लमजुङ, पुस १ –यतिबेला लमजुङका किसानहरुलाई उत्पादित अलैँचीको गुणस्तर निर्धारण गर्न भ्याइनभ्याई छ । अलैँचीको गुणस्तर छुट्याएसँगै उनीहरुले अलैँची बिक्रीसमेत गर्न थालेका छन् ।
जिल्लामा ६० प्रतिशतभन्दा बढी अलैँची बिक्री भैसकेको छ । गुणस्तर निर्धारण नगरी अलैँची बिक्री गर्दा नोक्सानी व्यहोर्नुपर्नेमा लमजुङका किसान सजग छन् ।
गुणस्तर अलैँची बेच्न सके राम्रो मूल्य पाउने र अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान स्थापित गर्न सकिने भएकाले नेपाल अलैँची व्यवसायी महासंघ लमजुङको पहलमा जिल्लाका अलैँची उत्पादक किसानहरुले अलैँचीको गुणस्तर निर्धारण गरी बिक्री गर्न थालेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
उहाँका अनुसार तीन किसिमले उत्पादित अलैँचीको गुणस्तर निर्धारण गरिन्छ । ठूलो दाना, नफुटेको, पुच्छर नभएको अलैँचीलाई गुणस्तरीय अलैँची मानिन्छ । यसलाई जम्बो जेठ (जेजे) भनिन्छ । पुच्छर नभएको, दाना मध्यम खालको भएको अलैँचीलाई ‘मिडियम साइज’मा राखिन्छ । पुच्छर भएको, टुटेफुटेको, तुलनात्मक रुपमा दाना सानो भएको अलैँचीलाई चलनचल्तीको अलैँचीको रुपमा लिइन्छ ।
किसानमा निराशा
विगतको तुलनामा जिल्लामा अलैँचीको उत्पादन घटेको र उत्पादित अलैँचीले पनि आकर्षक मूल्य नपाउँदा यहाँका अलैँची उत्पादक किसानहरुमा निराशा छाएको छ । गतवर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएको हो । यसवर्ष ६ सय क्विन्टल अलैँची उत्पादन हुने अलैँची व्यवसायी महासंघ लमजुङले अनुमान गरेको छ ।
वर्ष मात्रै जिल्लाका किसानहरुले गुणस्तरीय (जम्बो जेठ) अलैँची प्रतिकेजी १३ सयदेखि १४ सय रुपैयाँसम्म बेचेका थिए । मध्यम खालको अलैँची प्रतिकेजी १२ सय रुपैयाँसम्म बेचेका थिए । चलनचल्तीको अलैँची प्रतिकेजी १ हजार रुपैयाँसम्म बिक्री गरेका थिए ।
तर यस वर्ष किसानले गुणस्तरीय अलैँची प्रतिकेजी ६ सय ५० देखि ७ सय, मध्यम खालको अलैँची ६ सय ३० देखि ६ सय ६० र चलनचल्तीको अलैँची ६ सय रुपैयाँमा बेच्न बाध्य छन् । जिल्लामा झण्डै १६ हजारभन्दा बढी किसान अलैँची खेतीमा लागेका छन् ।
अलैँची कृषक एवम् व्यवसायी समेत रहनुभएका अजय तामाङले पछिल्ला वर्ष अलैँची उत्पादन र मूल्यमा गिरावट आउँदा किसानमा निराशा छाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार लमजुङमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारत पुग्छ । भारतबाट अन्य मुलुकमा बेच्ने गरिन्छ ।
नेपालको अलैँचीमा नक्क्ली अलैँची मिसाई बिक्री गरिनु, नेपालमा उत्पादित अलैँची भारतबाट तेश्रो मुलुक भित्रिनुले पनि अलैँचीको मूल्यमा बर्सेनि गिरावट आएको तामाङले बताउनुभयो ।