अछाम, पुस २ । अछाम लागायत सुदुरपश्चिमा जरो गाडेर रहेको छाउपडी प्रथा अन्त्यका लागि थुप्रै छलफल तथा बहस भयो । महिनावारीका समयमा घरमा नबसेर गोठमा बस्नुपर्ने कु-संस्कार हटाउन कानुन पनि बनिसकेको छ ।

कानुनले छाउपडी प्रथा मान्नु र मान्न बाध्य बनाउँनुलाई एक किसिमको अपराध मानेको छ । छाउपडि प्रथा हटाउन कानुन संगै सोच परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ । जसको सुरुवात केही महिलाहरुले गरिसकेका छन् ।
अछाम साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरकी लक्ष्मी आउजी पनि त्यहि अभियानमा छिन् । आउजी दलित महिला मात्र होईन उनी एकल महिला पनि हुन ।
एकल महिला त्यसमा पनि दलित उनी छाउपडी बिरुद्धको अभियानमा लागेको ३ बर्ष भयो । ‘भन्थे महिलाको पिडा महिलाले मात्र बुझन सक्छन’उनी एक उदाहारण बन्न सकेकी छिन् ।
उनले आफुले भोगेको पीडाहरु सुनाउँदै भनिन,‘पहिलो पटक १२ बर्षको उमेरमा महिनावारी हुँदा म पनि अरु जस्तै गोठमा बसे, घरमा छाई, छुई गरिन । महिनावारी हुदा देउता रिसाउने र पाप लाग्ने डरले गोठमै सुते ,बर्षौसम्म हरेक महिना यही प्रक्रिया जारी रह्यो ।’
उनले अनुभव सुनाउँदै भनिन,‘म महिनावारी हुँदा सांनै थिएँ त्यसैले अरुले भनेको कुरा साँचो लाग्थ्यो । ऊ बेला महिनावारी गर्वको विषय हो भन्ने न मलाई नै थाहा थियोे, न कसैले मलाई भनिदियो ।
पहिले त न खान मन लागेको खान पाईन्थ्यो, न त राम्रो लगाउन पाईनथ्यो, न त साँझ सुत्दा राम्रो संग सुत्न पाईन्थ्यो, घरकाले जे दिन्छन् ,त्यही खानु पर्ने, अध्याँरो रात दाउराको राँको बालेर छाउगोठसम्म पुग्थ्यौं र अँध्यारोमै सुत्तथ्यौ ‘अब त धेरै फरक भैसक्यो’ ।’
दिनभरीको काम र थकाई । बर्खाको झरी होस् कि, हिउँदको चिसो । अँध्यारो गोठमा सुत्नुपर्दा आउजीलाई अत्यास लाग्थ्यो । घरि, घरि खबर आईरहन्थे, छाउपडि गोठमा चिसोले कठ्याङ्ग्रिएर, रक्तस्राब भएर महिलाले ज्यान गुमाउनुपर्यो । कयौ बर्ष डर र त्रासमा गोठमा नै रात बिताउनुपरे पनि अहिले उहाँ यसको विरुद्ध अभियान चलाइरहेकी छिन् ।
लक्ष्मी अहिले ४५ बर्ष बर्षकी भइन् । उनका श्रीमान छैनन् । उनी बुहारी र नाती, नातीनासंग बस्छिन् । दलित समुदायको त्यो पनि एकल महिला । छाउपडी विरुद्धको अभियानमा लाग्न भने त्यति सजिलो भने थिएन ।
महिनावारीका बेला गोठमा नबसेर घरमै बस्न थाल्दा कतिपयले उनलाई नराम्रो पनि भने । तर, उनले आफ्नो अभियान छाडिनन् ।
महिनावारीका बेला उनी घरमै बसेको देखेर वरपरका छिमेकीले पनि बिस्तारै सिको गरे । अहिले भाग्यश्वर–६ को बस्तीका महिला महिनावारीका बेला गोठमा सुत्दैनन् । समाज परिवर्तनमा उनको पाईला अगाडी बढिरहेको छ ।
उनी भन्छिन् ‘हामी छाउपडी बिरुद्धको अभियानमा लागेपछी अहिले यहाँका सबै महिला घरमा बस्न थालेका छन ।
घरमा मात्र होईन अब त छाउ भएको बेला बस्ने ठाँउमा बत्तीको पनि व्यावस्था छ । यहाँका सबै दिदिबहिनी आफनै घरमा बस्छन ।’
पहिले भन्दा अहिले धेरै परिवर्तन भएको छ, उनले महिलाहरुमा आएको परिवर्तनबारे खुशी हुँदै भनिन, ‘मैले आफैवाट सुरु गरेको अभियान हो, अहिले छिमेकीहरुमा आएको परिवर्तन देख्दा खशुी लाग्छ ।’
तीन बर्षसम्म छाउपडी बिरुद्धको अभियान चलाइरहेकी लक्ष्मीको सिको गरेर अहिले धेरै परिवर्तन आइसकेको छ । गाउँका महिलाहरुले पनि छाउपडी विकृती रहेछ भनेर बुझ्न थालेका छन् ।
उनी हिजोआज महिनावारीका भ्रम र वास्तविकताका बारेमा जानेका कुरा सिकाउँदै हिड्छिन् ।
महिनावारीका समयमा पोषिलो आहार खानुपर्छ, सरसफाईमा ध्यान दिनुपर्छ भनेर गाउँले महिलाहरुलाई सिकाउँछिन् ।
लक्ष्मी आउजी परिवर्तनका लागि आफ्नो अभियानलाई निरन्तरता दिन चाहन्छिन् । सानो टोल र गाँउ होईन सिंगै सुदुरपश्चिम र देश नै छाउपडि मुक्त भएको हेर्ने उनको रहर ।