काठमाडौं, पुस २ –वाम गठबन्धनको सरकार आएपछि आर्थिक क्षेत्र डामाडोल हुन्छ भन्ने हल्ला निराधार भएकोे एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
पछिल्लो समय शेयर बजारमा आएको गिरावटसँगै वाम गठबन्धनको सरकार बनेपछि आर्थिक नीति परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको ओलीले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो हल्ला फैलाउनेहरुलाई तीन महिना कुर्न सल्लाह पनि दिनुभयो । वाम गठबन्धनको सरकार आएपछि तीन महिनामै परिवर्तनको संकेत देखिने ओलीले बताउनुभयो ।
निजी क्षेत्रले पाएको सेवा सुविधामा कुनै कटौती नहुने एमाले अध्यक्ष ओलीले निजी क्षेत्रलाई आश्वासन दिनुभयो । अहिले भएका आर्थिक नीतिमा कुनै परिवर्तन नहुने भन्दै ओलीले सम्मेलनमा निजी क्षेत्रसँग सहकार्य गरेर देशमा स्थायित्व ल्याइने बताउनुभएको छ ।
ओलीले वैदेशिक लगानीलाई निरुत्साहित पार्ने काम वाम गठबन्धनले नगर्नेसमेत स्पष्ट पार्नुभयो । वैदेशिक लगानीमा वाम गठबन्धनको सरकारले रोक लगाउँछ भन्ने हल्ला फिँजाउनेहरु देशको भलो नचिताउने समूह भएको ओलीको स्पष्टोक्ती थियो ।