संखुवासभा । संखुवासभाका महिलाहरुमा पाठेघर खस्ने समस्या जटिल रुपमा देखिएको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने यो समस्याबाट ग्रसित महिलाहरु खुलेर आउन नचाहँदा उपचारमा पनि समस्या भएको छ ।
शिर मेमोरियल अस्पताल बनेपाको आयोजनामा आज सदरमुकाम खाँदबारीमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख बिनितकुमार झाले धेरै महिलालाई पाठेघर खस्ने समस्या भए पनि खुलेर बताउन नचाहने गरेको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा २ सयभन्दा बढी महिलाहरुमा आङ खस्ने समस्या देखिएको भन्दै सामाजिक सचेतनाको अभाव रहेको बताउनुभयो । घर, परिवार र समाजको संकीर्ण सोचका कारण महिलाहरुले समस्या लुकाईरहेकाले यो संख्या उल्लेख्य रुपमा बढ्न सक्ने उहाँले बताउनुभयो ।
कम उमेरमा बिवाह, अत्यधिक धुम्रपान र जन्मान्तर सम्वन्धी उचित सचेतना नहुँदा पाठेघरको समस्या बढी मात्रामा देखिएको छ । पाठेघर खस्ने महिलाहरुमा देखिने सामान्य समस्या भए पनि समयमा उपचार नभए क्यान्सर हुनसक्ने र ज्यानैसम्म जानसक्ने भएकाले यसप्रति सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।
जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी र संचारकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पाठेघर खस्ने समस्या, यसको रोकथाम र न्यूनिकरणका लागि सवैको हातेमालो आवश्यक रहेकोमा जोड दिइएको थियो ।