तेह्रथुम । सरकारी कार्यालयले कति खर्च गर्छन् ? के–के शीर्षकमा खर्च गर्छन् ? त्यो सर्वसाधारण नागरिकको पहुँचमा हुदैन । नागरिकले जान्न चाहेमा पनि सबै कार्यालयले सजिलै देखाउदैनन् ।

हुन त अहिले सूचनाको हकको व्यवस्था छ । नागरिकले निवेदन दिए कानुनबमोजिमका सूचना दिनैपर्ने व्यवस्था छ । तर, त्यो कानुनी प्रक्रियाका बारेमा धेरै नागरिक जान्दैनन् । स्थानीय तहमा ती नै नागरिकले चाहेका जनप्रतिनिधि निर्वाचित भएपनि पनि स्थानीय तह जनमैत्री र पारदर्शी नबनेका उदाहरण धेरै छन् । तर, तेह्रथुमका एक वडाध्यक्षले भने आफुले वडा कार्यालयमार्फत वडामा गरेका काम र खर्चको विवरण सबैसामु छर्लङ्ग पार्ने गरेका छन् ।

आर्थिक वर्ष सकिएको एक साता बित्यो । धेरै स्थानीय तहमा अहिले पनि कागजात मिलाउने र भुक्तानी दिन कर्मचारी र जनप्रतिनिधिलाई चटारो छ । तर, तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले भने आ.व. ०७७÷७८ को खर्च विवरण नै सार्वजनिक गरिसकेका छन् ।

‘जनप्रतिनिधिको पहलमा योजना निर्माण, कार्यान्वयन र भुक्तानीको सहजीकरणका काम भएका छन्, मलाई वडासदस्य र कर्मचारी साथीहरुले पनि सघाउनुभएको छ,’ वडाध्यक्ष लिम्बुले भने, ‘त्यसैले बेलैमा काम सकेर भुक्तानी गर्न र खर्च सार्वजनिक गर्न कुनै समस्या छैन ।’

आफुले वडामा निर्वाचित भएपछि वडाक्षेत्रको विकास र प्रगतिकालागि दत्तचित्त भएर पारदर्शीरुपमा काम गरेको उनले बताए । कार्यक्रममा वडा कार्यालयले एक आर्थिक वर्षमा सञ्चालन गरेको योजना, कार्यक्रम र गौरवका आयोजनाको प्रगति, खर्च र लक्ष्य उदेश्यका विषयमा उनले सार्वजनिक गरेका छन् ।

जिल्लाकै सदरमुकाम रहेको म्याङलुङ बजारसमेत आफ्नो वडामा पर्ने भएकाले बजार क्षेत्र र गाउँ क्षेत्रलाई भेदभावपुर्ण व्यवहार नगरी बजारको हकमा बजार क्षेत्रलाई ‘सुन्दर बजार’ बनाउने जिम्मेवारी निभाएको उनले बताए । भने, ‘बजार क्षेत्रमा सडक, सिडी ढलान, बाटो ढलान, सडक बत्ती, फोहोरमैला व्यवस्थापन लगायतका काम भएका छन्, ग्रामीण क्षेत्रमा पनि आवश्यकता र बजेटको सीमाअनुसार काम भइरहेको छ ।’

वडा क्षेत्रको विकासमा आफुहरुले व्यक्तिगत स्वार्थलाई नजोडीकन नागरिकको हितमा काम गरेको वडा सदस्य तारा श्रेष्ठले बताए । वडाले सो आर्थिक वर्षमा गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

वडाले आर्थिक वर्ष २०७७÷०७८ को खर्च सार्वजनिकीकरण गरेको छ ।

वडाले आर्थिक विकासमा ९ लाख ७० हजार, सामाजिक विकासमा ८ लाख ७० हजार, पूर्वधार विकासमा १९ लाख ५ हजार, वन तथा वातावरण विपत् व्यवस्थापनमा ३ लाख ५ हजार, सुशासन तथा संस्थागत विकासमा २ लाख ५ हजार र विविध कार्यक्रमहरुमा ७ लाख खर्च भएको खर्च भएको छ ।

वडाले आर्थिक वर्ष २०७७÷०७८ मा ९६ हजार ९ सय ७९ रुपैयाँ राजस्व समेत संकलन गरेको छ । कोरोना भाइरस प्रभावित विशेष कार्यक्रम, कृषि, उज्यालो वडा, पशु विमा, सडक बती सुधार, विद्युतिकरण, फ्रि–वाईफाई, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा पर्यटन र वतावरणका कार्याक्रमहरुलाई वडाले आर्थिक वर्ष २०७८र०७९ मा निरन्तरता दिने भएको छ ।

सो अवसरमा वडाको विकासका लागि पत्रकारिताका माध्यमबाट सहयोग पु¥याउने अन्नपूर्ण पोष्टका संवाददाता टीआर सुब्बालाई कदरपत्र र नगद पाँच हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

तपाईको प्रतिक्रिया