धनकुटा, पुस २– प्रदेश नं. १ को राजधानी धनकुटा तोक्नुपर्ने माग गर्दै जिल्लाबासीले आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका छन् । एक घण्टासम्म नाराजुलुससहित जिल्लाबासीले कार्यालय घेराउ गरेका हुन् । धनकुटाको मदनचोकबाट जुलुससहित गएका धनकुटाबासीले भौगोलिक रुपले समेत प्रादेशिक राजधानी उपयुक्त भएकाले धनकुटालाई राजधानी बनाउनुपर्ने बताएका हुन् ।

आन्दोलनको अगुवाई धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन् । प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरिएको नागरिकले बताएका छन् । घेराउपछि धनकुटाबासीले निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहाल मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक दाहालले जिल्लाबासीको मागलाई  नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयमा जानकारी गराउने बताउनुभयो । जिल्लाबासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिको लागि राजधानी आवश्यक रहेको उल्लेख गरिएको छ ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममा झण्डै ३ सय रोपनी जग्गा, विद्युत प्राधिकरणको दुई र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा रहेको छ ।

तपाईको प्रतिक्रिया