गर्मीमा तापक्रम बढी हुने हुनाले शरीरबाट पसिना अन्य बेलामा भन्दा धेरै निस्कने हुन्छ र शरीरलाई अरूबेलामा भन्दा बढी पानी अवश्यकता हुन्छ। तर शरीरलाई चाहिने पानी पर्याप्ता नपिउँनाले धेरैमा समस्याहरु देखिन्छन्। यहाँ पानीको कमिले शरीरमा देखापर्ने समस्या र पानी पिउँने उचित विधिबारे चर्चा गरिएको छ।

मानिसको शरीरमा ७० प्रतिशत पानीको भाग हुन्छ। शरीरले आफ्नो काम गर्ने क्रममा पानी केही मात्रा प्रयोग गर्छ भने केही मात्रा शरीरबाट पिसाव मार्ग, स्वास मार्ग र पसिनाबाट बाहिरिन्छ। यदि ठिक तरिकाले पानी पिइएन भने शरीरमा पानीको मात्रा असन्तुलित हुन्छ। शरीरमा पानीको असन्तुलन भयो भने शरीरका प्रणालीले ठिक ढंगले काम गर्न सक्दैनन्। रोग भनेकै शरीरको सबै प्रणालीले ठिकसँग काम गर्न नसक्ने अवस्था हो। पानीको कमीले शरीरमा धेरै रोग लक्षण र समस्याहरु हुने गर्छ।

पानीको कमिले शरीरमा देखिने समस्याहरू
कब्जियत हुनु–
हामीले खाएको खाना सजिलैसँग पाचन हुन पानीको आवश्यकता पर्छ। पानीको कमीले पाचन प्रकृया ठिक ढंगले संचालन हुन सक्दैन र खाएको खाना अपच भई कब्जियत हुन्छ। कब्जियत हुनेले पानीको नियम राम्रोसँग पालना गर्नुपर्छ। कब्जियतले नै अरू स्वास्थ्य समस्या जन्माउँछ।

तौल बढ्नु– कब्जियत भएपछि शरीरबाट बाहिर निस्कनुपर्ने फोहर भित्रै जम्मा हुन्छ र तौल बढ्दै जान्छ। तसर्थ शरीरको तौल बढ्नुको प्रमुख कारणमा पानीको कमी हुनु पनि एक हो।

टाउको दुख्नु–टाउको दुख्नुको प्रमुख कारण शरीरले पानी कमी भयो भनेर संकेत गर्नु हो। तर हामी शरीरको भाषा नबुझी चाहिने नचाहिने औषधी खान्छौं। टाउको दुख्दा पानी ठिक तरिकाले पिउनुपर्छ र गर्मी गराउने खानाहरु बन्द गर्नु पर्छ।
धेरै थकान र शरीर गल्नु– पानीको कमिले रक्तसञ्चारमा कमी भई शरीर थाक्ने र गल्ने हुन्छ।

अनिद्रा, खानामा अरुची–पानीको कमिले शरीरमा आन्तरिक गर्मी बढेर खानामा अरूची गराउँछ भने निद्रा नलाग्ने हुन्छ।

छाला सुख्खा, रुखो हुनु– छालाको सुन्दरताका लागि पानी निकै आवश्यक हुन्छ। पानीले शरीरमा रहेको फोहोरलाई सफा गरी रगत शुद्ध पार्छ र छालालाई चम्किलो बनाउँछ। पानीको कमिले छाला सुख्खा हुने, ओठ सुक्ने, धेरै प्यास लाग्ने र मुख छिनछिनमा सुक्ने हुन्छ।

आँखा, छाती, घाँटी पोल्नु– पानीको कमिले शरीरमा गर्मी बढाउँछ। जसले गर्दा आँखा, छाती र घाँटी पोल्ने हुन्छ।

मांसपेशी बाउँडिनु–शरीरमा पानी कम भएमा रक्तसञ्चार ठिकसँग हुन पाउँदैन र मासु बाउँडिने, विशेष गरी पिडुँलाको मासु बाउँडिने, थाक्ने गल्ने समस्या आउँछ।

मन चञ्चल हुनु– पानी कम हुनाले शरीरमा गर्मी बढ्छ। मुटुको धड्कन बढाउँछ र मन चञ्चल गराउँछ। मन चञ्चल भएपछि कहाँ जाउँ के गरौं हुन्छ।

रिंगटा लाग्नु, शरीर गलेर कमजोर हुनु– पानीको कमिले शरीरमा एसिडीटी बढाई रिंगटा र वाकवाक लाग्ने हुन्छ भने अल्छीपन हुनुका साथै शरीर कमजोर हुने हुन्छ।

श्वास गन्हाउँनु– शरीरमा पानी पर्याप्त भएन भने शरीरबाट बहिर निस्कासन हुनुपर्ने फोहर भित्रै अड्किन्छ, शरीरमा दुर्गन्ध फैलिन्छ र श्वास गन्हाउने हुन्छ।

ओठ, मुख सुक्नु– शरीरमा पानीको कमिले ओठ तथा मुख सुक्छ धेरै प्यास लाग्ने हुन्छ।

पिसाब पहेंलो हुनु, पोल्नु– पिसाब पहेँलो हुुनु पानीको कमी हुनु हो। पानीको कमीले पिसाब कम हुने हुन्छ र पिसाबबाट बाहिर निस्ककासन हुनुपर्ने विकार निस्कासन हुन सक्दैन र पिसाब पोल्ने तथा अन्य समस्या देखिन्छ। यस्तो अवस्थामा गर्मी गराउँने खानाहरु (धेरै चिल्लो, पिरो, अमिलो, मसलाबर्ग, चिया,कफी आदि) बन्द गरी नियमित पानी पिउनाले शान्त हुन्छ।

पैताला पोल्नुः गर्मी मौसममा धेरैले पैताला पोल्छ भन्छन्। यस्तो अवस्थामा खानामा गर्मी गराउने खानपान कम गर्ने। नियमित आवश्यकताअनुसार पानी पिउने।

मुखमा सेतो खटिरा आउनु–मुखमा सेतो घाउ तथा खटिरा आउनु पनि शरीरमा पानी नपुग्नुको संकेत हो।

अनुहारमा गर्मी खटिरा तथा पिम्पल्स–अहिले हामीले युवायुवतीमा अनुहारमा पिम्पल्स आएको देख्छौ। यसको प्रमुख कारण पानी कम पिउनु हो भने गर्मी खालका खानपान बढी हुनु हो।

स्वस्थ रहन दैनिक पानी कति र कसरी पिउने ?
सामान्यत पानी तिर्खा लाग्दा मात्र पिउने गरिन्छ। तिर्खा लाग्नु भनेको शरीरले पानीको आवश्यकता भएको संकेत गर्नु हो। स्वस्थ रहन तिर्खा लाग्दा मात्र होइन, अरु बेलामा पनि नियमित पानी पिउनु पर्छ। एक वयस्क मानिसलाई गर्मी मौसममा दैनिक करिब अढाई—तीन लिटर र जाडोमा दुई—अढाई लिटर पानी आवश्यक पर्छ। पानीको अधिक प्रयोगले शरीरलाई हानी गर्छ भने न्यून प्रयोगले पनि हानी गर्छ। तसर्थ शरीर सञ्चानलका लागि चाहिने पानी ठिक समय र ठिक तरिकाले पिउनु पर्छ।

पानी पिउने सरल निरोगधाम विधि
बिहान खाली पेटमा

–बिहान उठ्ने वित्तिकै पहिलो काम ३ देखि ४ गिलाँस लगभग १ लिटर मन तातो पानी नरोकिई पिउने। यसले आन्द्रा सफा गरि मल निश्कासनमा सहयोग पुर्‍याउँछ।

–बालबालिकाले पनि बिहान पानी पिउने गर्नुपर्छ। बालबालिकाले उमेर र आकार हेरेर १ गिलासदेखि २ गिलाससम्म पिउने। १२ वर्ष भन्दा माथिकाले भने ३–४ गिलास नै पिउने।

दिउँसोः
बिहान खाली पेटमा बाहेक अन्य बेलामा पानी एकैपटक धेरै पिउनु हुँदैन। अन्य बेलामा एकैपटक धेरै पानी पिउनाले मिर्गौलामा बढी दवाब पर्छ र समस्या हुन्छ। तसर्थ दिउँसो प्रति घण्टा १– १ गिलाँस (२५० देखि ३०० एमएल) का दरले पिउने। दिउँसो घण्टा–घण्टामा पिउँने पानी दिन लामो छोटो हेरेर साँझ ५ या ६ बजेसम्म अर्थात बेलुकी खाना खानु करिब २ घण्टा अघिसम्म पिउने।

सुत्नु अगाडिः
बेलुकी खाना खाने वित्तिकै नसुत्ने। खाना खाएको करिब एक वा दुई घण्टा पछि सुत्ने। सुत्नु अगाडि एक गिलास मन तातो पानी पिएर सुत्ने। सुत्नु अगाडि पिएको पानीले रातभर पाचनलाई चाहिने पानी परिपुर्ति गर्छ।

तर सुत्नु अगाडि पिउने पानी भने आफ्नो शरीरको अवस्था हेरेर मात्र लिने गर्नुपर्छ। यदि राती पिसाब गर्न उठ्नुपर्छ भने आधा गिलास पिउँने वा पिसाब गर्न धेरैपटक उठ्नुपर्छ भने नपिउँदा बेस हुन्छ। तर दैनिक मिलाएर पानी पिउने गरेमा राती पिसाब फेर्न उठ्नु पर्दैन।

ठोस आहार र पानीको अन्तर
कुनै पनि ठोस आहार (खाना, खाजा वा अन्य ठोस) सँग पानी या अन्य तरल पदार्थ लिनु हुँदैन। ठोस आहारसँग पानी लिएमा पाचन प्रकृयालाई चाहिने र्‍याल पातलो भई पाचन अवरोध हुन्छ र अपच भई कब्जियत हुन्छ। त्यसैले हरेक ठोस आहार र पानीको अन्तर करिब १ घण्टा राख्ने।

यसरी पानी दैनिक मात्रा मिलाएर पिएमा शरीरलाई आवश्क पानी पनि पुग्छ र पानीको कमी वा बढीबाट हुने समस्याबाट सजिलै बच्न सकिन्छ। तर यदि शरीरमा रोग छ वा अन्य समस्या छ भने शरीरको अवस्था र रोगको प्रकृति हेरी पानीको प्रयोग भने घटी वा बढी गर्नुपर्ने हुन्छ ।

ध्यान दिनु पर्ने कुराः
मौसम, स्थान र तापक्रमअनुसारः 
ठाउँको मौसम र तापक्रमअनुसार पानीको मात्रा घटबढ हुन सक्छ। धेरै गर्मीको ठाउँ छ भने पानी बढाएर पिउनुपर्छ । चिसोमा सोही अनुरुपले कम।

परिश्रम र पसिना हेरेरः मानिसको परिश्रम र कामको ढाँचा हेरेर पनि पानीको आवश्यकता घटीबढी हुन्छ। धेरै पसिना निस्कने गरी काम गरेमा पानी त्यही अनुरुपले बढाएर पिउनुपर्छ। ध्यान दिनु पर्ने कुरा जति पसिना आउँछ त्यही अनुरुपमा पानी आवश्यक हुन्छ।

रोगको अवस्थाअनुसारः शरीरमा रोगको अवस्था छ भने रोग हेरि पानीको प्रयोग घटी वा बढी गर्नुपर्ने हुन्छ। सुन्निएको अवस्थामा, किड्नी समस्या भएकाले र अन्य चर्को समस्या भएकाले भने विज्ञ अनुभवीको परामर्शअनुसार मात्र पानी मिलाउने।

पानी कस्तो पिउने ?
पानी चिसो पिउने कि तातो भन्ने अलमलमा पर्न सक्छ। कत्तिले धेरै तातो पानी पिइरहेका हुन्छन् भने कत्तिले धेरै चिसो। सामान्यतः पानी प्राकृतिक वातावरण अनुकुल चिसो पानी लिनु नै उपयुक्त हुन्छ। तर स्वास्थ समस्या र वातावरण हेरि मन तातो, तातो वा चिसो प्रयोग गर्दा स्वास्थ्यलाई लाभ गर्छ।

चिसो पानीः यदि शरीरमा कुनै प्रकारको स्वास्थ्य समस्या छैन, पच्छ भने सामान्य चिसो पानी नै उत्तम हुन्छ। पिउने पानी भने सफा, शुद्ध र फोहोर हुँनुहुदैन। तर धेरै चिसो वा फ्रिजको पानी भने नपिउने। कफ बढेको, चिसो लागेको अवस्थामा चिसो पानी नपिउने।

तातो पानीः पेट दुखेको, रुघा–खोकी लागेको, पेटमा ग्याँस बढेको, शरीरमा कफ बढेको, दम, निमोनिया जस्ता अवस्थामा तातो पानीले फाइदा गर्छ। यस्तो अवस्थामा दिनमा दुई—तीन पटक तातो पानी विस्तारै चिया जस्तै पिउने गर्नुपर्छ भने अन्य समयमा मनतातो पानी पिउनुपर्छ। बुझ्नु पर्ने कुरा, धेरै तातो र पोल्ने पानीको दैनिक प्रयोगले शरीरमा गर्मी गराई कब्जियत गराउँछ र समस्या हुन्छ।

मनतातो पानीः मनतातो पानी पिउँदा शरीरले पानीलाई पाचन गर्न शक्ति प्रयोग गर्नु पर्ने हुँदैन। तसर्थ सबै अवस्थामा मनतातो पानी लिनु उपयुक्त हुन्छ। शरीरमा गर्मी बढेको अवस्था छ भने सामान्य चिसो पानी नै लिने गुर्नपर्छ।
पानी र अन्य पेय पदार्थ

अचेल हाम्रो समाजमा सभ्यताको नाममा चिया, कफी, ग्रिन टी आदिलाई पानीको रुपमा लिने चलन छ। यी चिजमा अम्लियता बढी हुने र शरीरमा गर्मी बढाउने गर्छ। गर्मी मौसममा त झन यसले दोहोरो गर्मी बढाउने गर्छ। गर्मी बढेपछि शरीमा बिभिन्न स्वास्थ्य समस्याहरु टाउको दुख्ने, अनिद्रा हुने, चिढचिढापन हुने गर्छ।

त्यसैगरी बजारमा पाइने चिसो पेय पदार्थहरू कोक, फ्यान्टा, रियल जुसजस्ता चिजलाई पनि पानीको रुपमा पिइने गरिन्छ। यस्ता चिज पिउँदा केही बेरका लागि जिब्रो र शरीरलाई सितल गराउँछ तर यस्ता चिजमा चिनी र रसायन चिज बढी हुने हुनाले स्वास्थलाई राम्रो गर्दैन। तसर्थ पानीको कमी अरु तरल पदार्थले पुरा गर्न सक्दैन। सादा सफा पानी स्वस्थ्य रहन अमृत समान हुन्छ।

पानी र बालबालिका
आजकाल बालबालिका र टिनएजरहरू पानी पिउन त्यति रूचि गर्दैनन्। उनीहरू पानीभन्दा अन्य पेय पदार्थ रूचाउँछन्। पानी सबै उमेर समूहलाई उत्तिकै जरुरी हुन्छ। अझ बढ्दो बालबालिका र किशोरकिशोरीले त झन मात्रा मिलाएर सफा पानी पिउनु पर्छ।

त्यसैगरी भर्खर जन्मेका शिशु र दुधे बालबालिकालाई पनि पानी चाहिन्छ। हामी शिशुलाई आमाको दुध बढी पिलाउन जोड गर्छौं। दुध मात्र खुवाएमा शिशुहरूमा पनि कब्जियत हुन्छ। त्यसैले आमाले दुध खुवाएपछि एक–दुई घण्टामा थोरैथोरै मन तातो पानी चम्चामा राखी पिलाउने गर्नुपर्छ।

अन्त्यमा, 
गर्मी मौसम छ। गर्मी मौसममा वाहिरी वातावरण नै गर्मी हुन्छ त्यसमा पनि यदि हामीले खाने खाना पनि गर्मी बढाउने खालका (धेरै चिल्लो, पिरो, अमिलो, धेरै मसलाहरु, चिल्लोमा तारेभुटेका खानाहरु, चिया, कफी) आदि जस्ता खानपान बढी भएमा बाहिरी र शरीर भित्रको गर्मी बढेर धेरै समस्या उत्पन्न हुन्छ।  तसर्थ शरीर र मनलाई शितल गराउने खानपान गरौं, पानी नियमित मिलाएर पिउने गरौं। पानीको उचित प्रयोगले मात्र पनि शरीरमा आउने अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया