– भीम माबुहाङ

बहुदल घोषणा भएयता पूर्वी पहाडी जिल्ला तेह्रथुममा हरेक पटकको चुनावमा नेपाली कांग्रेस ‘पाहा’ पछारिए झैँ पछारिएको–पछारिएकै छ । कोयाखोला, खोरुङ्गाखोला, पिंगुवाखोला अनि लिम्बु खोलाहरुमा धेरै पानी बगिसके । तर, कांग्रेसको हारेको–हारै छ । तेह्रथुमे जनताको थप्पड खाएको खायै छ । आखिर तेह्रथुममा सधैँ रुख ढलिरहन्छ किन ?

नेपालकै जेठो राजनीतिक दल कांग्रेस पूरानो इतिहास र विरासत बोकेको गौरवशाली पार्टी हो ।

००७ सालमा राणा शासन फाल्नको लागि गरेको संघर्ष, निरंकुश शाही शासनको विरुद्धमा देखाएको अदम्य शाहस देखि लिएर ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना र ०६२ सालमा माओवादीलाई राजनीतिक मुलधारमा ल्याउने नेतृत्वदायी भूमिका, ०७२ सालमा नयाँ संविधान जारी, तीन तहको ऐतिहासिक निर्वाचन सम्पन्न गर्ने जस्ता ऐतिहासिक र युगान्तकारी कामहरु गर्दै आएपनि त्यसको राजनीतिक प्रभाव तल्लो तहसम्म परेको देखिदैन ।

अझ तेह्रथुममा त झनै देखिदैन । र, जिल्लाबाट सधैँ कांग्रेस ढलिरहेको छ । घामले तेह्रथुमे जनताको जहिल्यै ढाड सेक्छ किन ?

के तेह्रथुम जिल्लाका जनताहरुले, कांग्रेस पार्टीले आम जनताको हक, अधिकार, स्वतन्त्रता र विकासको लागि दिएको योगदान र भूमिका नबुझेका हुन् त ? के जनता साँच्चै अनपढ, अशिक्षित, अज्ञानी र अचेतनशील हुन् त ? कि जिल्लाका कांग्रेस अग्रज कार्यकर्ता र नेतृत्वकर्ताहरुको अकर्मण्यता र कमजोरीको कारणहरुले हो ? यो आलेखमा यी र यस्ता विषयहरुको जरा किल्ला खोतल्ने जमर्को गरेको छु ।

यो जिल्लाका कांग्रेसका उम्मेदवार व्यक्तिहरुले विगतका चुनावहरुमा पार्टीले भोग्नुपरेको लज्जास्पद हारहरुलाई आत्ममुल्यांकन, आत्ममन्थन, आत्मविश्लेषण, आत्मप्रशिक्षिकिकरण गर्दै गल्ती कमजोरीहरु के भएका थिए ? वा त अपर्याप्तता र अपुगहरु के–कस्ता थिए ? र अब अगाडिको बाटो कसरी तय गर्ने ? कस्तो नयाँ कार्यदिशा, रणनीति र कुटनीति अख्तियार गर्ने ? भन्ने विषयको पिँधसम्म पुगेर अध्ययन अनुसन्धान घनीभूत ढंगले गर्ने अवसर यो महाधिवेशनले प्रदान गरेको छ ।

हरेक संकट, विपत्ति, विपन्नता र विषमताको घडीहरुमा नेपाली जनताको सारथी बन्दै आएको नेपाली कांग्रेस पार्टी अहिले १४ औँ महाधिवेशनको तयारीमा जुटिरहेको छ । महाधिवेशनको तालिका सार्वजनिक हुनु सँगसँगै वडा, गाउँपालिका, नगरपालिका हुंदै प्रदेशदेखि केन्द्र सम्म चहलपहल र सरगर्मी ह्वात्तै बढेको छ । अनलाइन समाचार माध्यम, सामाजिक सन्जालहरुको भित्तामा उम्मेद्धार र आकंक्षीहरुको फोटो लगायत विभिन्न विचार र अभिव्यक्तिहरुको बाढी पहिरो चलेको छ । महाधिवेशनको माहाभारत शुरु भइसकेको छ ।

एक हिसावले महाधिवेसन भनेको पार्टीको नयाँ कार्यदिशा, कार्यशैली, नेतृत्वको परिवर्तन, नवीकरणदेखि लिएर पार्टीपंक्ति भित्र थुप्रिएका असन्तुष्टिको चाङ्गहरु, बितृष्णा र आक्रोसका ज्वालाहरुलाई सम्बोधन गर्ने उपयुक्त बेला हो । संगठनको अस्त–व्ययस्तता, पार्टीभित्र मौलाएको गुटबन्दी, विकृति र विसंगतिका धुलो–मैलाहरु सबै धोई पखाली गरेर पार्टीलाई ताजा र निर्मल बनाउने एउटा स्वर्णिम अवसर हो । पराजयका धेरै पटक मुंग्रो खाईसकेको, तेह्रथुम जिल्लाका कांग्रेसीहरुले अझ गहन रुपमा लिनु पर्ने अवस्था देखिन्छ ।

यो जिल्लाका कांग्रेसका उम्मेदवार व्यक्तिहरुले विगतका चुनावहरुमा पार्टीले भोग्नुपरेको लज्जास्पद हारहरुलाई आत्ममुल्यांकन, आत्ममन्थन, आत्मविश्लेषण, आत्मप्रशिक्षिकिकरण गर्दै गल्ती कमजोरीहरु के भएका थिए ? वा त अपर्याप्तता र अपुगहरु के–कस्ता थिए ? र अब अगाडिको बाटो कसरी तय गर्ने ? कस्तो नयाँ कार्यदिशा, रणनीति र कुटनीति अख्तियार गर्ने ? भन्ने विषयको पिँधसम्म पुगेर अध्ययन अनुसन्धान घनीभूत ढंगले गर्ने अवसर यो महाधिवेशनले प्रदान गरेको छ ।

अझ प्रष्टरुपमा भन्नुपर्दा कांग्रेसीहरुले कांग्रेसीलाई नै छाम्ने, चिमोट्ने, एक–अर्कामा कसी लगाउँदै, गल्ती कमजोरीका जराहरु पहिल्याउने, औल्याउने र कोट्याउने वेला हो यो । ताकि कुकुरहरु सुकेका हड्डीमा एक–आपसमा लडेर रगताम्मै भई आफ्नो रगम आफँै चाटेर बसेजस्तो अवस्था तेह्रथुमे कांग्रेसीजनमा देख्नु नपरोस् । फेरि फेरि रुख ढल्नु नपरोस् ।

हुन त कांग्रेसभित्र, अँध्यारोमा पाए अचेट्ने, छेऊमा पाए घचेट्ने, चाकडी, चाप्लुसी मलमाल गर्ने प्रवृत्ति व्यापकरुपमा चलिआएको छ । गंगटाहरु झैँ एक–अर्कामा खुट्टा तानातान गर्ने प्रवृत्ति पनि बेजोडले मौलाएको छ । पार्टी पराजित होस् । तर, आफुले धारणा गरेको पद नजाओस् ।

मै खाउँ, मै लाउँ । भएजति, पाएजति सबै पद, पैसा, प्रतिष्ठा, पावर मेरै पोल्टामा परोस् भन्ने तीब्र ईच्छा चाहना र मनोकांक्षा बोकेका नेताहरु पनि पार्टीभित्र बग्रेल्ती छन् । आत्माकेन्द्रित मानसिकताबाट परिचालित, स्वेच्छाचारी निर्णय गर्ने प्रवृत्ति, व्यक्तिवादी सोचहरु पनि पार्टी पंक्तिभित्र उत्तिकै हावी छ । यस्ता विृकृत्ति र व्यक्तिवादी सोचहरु पनि पार्टीपंक्तिभित्र उत्तिकै हाबी छ । यस्ता विकृत्ति र विसंगतिहरु केन्द्रदेखि स्थानीय तहसम्म कोरोना भाइरसझैँ सु–सुप्तरुपमा फैलिएको छ ।

यस्ता समस्यालाई पी.सी.आर. परीक्षण गर्दै खोप हानेर राष्ट्रव्यापीरुपमा कांग्रेस सुद्धिकरणको अभियान नै चलाउन पर्ने आवश्यक देखिन्छ । हुन त मुहान (केन्द्र) सफा नभएपछि तल झर्ने पानी सफा होला भनेर कसरी आंकलन गर्न सकिन्छ र ? तर पनि हिलोमा नै भएपनि कमल फुलाउने कोशिस तेह्रथुमे कांग्रेसीहरुले गर्नुपर्दछ भन्ने मेरो धारणा हो ।

नेतृत्व विकेन्द्रिकरणलाई प्राथमिकताका साथ जोड दिएर जिल्लाको चारै क्षेत्र र भुगोलहरु आठराई, फेदाप, छथर क्षेत्रका वडा, गाउँपालिका, नगरपालिकाहरुबाट इमान्दार, असल, स्वच्छ छवि भएका त्यागी व्यक्तिहरुलाई नेतृत्व पंक्तिमा चयन गर्नु आवश्यक छ । जसले गर्दा सबै क्षेत्रका कांग्रेसपंक्तिमा आस्था राख्ने आमजनता र कार्यकर्ताहरुले तेह्रथुमे कांग्रेसी हुँ भनेर गर्भ गर्न सकुन् ।

समावेशितालाई मध्यनजर गर्दै जिल्लाका कुना–कन्दरा, क्षेत्र र भेगहरुबाट पुरुष, महिला, आदिवासी जनजाति, दलित, अल्पसंख्यक, सीमान्तकृत सबैलाई अटाएर आपसी पृथकतालाई निष्तेज पार्दै तेह्रथुमे कांग्रेसजनहरुलाई एक ढिक्का बनाउने कुरामा विशेष ध्यान दिनुपर्दछ ।

कांग्रेसको आधारभूत सिद्धान्त र आदर्शहरु, राष्ट्रियता, लोकतन्त्र र समाजवाद आत्मसात् गर्दै सबै कार्यकर्ता र नेतृत्वकर्ताहरुलाई इमान्दार र निष्ठाको राजनीति गर्नकालागि प्रेरित र प्रशिक्षित गर्न सक्नुपर्दछ । ईष्या, कुण्ठा र इगोहरु सबै भट्टीमा जलाएर अनावश्यक ठूला मनोकांक्षाहरुलाई त्यागेर राजनीति गर्ने भनेको सेवाको कार्य हो । सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा हो भन्ने कुरालाई आत्मासात् गरी ००७ सालको कांग्रेसीहरुको जस्तो तेज, जोस् जाँगर र त्यागको भावना, नयाँ वा पूराना सबै पुस्तामा ब्युँताउन पर्दछ ।

तेह्रथुममा कांग्रेसमा आस्था राख्ने व्यक्ति, क्रियाशील सदस्यहरु, अग्रज कार्यकर्ताहरु र विशेषगरी युवा जमात्हरु पिञ्जराको सुँगाजस्तो नेताले जे दियो, त्यही खाने, जे भन्छ, त्यही भन्ने र गर्ने । आयाराम, गयाराम मात्र नभएर असल व्यक्तित्व विकास, स्वतन्त्र र स्वच्छन्द ढंगले डर, भय र विना संकोच अगाडि बढ्न सक्नुपर्दछ । असल भोटर्स र असल कार्यकर्ताहरुले मात्र असल नेता र नेतृत्व छान्न सक्ने ल्याकत राख्दछन् । नत्र भने भेडाभेडीहरुले व्याँसाहरुको नेतृत्व भेट्छन् भने जस्तै मात्र हुन्छ ।

हलो जोतिरहेको किसानको तस्विरलाई हेरेर योजना बनाउनु भन्ने कांग्रेस पार्टीका संस्थापक नेता बीपी कोइरालाको विचारलाई हृदयगम गर्दै, तेह्रथुमे जनताको हित र मर्मलाई सर्वोपरी राखी उनीहरुको दुःखसुखमा संवेदनशील हुदै जिल्लाको समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पुर्वाधार विकास, कृषि, पर्यटन, ढाका लगायतका लघुउद्योगहरु स्थापना गरेर कसरी किसानदेखि लिएर आमजनताको जीवनस्तर उकास्न सकिन्छ भन्ने विषयहरुमा गहन बहस र छलफल गरी अल्पकालिन वा दीर्घकालिन योजनाहरु तय गरेर नेपाली कांग्रेस पार्टी अगाडि बढ्नुपर्छ । अनि मात्र तेह्रथुमका जनताले कांग्रेसलाई विश्वास गर्ने बातावरण बन्न सक्दछ ।

समग्रमा भन्नुपर्दा, रुखलाई हरियालीपूर्ण बनाउन, चारतारे झण्डा फहराउन अनि आउँदो निर्वाचनमा विजय सुरक्षित गर्न, गएका चुनावमा भएका गल्ती कमजोरीहरुबाट पाठ लिँदै आउँदो महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धीका माध्यमबाट असल, इमान्दार, निष्ठावान् त्यागी व्यक्तिहरुलाई जिल्ला नेतृत्वमा चुन्नुपर्दछ । समावेशितालाई मध्यनजर गर्दै जिल्लाका सबै क्षेत्र, भुगोल, जाजजाति, वर्ग, धर्मावलम्बीहरुलाई जिल्लामा प्रतिनिधित्व गर्ने बातावरण मिलाउनुपर्दछ ।

आफुबीचमा रहेको पृथकता र मतभेदहरुको मिलनविन्दु पहिल्याएर पुरै जिल्लाका कांग्रेसीहरुलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्दछ । त्यसो भएमात्रै तेह्रथुम जिल्लाका जनताले पत्याउँछन् । भोट दिन्छन् । विश्वास दिन्छन् । पार्टीले विजय हात पार्न सक्छ ।

तपाईको प्रतिक्रिया