पर्वत । उत्तरी पर्वतको जललजा गाउँपालिका– १ बाँसखर्कमा यो वर्ष झण्डै ती करोड रुपैयाको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा फल दिने सुन्तलाका बोट समेत बृद्धि भएकाले झण्डै एक करोड बढिको उत्पादन बढेको कृषकहरुले बताएका छन् । उक्त वडाका २ सय ६१ घरधुरी मध्ये दुई सय बढीले व्यावसायिक रूपमै सुन्तला खेती गर्दै आएका छन् ।
गाउँको मुख्य बालीको रुपमा सुन्तला रहेको छ । अन्नवाली छाडेर यहाँका कृषक विगत एक दशकदेखि सुन्तलामा निर्भर हुन थालेका हुन् । बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेंलपुर देखिने गरेको छ ।
यहाँको सुन्तला बजार पठाउन अझै योग्य भैसकेका छैनन पुस अन्तिम सातादेखि माघ अन्तिम सम्म मात्रै विक्रि हने गरेको स्थानिय कृषक जगतबहादुर खत्रीले जानकारी दिए । पहिला बाँसका घारी मात्रै हुने भएकोले यो ठाउँको नाम बाँसखर्क नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जंगल नै भएको उनले भने अब सुन्तला खर्कको रुपमा विकास गर्नुपर्ने लक्ष्य छ ।
सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा घरघडेरी जोडेका परिवारपनि यो गाउँमा रहेका छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ समेत स्थापना गरिएको छ ।
गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गर्ने गरिएको छ । ०६९ सालमा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौंदेखि चितवन, पोखरासम्मका बजार पु¥याउने गरेको छ । उत्तरी मोहडामा फैलिएर ९ सय देखि १३ सय मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् । ढिलासम्म बोटमै रहन सक्ने मौसम भएको र अन्तका सकिने समयमा टिप्ने भएकाले सिजनको भन्दा दोब्बर मूल्यमा बिक्री गर्दै आएको उनिहरुको भनाई रहेको छ ।
५–६ वर्ष पहिलो बजारको समस्या हुने भएपनि अहिलेभने असोज–कात्तिकमै व्यवसायी आएर सुन्तलाका बोट ठेक्कामा लिने गरेको सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले बताए । यसरी बिक्री गर्दा प्रतिकिलो बोटबाटै १ सय २० रुपैयाँसम्म पने गरेको छ ।
पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादनलगायतमा सहुलियत र सहज भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।