डा. प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ
रोग लागेपछिको जीवनको पीडा दीर्घरोगीलाई बढी अनुभव हुन्छ । त्यसैले गम्भीर रोग लाग्न नदिन वेलैमा सचेत हुनुपर्छ । कतिपय सामान्य समस्या पछि ठूलो रोगका रूपमा पैदा हुन्छन् । खासगरी मुटुसँग सम्बन्धित रोगले मान्छेको मृत्युलाई अकल्पनीय बनाइदिन्छ । त्यसैले, मुटुमा असर गर्ने केही रोगसँग हरपल सजग रहनै पर्छ । उच्च रक्तचाप, मोटोपन, मधुमेह, युरिक एसिडको समस्या भएकालाई डाक्टरले लाइफस्टाइल र खानपानमा ध्यान पुर्याउन सुझाब दिएका छन् :
उच्च रक्तचाप
- नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने ।
- धूम्रपान, मद्यपान र सूर्तीजन्य
- पदार्थ सेवन नगर्ने ।
- मोटोपन घटाउने ।
- दैनिक आधादेखि एक घन्टासम्म पसिना निस्किने गरी हिँड्ने, दौडिने या जगिङ गर्ने ।
- गहुँ, मकै, कोदो, फापर, गेडागुडीजस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने ।
- गाँजर, मुला, बन्दा, काँक्रो, गोलभेँडालगायत मिसाएको सलाद नियमित खाने ।
- ध्यान, योगासन, प्राणायाम नियमित रूपमा गर्ने ।
- रिस नियन्त्रणमा राख्ने तथा मानसिक उत्तेजनामा नआउने ।
मधुमेह
- चिनी र चिनीबाट बनेको परिकार नखाने ।
- धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, बिँडी आदि) सेवन नगर्ने ।
- नुन र चिल्लो कम खाने ।
- खानासँगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा सेवन गर्ने ।
- गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
- दैनिक एक घन्टा हिँड्ने या खेतबारीमा हल्का काम गर्ने या सामान्य खेलकुदमा सहभागी हुने ।
- योगासन, ध्यान, प्राणायाम गर्ने ।
- लामो समयसम्म भोकै नबस्ने ।
मोटोपन
- मोटोपन नियन्त्रणमा राख्न तथा घटाउन चिनी र चिनीबाट बनेका परिकार नखाने ।
- घिउ, दही तथा बोसो र बोसोयुक्त मासुका परिकार नखाने ।
- फ्राई गरेको खाना नखाने ।
- कम तेल प्रयोग भएका परिकार खाने ।
- खाना खानुभन्दा अगाडि एक कचौरा हरियो सलाद खाने ।
- बेलुकीको खानामा दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खाने । भात नखाएकै ठीक ।
- शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । नियमित एक घन्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।
- प्रशस्त मात्रामा पानी पिउने । भोक लाग्दा फलफूल खाने । तर, केरा र आँप नखाने ।
- धूम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी आदि) सेवन नगर्ने ।
- योग, ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जीवन जिउने ।
- दैनिक ६ देखि ८ घन्टा सुत्ने ।
- बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने ।
युरिक एसिड
- रातो मासु (खसी, राँगा) नखाने । भित्री मासु कलेजो, मिर्गौला, गिदी पनि नखाने ।
- मदिरापान, धूम्रपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
- पानी प्रशस्त मात्रामा पिउने ।
- दैनिक ४५ मिनेटदेखि एक घन्टासम्म हल्का पसिना आउने गरी हिँड्ने ।
- योगासन, प्राणायाम (सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोमविलोम आदि) गर्ने ।
- दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकार नखाने या कम खाने ।
- जंक फुड तथा बेकरी उत्पादन (मम, चाउचाउ, केक, बिस्कुट आदि) कम खाने ।