धनकुटा, पुस १– प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् । झण्डै दुईसय वर्ष अघिदेखि प्रशासनिक केन्द्र रहेको धनकुटालाई भौगोलिक रुपले समेत प्रादेशिक राजधानी उपयुक्त भएको भन्दै धनकुटाबासीले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।
धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले आन्दोलनको अगुवाइ गरेका छन् । प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न धनकुटाबासीले माग गरेका छन् ।
राजधानी माग गर्न आयोजित आन्दोलनमा धनकुटाबाट जितेका प्रदेशसभाका सांसदहरु ईन्द्रमणी पराजुली र निरन राईले जनसुकै मूल्य चुकाएर भए पनि राजधानी बनाउन पहल गर्ने बताउनुभयो । शुक्रबार जुलुस प्रदर्शन गरेका जिल्लाबासीले शनिबार मैनबत्ती जुलुस गरेका छन् ।
धनकुटाको भीमनारायण चोकदेखि निस्केको जुलुस मदनचोकमा आएर सकिएको थियो । जुलुसमा धनकुटाका राजनीतिज्ञ, उद्यमी, व्यापारी र नागरिक समूहका अगुवाको सहभागिता रहेको थियो