सुनसरी । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले एक नम्बर प्रदेशबाट जातियता र क्षेत्रीयताको मुद्धालाई अस्वीकृत गरेको छ ।

 

चुनावमा आएको मत परिणामलाई हेर्ने हो भने लिम्बूवानको मुद्धा र आन्दोलनमाथि समेत प्रश्न खडा गरिदिएको  छ । चुनावमा आएको मतले लिम्बूवानको माग समेत अस्वीकृत गरेको देखिन्छ तर लिम्बूवानको माग राख्दै आन्दोलन गरिरहेको प्रमुख पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता केदार उप्रेतीले भने अहिले नै लिम्बूवानको मुद्धा अस्वीकृत भएको भन्न नसकिने बताउनुभयो । उहाँले चुनावको हारका विषयमा समीक्षा नगरेको बताउँदै उहाँले भन्नुभयो, ‘समानुपातिकमा आएको मतलाई हेर्ने हो भने लिम्बूवानको मुद्धा अहिले पनि बलियो रहेको छ ।’

अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य बनाइनु पर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएको मञ्चले निर्वाचनमा बलियो उपस्थिति देखाउन सकेन । अरुण पूर्वका नौ जिल्लाहरु सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटाका  र ताप्लेजुङका अधिकांश क्षेत्रमा संगठन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलेसमेत चुनावमा भने नराम्रो हार बेहोरेको छ ।

मोरङको क्षेत्र नम्बर ४, ५ र सुनसरीको क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा बाहेक २५ वटै  प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा त्यस पार्टीले आफ्ना उम्मेदवार उठाएको थियो । त्यो बाहेक प्रदेशसभातर्फ पनि सुनसरीको ३ ख, ४ ख, २ ख र मोरङको क्षेत्र नम्बर ४ का दुवै प्रदेश, र ५ मा मात्रै उम्मेदवार उठाएको थिएन । तर उठाएका क्षेत्रमा पनि केही उम्मेदवारले मात्रै १ हजार मत कटाएका छन् ।

मोरङ क्षेत्र नम्बर एकका उम्मेदवार अशोक चेम्जोङले एक हजार एक सय ५२ मत ल्याउनु भएको छ । यसैगरी इलाम क्षेत्र नम्बर २ का उम्मेदवार दिपक कुमार योङ्हाङ्गले १७ सय १६ मत ल्याउनु भएको छ ।

यसैगरी एक हजार मत कटाउने मञ्चका उम्मेदवारहरुमा पाँचथरका सागर केरुङ्ग झापाका ज्ञानबहादुर लिम्बू, झापा ५ कै भानुभक्त भट्टराई  ताप्लेजुङ्गका विष्णुकुमार लिम्बू, सुनसरी १ का कृष्णमान थेवे, मोरङ ३ का मणिराज लिम्बू रहनु भएको छ । सागरले १५ सय ९९, ज्ञानबहादुरले ११ सय ३२, भानुभक्त भट्टराईले १३ सय ८० मत र बिष्णुले १५ सय ९१ मत ल्याउनु भएको छ । कृष्णमान थेवेले १५२१ मत ल्याँउदा मणिराजले १ हजार १३ मत ल्याएर हजार मत कटाउने उम्मेदवारको सूचीमा नाम दर्ता गराउन सफल हुनु भएको छ ।

प्रदेशसभातर्फ इलाम ख बाट थाङ्गसुङ्ग लावतीले सबैभन्दा बढी मत ल्याउनु भएको छ । उहाँले २२ सय ५४ मत प्राप्त गर्दा प्रदेशसभामा एक हजार मत कटाउने उम्मेद्वारमा पाँचथरका दिपेन्द्र चेम्जोङ, झापा क का हर्कप्रसाद लिम्बू, ५ क का सूर्यप्रसाद लिम्बू ,मोरङ १ ख का नगेन्द्रबहादुर लिम्बू रहनुभएको छ ।

तपाईको प्रतिक्रिया