धनुषा । कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिदै गर्दा धनुषामा पनि जिल्लाको नेतृत्वका लागि होडबाजी सुरु भएको छ ।

यसैबीच संविधानसभा सदस्य दिनेशप्रसाद प्रसैलाले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

क्षेत्रीय कार्यसमितिको सदस्य, सचिव हुदै दुई पटक क्षेत्रीय सभापति भइसकेका प्रसैला धनुषा क्षेत्र नं. १ बाट संविधानसभामा निर्वाचित थिए । उनी कांग्रेसको महासमिति सदस्य समेत हुन् । ‘उहाँ एक असल नेता हो । उहाँ सधैँ जनताको हकहितसँगै हरेक सुखदुखमा जनताको साथमा रहनुहुन्छ । जिल्लाका हरेक नेता कार्यकर्ताको चाहना अब उहाँको नेतृत्व हुनुपर्छ भन्ने छ,’ स्थानीय एक नेताले भने ।

प्रसैला वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिक छन् । धनुषामा पौडेल समूहको उपस्थिति भने कमजोर छ । उपसभापति विमलेन्द्र निधिका कारण जिल्लामा देउवा समूहको बलियो उपस्थिति रहेको ती नेताको भनाइ छ ।

देउवा समूहबाट वर्तमान सभापति महेशशंकर गिरी, उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वर यादव, प्रफुल्लराज घिमिरे र कुमरकान्त झा लगायत नेताहरु पनि सभापतिका लागि आकांक्षी छन् ।

तपाईको प्रतिक्रिया