‘म त सरप्राइज्ड भएँ नि ।’ आशाकुमारी विकले फिस्स हाँस्दै भनिन्, ‘मन्त्री हुँदा पनि सरप्राइज्ड, सर्वोच्चको फैसलाले झनै सरप्राइज्ड !’

पहिलोपटक मन्त्रीको कुर्सिमा बसेकी विकको कार्यकाल १३ दिन मात्र रह्यो । यो १३ दिनमा सद्भावसहितको बधाई असीमित थापिन् उनले । बधाईसँगै खुसी पनि साटिन् ।

‘बधाई आउँदै थियो, योजना बन्दै थियो । अचानक मन्त्रालय छाड्नुपर्‍यो,’ उनी मलिन सुनिइन् ।

२७ जेठ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल थप विस्तार गरे । त्यही क्रममा उनी पहिलोपटक वन राज्यमन्त्री भएकी थिइन् । सपथग्रहण गर्दा उनीसँगै उज्यालिएको थियो, एउटा सिमान्त समुदायको अनुहार ।

‘आशा जी, तपाईं हाम्रो समुदायको आशा हो । साना–साना सपनाहरू छन् । पूरा गरिदिनुहोस् है,’ विश्वकर्मा समुदायका धेरैले आग्रह गरेका थिए, उनलाई ।

राज्यमन्त्रीको कक्षमा बसेको भोलिपल्ट एउटा फोन आयो । फोनमा एक वृद्ध मानिसको सुस्केरायुक्त लबज सुनियो, ‘तपाईं हाम्रो समुदायबाट मन्त्री हुनुभएछ । म डोटीबाट फलानो विश्वकर्मा बोल्दैछु । मलाई एउटा आरनको आवश्यकता छ ।’

आशाको मुटु चस्स भयो । गला अवरुद्ध भयो । उनी त्यो पीडायुक्त आवाज सुन्दै थिइन्, ‘अनि हामीलाई संघ, प्रदेश कतैबाट सम्बोधन भएन । कति धाइसक्यौं । यति गरिदिनुभयो भने धन्य हुनेछ ।’

आशा भित्रभित्रै भक्कानिइन् । यी कुरा सुनाइरहँदा उनको आँखा पुनः भरियो ।

‘हाम्रो समुदाय कति पिछडिएको छ । कति जेलिएको छ । यो सम्झँदा मन गाँठो परेर आउँछ,’ रुमालले आँसु पुछ्दै गरेकी आशा अझै पोखिन्छिन् ।

रुपन्देही, बझाङ लगायतका जिल्लाबाट यिनै साना अपेक्षासहितका फोन आए आशालाई । उनलाई लाग्थ्यो, अब ठूला आशा लिएर फोन गर्छन् मान्छेहरूले । तर, हैन साना समस्याहरू नै जीवनमा विकराल रहेछन् । ‘मेरो समुदायले अहिलेसम्म यही नियति न भोगिरहेको छ,’ आशा सुनाउँछिन् ।

त्यही नियतीको सिकार आशा पनि नबनेकी कहाँ हुन् र ! सक्रिय राजनीतिमा लाग्दा समाजका कथित बुद्धिजिवीबाट सधैं असहयोग पाइन् उनले ।

‘सांसदै हुँदा पनि मलाई केहीले सद्भाव देखाएनन् ! सधैं तल्लो जातको ट्याग भिराए उनीहरूले,’ आशा सुनाउँछिन् ।

कथित बुद्धिजिवीहरू उनको पछाडि भन्थे– ‘जातकै कारण पाएको अवसर न हो !’

यो सुनिहाल्दा मन कटक्क खान्थ्यो उनको । झन्, नमस्कार गर्नुपर्छ भनेर बाटो पनि अलग्गै हिँड्ने जिल्लाका वरिष्ठ नेता सम्झँदा विरक्त लाग्थ्यो उनलाई । त्यतिमात्र हैन, सामाजिक अभियानमा साथ दिने गैर–दलितलाई समुदायका केहीले खिसिट्युरी गर्थे । ‘डुमिनीको पछि लागेर जात घटाउने’ भन्दै प्रहार गर्थे ।

‘म दलित थिइनँ भने झन् धेरै माथि पुगिसक्थेँ,’ आशा निराशा भरिएको मुद्रामा भन्छिन् ।

०००

अहिले ‘रुपा सुनार प्रकरण’ ले जातीय विभेदलाई सतहमा ल्याएको छ । सञ्चारकर्मी रुपालाई दलित भएकै कारण कोठा नदिने घरबेटीलाई हिरासतमा पुर्‍याइन् । वर्षौंदेखि सहेर बसेको विभेद विद्रोहको रुपमा पोखिएको थियो ।

आशासँग पनि त्यो भर्‍याङ उक्लँदै गर्दाका थुप्रै अनुभव छन् । वर्षौं भयो, आशाले पनि त यही विभेदविरुद्ध आवाज उठाउँदै आएको । तर, खै ! आफैं विभेदको सिकार पटक-पटक हुनुपर्दा आजित छिन् उनी ।

०७४ सालको चुनाव सम्झँदा उनको मन अमिलो हुन्छ । ‘दिनभरि भाषण गर्थें । पार्टीका गैर-दलित साथीहरूलाई साँझ जहाँ सुत्न पनि अफ्ठेरो हुन्थेन । म भने बाध्य भएर आफ्नै समुदाय खोजेर बास बस्न जानुपर्थ्याे,’ उनी तीतो अनुभव सुनाउँछिन् ।

सांसद भएर काठमाडौं आएपछि पनि उनले विभेद भोगिन् । एकपटक उनका श्रीमान् ४ महिनासम्म कोठा खोज्दै हिँडे । कोठा मिल्थ्यो, तर जात भनेपछि गायब ! ‘जात थाहा पाएपछि सल्लाह गर्छु भन्ने, पछि अनेक बहाना गरेर टार्ने,’ उनी सुनाउँछिन् ।

कोठामात्र होइन, आफ्नै क्षेत्रमा सांसद भएर मन्दिरको लागि बजेट छुट्याएकी आशाले मन्दिर बनेपछि भने प्रवेश गर्न पाइनन् ।

‘मैले कुनै दलित बस्तीमा खानेपानी दिएको भए आशीर्वाद पाउँथे हुँला । म कहिल्यै मन्दिरको लागि पुज्न नपाउने भनेर आफ्नै भागबाट बजेट छुट्याएँ । तर, उद्घाटन गर्न गैरदलित नेताहरूलाई बोलाइयो । मलाई मात्र होइन, अरु दलित नेतालाई पनि त्यहाँ बोइएन,’ उनी गुनासो पोख्छिन् ।

यतिन्जेलसम्म विभेदका थुप्रै शृंखला पार गरेकी छन् उनले । त्यो शृंखला स्कुलको प्रांगणबाट नै सुरु भएको थियो । स्कुल जान थालेदेखि नै उनी आफ्नै साथीमाझ विभाजित भइन् ।

अरु बेलामा सँगै हुने आफू सरहको दौंतरी खाजा खाने समयमा अलग्गिन्थे । त्यतिबेला मनै कुडिन्थ्यो उनको । ‘गैरदलित साथीहरू मेरो घरमा आउँथे । तर म उनीहरूको भान्छामा जान बन्देज थियो,’ आशा सम्झिन्छिन् ।

यिनै कुराले आशालाई निराश बनाउँथ्यो । अनि लाग्थ्यो– ‘पढेर पो के गर्नु ! हामीमाथि हेर्ने नजरिया कहिल्यै नबद्लिएपछि, अवसर पाइए पो !’

स्कुले दिनहरूमा कैयौंपटक सहिदिइन् उनले आफूप्रतिको विभेद । वर्षको एकदिन सरस्वती पूजा हुन्थ्यो, स्कुलमा । सरस्वती पूजा हुँदा सरस्वतीको प्रसाद खाने बेला शिक्षकहरूले नै छुट्याइदिन्थे उनीहरूलाई । त्यो पीडामा जसोतसो मह्लम लगाएकै थिइन् ।

तर, कक्षा १० मा पढ्दातामा उनीभित्र पीडाको सागर उर्लेर आयो ।

रुपन्देहीमा जन्मे-हुर्के पनि माध्यमिक शिक्षाको लागि आशा गुल्मीको जनकल्याण माध्यमिक स्कुलमा गइन् । टेस्ट पास भएपछि स्कुलले विदाइ गर्थ्याे । विदाइ गर्ने कार्यक्रममा एउटा घटना घट्यो ।

‘खाजा खाने बेलामा अरु साथीलाई छुट्टै राखियो । अनि मलाई गणित पढाउने सरले आएर भन्नुभयो- तपाईं र ऊ त्यो नेपाली बहिनी सँगै बस्नुस् है । मैले सहन सकिनँ । अनि खाजा नखाइ उठेर हिनिदिएँ,’ उनी सुनाउँछिन् ।

शिक्षकहरूले ‘समाज यस्तै छ’ भनेर सम्झाउने प्रयास त गरे । तर, उनले कुनै आग्रह सुनिनन् । त्यहाँबाट उठेर हिँडेकी आशाले त्यसपछि कोचिङ पढ्न त्यो स्कुलमा पाइला टेकिनन् ।

गाउँमा मन्दिर पस्न पनि उनीहरूले विद्रोह नै गर्नुपर्ने अवस्था थियो । नजिकैको मन्दिरमा पण्डित चिन्तामणि कँडेलले सधैं दशैंंको बेला पूजा गर्थे । उनी रहुन्जेल मन्दिर सबैको साझा थियो । तर, एकदिन उनको ठाउँमा अर्का पूजारी आए । आशाकै एक जना दिदी त्यसदिन मन्दिरमा पूजा गर्न गइन् । तर ती पूजारीले मन्दिर प्रवेशमा अवरोध गरे ।

तर, उनको दिदीले सहन सकिनन् । तत्काल विद्रोह गरिन् । ‘पछि ती पूजारीलाई कारबाही गराइ छाडियो, उनले माफी मागे,’ आशा सम्झिन्छिन् ।

०००

आशा हामीलाई विगत सुनाइरहेकी छन् । सुनाउँदा उनका आँखाहरू पटक–पटक भरिन्छन् । पटक–पटक निधारमा आक्रोशका रेखाहरू देखापर्छन् । पटक-पटक गला अवरुद्ध हुन्छन् ।

आशाले मोबाइलमा भएको एउटा ‘स्क्रिनसट’ हामीतर्फ देखाउँदै भनिन्, ‘हेर्नुुस् त । अहिले एउटा कुरा ट्रोल बनिरहेको छ । दलितले कोठा पाएन, बाहुनले कोटा ! के सदियौंदेखि पिछडिएको दलितको पीडालाई कसैले अनुमान गर्न सकेको छ ? बरु उल्टै विभेदलाई प्रश्रय दिने प्रयास भइरहेको छ ।’

एकैछिनको सन्नाटापछि उनी पुनः आफ्ना विगततर्फ फर्किन्छिन् ।

विवाह गरेर बझाङ गइसकेपछि आशा चैनपुर सदरमुकाममा बसिन् । रुपन्देहीमा त पानी आफ्नै धारामा आइपुग्थ्यो । तर चैनपुरमा पानी भर्न अर्काे धारामा जानुपर्थ्याे । एकदिन पानी लिन गएकी थिइन् । पानी भर्ने क्रममा पालो उनकै थियो । एक जना महिलाले रिसाएर जर्किन हुत्याइदिइन् । आशाले सहन सकिनन् । जबर्जस्ती थापिछाडिन् ।

उनी केही समय निर्वाचन कार्यालयमा डेरा लिएर पनि बसिन् । घरको एकतर्फ ब्राह्मण परिवार बस्थ्यो । त्यहाँ पनि पानी भर्ने बेला ‘छुवाछुत’ कै कारण झगडा भयो आशाको । जिल्ला प्रशासनमा उजुरी गर्ने सोच पनि आएको थियो । तर समाजमा झनै आफ्ठ्यारो हुन्छ भनेर मौन बसिन् ।

विभेदविरुद्ध बोल्न पनि मानिसहरू डराउँथे । कारण, आफ्नो पक्षमा कसले बोलिदिने ? ‘त्यहाँ प्रायः अरु जातले दबाएर राखेको हुन्थ्यो दलितलाई । चरम गरिबी थियो । गरिबी भएपछि गाउँमा जो धनीमानी छ, उनीहरूलाई मानिदिनुपर्ने हुन्थ्यो । भोलि म यसविरुद्ध बोल्यो भने गाउँबाटै निकाल्दिन्छन् कि भन्ने डर थियो । त्यहाँ डरैडरमा बाँच्नुपरेको थियो,’ उनी सुनाउँछिन् ।

०००

बझाङमा गएपछि आशा राजनीतिक र सामाजिक कार्यमा उत्तिकै सक्रिय भइन् । उनले त्यहाँ गएर आफ्नै अध्यक्षतामा दलित महिला संघ स्थापना गरिन् । त्यसपछि विस्तारै दलित महिलाको समूह बनाउने, सचेतना जगाउने कोही अन्यायमा पर्दा सदरमुकाममा पुगेर नाराजुलुस गर्ने जस्ता अभियान थालिन् ।

‘चैनपुरमा एक जना पूर्व रोल्पाबाट जानुभएको पूर्वेल्नी दिदी हुनुहुन्थ्यो । उहाँलाई पनि मासु किन्न गएको बेला मासु छुइयो भनेर दुर्व्यवहार गरिएछ । उहाँहरू मेरोमा आउनुभयो । मैले जिल्ला प्रशासनमा निवेदन दिएँ । त्यसपछि हामीले आन्दोलन गर्‍यौं, विभेद गर्नेलाई कारबाही गराइछाड्यौं,’ उनी सम्झिन्छिन् ।

दलित चेलिबेटी त्यहाँ सुरक्षित थिएनन् । एकपटक दलित समुदायकी किशोरीको गर्भमा बोहरा थरका पुरुषको बच्चा हुर्किएछ । तर, उनले स्विकार्न मानेनछन् ।

आफ्नो दुधे बालक काँखमा लिएर आशा त्यो मुद्दाको लागि हिँडिन् । उनले स्विकार्नुपर्छ भन्दै वकालत गरिन् ।

‘तर रातारात पैसा दिएर आफ्नै जातको केटासँग बिहे गरिदिने भनेर सहमति गराएछन् । केटीको परिवारमा सहमति भइसकेपछि मैले केही गर्न सकिनँ,’ उनी खिन्न मान्छिन् ।

नागरिकताको विषयमा पनि त्यहाँ विकराल समस्या थियो । धेरै गैरदलितले गर्वधारण गर्ने । तर बच्चा जन्मेपछि महिलालाई नस्वीकार्ने । जन्मेको बच्चाले नागरिकता नपाउने । यही विषयमा उनी अहिले पनि अनवरत लडिरहेकी छन् ।

त्यस्तो समुदायका बच्चाले आमाको नाामबाट नागरिकता पाउँछन् भनेर खुसी थिइन् उनी । तर सर्वोच्चले मान्यता नदिएपछि दुःखी भएकी छन् ।

‘बच्चाहरू पढेका छन्, तर जागिर खान पनि पाउँदैनन् । नागरिकता नभएर विदेश जान पनि पाउँदैन । त्यो पीडा भएका धेरैले फोन गर्छन् अहिले पनि मलाई,’ उनी सुनाउँछिन् ।

०००

आशाले आरनको लागि फोन गर्ने वृद्धको मलिन अनुहार उज्यालो बनाउन बाँकी छ । नागरिकता नपाएर बेरोजगार बनेका युवाका पीडामा मह्लम बनाउन बाँकी छ ।

कोठा नपाएर विद्रोहमा उत्रिएका रुपा सुनारहरूलाई न्याय दिलाउन बाँकी छ ।

बाँकी भएका सारा कुराहरूमा उनको संघर्ष जारी छ । त्यही जारी संघर्षलाई मूर्तरुपम दिने प्रण छ आशाको ।

आफनै जीवनकालमा यी सबै प्रकारका विभेदको अन्त्य भएको देख्न चाहने सपना छ आशाको । ‘र बाँकी दिनहरूमा पनि यही सपनाको लागि लड्ने छु,’ संवादको विट मार्ने क्रममा केही आशावादी सुनिन्छिन् उनी ।

२०७८ साल असार २५ गतेको nepalpress.com बाट साभार ।

तपाईको प्रतिक्रिया