काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल विपक्षी गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेता नेपालले तत्काल एमालेको एकता सम्भव नदेखिएको बताएका थिए । नेता नेपालले तत्कालै आफूले गठबन्धनबाट बाहिरिनुपर्ने कुनै कारण नरहेको समेत बताएका थिए ।

‘हामी मिल्न सक्छौँ । तर, त्यसको आधार जेठ २ मा फर्किनु होइन । अब मुख्य मुद्धा प्रतिनिधिसभाको पुनस्थापना हो । २ जेठमा फर्किने अमूर्त कुराले हाम्रो सम्भव छैन,’ नेता नेपालले भनेको उदृत गर्दै एक नेताले खुलापत्रसँग भने, ‘गठबन्धनमा एउटा विश्वासको बातावरण तय गरौँ । यो प्रतिगमनविरुद्ध गठबन्धनलाई एकबद्ध बनाएर प्रतिवाद गरौँ ।’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा नेता नेपालले ओलीसँग मिल्न नसक्ने र गठबन्धनमै रहिरहने स्पष्ट पारेको बताए ।

देउवानिवासमा साँझ पाँच बजेदेखि नेताहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, एमाले नेता नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको कांग्रेसका महामन्त्री खड्काले बताए । उनको आइतबारको भेटघाट गठबन्धनको नियमित भेटघाट भएको र सो भेटमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा समीक्षा भएको बताए ।

‘धेरै नयाँ निर्णयहरु केही भएनन् । अहिलेको मुख्य मुद्धा भनेको सरकारको अकर्मण्यताको हो । सरकार सत्ता टिकाउनमा मात्रै व्यस्त हुँदा बाढीपहिरो र त्यसबाट पीडितको क्षतिपुर्ति, उद्धार र राहतको काममा असर पुगेको छ, कोभिड–१९ बाट प्रताडित श्रमिक र गरिबदुःखीले अहिलेसम्म सरकारका तर्फबाट कुनै सहयोग पाएका छैनन्, त्यस्तो समुदाय अहिले भोकभोकै मर्नुपर्ने अवस्था छ,’ महामन्त्री खड्काले भने, ‘न उपचार र न औषधी केही पनि नपाएको अवस्था सिर्जना भएको छ । हामीले पटक–पटक यसबारे सरकारको ध्यानाकर्षण गराएका हौँ । तर सरकारले सुनुवाई गरेको छैन ।’ उनले यी विषयहरुमा पुनः सरकारलाई दबाब दिने निर्णय गरेको बताए ।

तपाईको प्रतिक्रिया