका कफी फलफुलहरु भन्दा, ती  भुटेको मक्कै र अमिलो महीको तिर्सना बेजोड़ ले आउन थाल्यो। त्यसैले, अब जौ हामी केसरी नेपाल ..  ३ करोड नेपालीहरु त्यहि नेपाली माटोमा रगत पसिना पोखेर जीवन यापन गरिरेछन  भने हामी कसो नसकौला हो ?

केसरी- कडकिन्दै ..

आ .. हा .. कति मिठो छ तिम्रो आदर्शका  कुराहरु । तर हेर ठुले, भोको पेटमा आदर्श बाँच्दैन । नेपालमा गएर के गर्ने ? आन्दोलन ! के खाने, धुलो ?

केसरी निरन्तर  …

हेर ठुले… म पनि त्यहि देशको नारी । त्यहि भुगोलको सन्तान हुँ। मलाई पनि अर्काको देशमा नोकर बनेर अपमानहरु सहेर बस्न रति भर पनि इच्छा छैन। तर हेर, जति जति हाम्रो देश को स्थिती सोच्छु,  उती उति बैराग लागेर आउँछ ।

ठुले- हैन केसरी, जे जस्तो भएपनि नेपाल हाम्रो मातृभूमि नै हो।’जननी जन्म-भूमी स्वर्गादपि गरीयसी’  “फर्कौ हामी अरु केही गर्न सकिएन भनेपनि त्यहि बसन्तपुर  बजारमा एउटा सानो चिया पसल थापेर बसौला।

केसरी-      नेपालको अस्तब्यस्त राजनीति, बेरोज़गारले देश र समाज अक्रान्त छ । कोरना आतंक त्यस्तै छ। तिमी अहिले संसारको सुन्दर देश सिंगापुरमा यति राम्रो जागिर पाएको छौ । थोरै भएपनि ईज्जत, पैसा र प्रतिष्ठा सबै थोक तिम्रो पोल्टा मा छ। अव यस्तो जागिर छोडेर एउटा चीया पसल खोल्ने सपना देख्छौ ?   ‘बोका मुखमा कुविन्डो ‘ भने को यहि हो ..

ठुले-  केसरी को कुरा वास्ता नगरि…. भावुक हुँदै .. आज त्यो गाउँ बस्तिहरु कति हामी नभएको महसूस गर्दै होलान। कोईली र न्याउल पनि मिठो स्वरमा घरफर्कि आउ भन्दै होलान। जुनकिरीहरु धिप धिप वती बाल्दै अंध्यारोमा खोज्दै हालान।

केसरी-   तिम्रो बोक्रे राष्ट भावना ले लत्पत्तिएको कुरा मलाई नसुनाउ .. आदर्श ठुलो की गाँस, बास र कपास ठुलो हो ? झर्किन्छे केसरी।

ठुले- के गर्ने केसरी: अर्काको देशमा जति पसिना बगाएपनि मालिक नहुईन्दो रहेछ ।

ठुले, केसरीको काँध सुमसुम्याँदै …बरु जाउँ .. ठुलो परिवर्तनको सुनामीनै ल्याउन नसकेपनि , त्यो हाम्रो सानो गाउँ बनाउने सपनालाई साकार पारौ.. बिदेशमा सिकेका ज्ञानका थोपाहरु लगेर आफनै गाउँ मलिलो बनाउँ । अब कुम्लो कसौ…केसरी. साँच्चै फर्कौं… ।

तपाईको प्रतिक्रिया