म्याग्दी, पुस २ – पहिले चुनाव हुनुभन्दा केही समय पहिला मात्रै नेताहरु मतदाताको घरदैलो धाउने गर्थे । तर चुनाव जितेपछि भने बेपत्ता हुने आरोप खेप्दै आएका नेताहरु यसपटक भने चुनाव जितेपछि पनि घरदैलोमा व्यस्त रहेका छन् ।
आफूलाई जिताएकोमा मतदातालाई धन्यवाद दिन नेताहरु गाउँ पसेपछि स्थानीय बासिन्दा दंग परेका छन् । गएको मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्याग्दी जिल्लाबाट विजयी सांसदहरु मतदातालाई धन्यवाद दिन र गुनासो सुन्न गाउँमा पुगेका हुन् ।
प्रतिनिधिसभामा विजयी सांसद भूपेन्द्रबहादुर थापा, प्रदेशसभामा विजयी सांसद विनोद केसीसहित नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको टोली म्याग्दीको उत्तरी भू–भाग अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको विभिन्न वडामा पुगेको छ । धन्यवाद दिन आफ्नो गाउँमा आएका सांसदलाई स्थानीयले स्वागत गर्नुका साथै उनीहरुले विभिन्न विकासका योजनाहरुको माग र समस्याको बारेमा ध्यानाकर्षण समेत गराएका छन् ।
घोडेपानीका बासिन्दाहरुले घोरेपानी र पुनहिल म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य भएको हुँदा पर्यटन प्रवद्र्धन गर्नुपर्ने योजनाको माग गरेका छन् । यसैगरी राम्चे, नांगी, काफलडाँडा, रिम र औलाका बासिन्दाले सडकको गुणस्तर वृद्धि गरी यातायात सेवालाई प्रभावकारी बनाउन माग गरेका छन् । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका साथै आयआर्जन वृद्धिका लागि कृषि र पर्यटनसम्बन्धी योजना भित्र्याउनु पर्नेमा स्थानीयले जोड दिएका छन् ।
धन्यवाद दिन गाउँ पुगेको सांसदको टोलीलाई अधिकांश ठाउँमा सडकको स्तरोन्नति गर्नुपर्ने माग आएको टोलीमा सहभागी नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । स्थानीयको आवश्यकता अनुसारका मागहरु आएको बताउँदै उहाँले गाउँमा विद्युतीकरण, विद्यालय भवनको निर्माण, शिक्षकको दरबन्दी मिलान, खानेपानीका योजना सञ्चालनलगायतका माग पेश भएको जानकारी दिनुभयो ।
यसैगरी म्याग्दीको प्रदेशसभा (ख) मा विजयी सांसद नरदेवी पुनले पनि मतदातालाई भेटेरै धन्यवाद दिन र स्थानीयको चाहना तथा आवश्यकता बुझ्न गाउँ अभियान सुरु गरेको बताउनुभयो । मंगला गाउँपालिकाबाट अभियान सुरु गर्नुभएका सांसद पुनले आफूसमक्ष स्थानीयबासिन्दाले सडकको स्तरोन्नति गर्नुपर्ने, विद्यालय खेलमैदान निर्माण, खानेपानी जस्ता विकास निर्माणका योजनाहरुको माग गरेको जानकारी दिनुभएको छ ।
सांसदद्वय थापा र केसीले चुनावमा जिताउन सहयोग गर्ने मतदाता र स्थानीय कार्यकर्तालाई धन्यवाद दिँदै जिल्लाबासीको साझा प्रतिनिधिको रुपमा जनताको समस्या समाधान, आवश्यकताको सम्बोधन, विकास र समृद्धिको अभियानमा केन्द्रित हुने बताउनुभयो । समस्या र सम्भावनाको पहिचान गरी सोहीअनुसार अघि बढ्न जनताको गुनासो, सुझाव र अपेक्षा बुझ्न चुनाव जितेपछि घरदैलोमा आफूहरु पुगेको सांसदहरुले बताएका छन् ।
पूर्वराज्यमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनले यसअघिको आफ्नो कार्यकालमा थालनी गरिएको कामलाई पूर्णता दिने बताउँदै आगामी दिनमा आयआर्जन, युवा स्वरोजगारका कार्यक्रम ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । विजयी तीनै जना सांसदहरुले म्याग्दी जिल्लाको सबै ठाउँमा पुगेर मतदातालाई भेट्ने र स्थानीय आवश्यकताको पहिचान गरी विकासमा जुट्ने जनाएका छन् ।