तस्विर : पुष्पेन्द्र गोइत यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवसहित धनुषाका तीन कांग्रेस नेता अनसन बसेका छन् ।

क्रियाशील सदस्यता छानविनमा धनुषाका क्षेत्र नं. १ र ४ मा क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै पूर्वराष्ट्रपतिपुत्र संविधानसभा सदस्य डा.चन्द्रमोहन यादव, नेताहरु रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको विरुद्धमा आफूहरु अनसनमा बस्नुपरेको डा.यादवले बताए । उनीहरुले त्यससम्बन्धमा जिल्ला कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

१४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा अहिले क्रियाशील सदस्यता छानविनको काम चलिरहेको छ ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील छानविन गरेपनि अधिकांश जिल्लामा विवाद सुल्झाउनुको सट्टा विभिन्न बाहनामा क्रियाशील सदस्यताबाट बञ्चित गर्न खोजिएको भन्दै नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । यसअघि बारा क्षेत्र नं. २ का नेताहरुले पनि केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।

क्रियाशीलकै नाममा असन्तुष्टि व्यक्त गर्दैै सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसमेतको टोलीले समितिका सदस्य एवम् कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेबाट हातपातमै उत्रिए ।

महाधिवेशनको मिति नजिकिएपनि क्रियाशील सदस्यताको काम नसकिँदा कांग्रेसको महाधिवेशन अन्योलग्रस्त बनेको छ । सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरुले छानविन समितिले सर्वसम्मत काम गर्न र विवाद भएका विषयहरु पदाधिकारी तथा पूर्वपदाधिकारीसमक्ष छलफलका लागि पेश गर्न भनेका छन् ।

छानविन समितिले अहिलेसम्म बारा र सप्तरीबाहेक ७५ जिल्लाको क्रियाशील सदस्यता छानविन गरिसकेको छ । कांग्रेसमा यसपटक क्रियाशील सदस्यको संख्या नौ लाख पुग्ने समितिको अनुमान छ ।

तपाईको प्रतिक्रिया