पाँचथर : पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीको मूल्य वृद्धि भएको छ। व्यापारीले किसानबाट ग्रेडिङ गरेको अलैँची प्रतिमन ३२ हजार रुपैयाँसम्ममा खरिद गर्न थालेका छन्। चालु माल भनिने ग्रेडिङ नगरिएको अलैँची प्रतिमनमा २९ हजार रुपैयाँमा बिक्री हुन थालेको छ। अलैँचीको मूल्यमा शनिबारदेखि वृद्धि भएको हो।
नेपाल अलैँची व्यवसायी संघका पाँचथर अध्यक्ष खेमनाथ अधिकारीले भारत र भुटानमा उत्पादित अलैँची अन्तर्राष्ट्रिय बजारमा सकिँदै गएकोले मूल्य वृद्धि भएको हुनसक्ने बताए। अलैँचीको मूल्यमा वृद्धि भएपछि किसानहरु उत्साहित भएका छन्। किसानहरुले मूल्य वृद्धिको आशमा बगानबाट टिपेको अलैँची घरमा थन्काएर राखेको व्यवसायीहरुको अपेक्षा छ।
यसअघि निकै कम अलैँची बजारमा आएको थियो। भदौको अन्तिमदेखि बजारमा बिक्रीका लागि ल्याइँदा अलैँचीको मूल्य प्रतिमन ३५ हजारसम्म मूल्य निर्धारण गरिएको छ। तर, पछि मूल्य क्रमशः घट्दै २५ हजार रुपैयाँ आइपुगेको थियो।
मध्य मंसिरदेखि भने मूल्यमा विस्तारै वृद्धि भएको छ। अलैँचीको मूल्य २ वर्षअघि सर्वाधिक १ लाख २० हजारसम्म पुगेको थियो। व्यापारीले मिसावटयुक्त अलैँची अन्तर्राष्ट्रिय बजारमा पुर्याएपछि मूल्य क्रमशः ओरालो लागेको हो। अलैँची खेतीका जानकार डा. पदम खतिवडा यसको प्रत्यक्ष मार किसानसँगै मुलुकको अर्थतन्त्रमा परेको बताउँछन्।