काठमाडौँ । नेपालको  पुर्वी भागमा रहेको ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिकाले आफ्नै खर्चमा एमबिबिएस पढाउने भएको छ। सिरीजङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा सार्वजनिक गरेको एउटा कार्यक्रम हो ‘आफ्नै खर्चमा एमबिबिएस पढाउने’ कार्यक्रम । यो विषयमा थुप्रै समाचार आइसकेका छन् । हामीले यहाँ गाउँपालिकाले यस्तो कार्यक्रम ल्याउनुको कारण खोतलेका छौँ ।

सिरीजङ्गा गाउँपालिका ताप्लेजुङको सबै भन्दा पुर्वी सिमानामा रहेको गाउँपालिकाहो । लिम्बु भाषा तथा लीपी (सिरीजङ्गा) का सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवेको योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो । कुल क्षेत्रफल ४८१.०९ वर्ग कि।मी। रहेको यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५८०६ रहेको छ । विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा ९८५८६  यसै गाउँपालिकाको वडा नं ८, याम्फुदिनमा अवस्थित रहेको छ ।

ताप्लेजुङ्गको सदरमुकामदेखि करिब ८० किलोमिटरको दुरीमा रहेको यो गाउँपालिकामा अझैपनि सहज तरिकाले यातायात पुग्न सकेको छैन । सदरमुकामबाट गाउँपालिका जोड्ने कच्चिबाटो ४० किलोमिटरको दुरीमा रहेपनि बर्खायाममा बन्द हुने गर्दछ । मानवका न्युनतम आवश्यकता मध्येका शिक्षा, स्वास्थ, यातायात, सञ्चारको समस्या झेली रहेको सिरीजङ्गा गाउँपालिकाले सञ्चालन गर्न लागेको निःशुल्क एमबिबिएस कार्यक्रम अहिले लोकप्रिय बनेको छ ।

गाउँमा कुनै अप्राकृतिक कारणले मान्छेको मृत्यू भएपनि पोस्टमार्टम गर्न समेत डाक्टर नहुँदाको पिडा बोध गरेर गाउँपालिकाकै लगानिमा डाक्टर उत्पादन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ्गले जानकारी दिए । उनि भन्छन् , ‘गाउँपालिकामा एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दि भएपनि दुर्गम भएकाले कोहि आउन मान्दैनन् । कोहि आएपनि एक महिना दुई महिना बस्छन् । धेरै टिक्न सक्दैनन् ।’

गाउँपालिकाले बारम्बार स्वास्थ्य मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा डाक्टर पठाई दिन बारम्बार अनुरोध गर्दा समेत कोहि आउन नमान्ने गरेको गुनासो गर्छन अध्यक्ष गुरुङ्ग । उनि भन्छन्, ‘हामीले बारम्बार मन्त्रालय मै गएर डाक्टरको माग गर्यौ । डाक्टर उपलब्ध भएन । आफैले दरबन्दी आह्वान गर्दा समेत दुर्गम भनेर कसैले आवेदन दिएनन् । तोकिएको तलब भन्दा थप ५० हजार दिने निर्णय गरेपछि अहिले एकजना एमबिबिएस डाक्टरले काम गरिरहेकाछन् । उहाँ नै हो गाउँपालिकामा लामो समय बस्नुभएको ।’

गाउँपालिकाका नागरिकहरुले न्युनतम शिक्षा र स्वास्थ्यबाट बन्चित नहुन भनेर नै निःशुल्क एमबिबिएस अध्यापन गराउने निणर्य कार्यपालिकामा पेश गरेको अध्यक्ष गुरुङ्गको भनाई छ । उनि भन्छन् , ‘गाउँपालिकाको खर्चमा एमबिबिएस अध्ययन पुरा गरिसकेपछि विद्यार्थीले अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने प्रावधान गरिएको छ जसले गर्दा स्थानिय स्तर मै डाक्टर उत्पादन भएपछि अभाव झेल्नु पर्दैन ।’

गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ्ग नेपाली काँग्रेसबाट स्थानिय तहको चुनावमा निर्वाचित भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए गरेका गुरुङ्ग विद्यार्थी राजनितिबाट आएका हुन् ।

यो सँगै गाउँपालिकाले ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ठ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ । यस्तै कक्षा ८ को वार्षिक  परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।

गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो । ‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मिएका हुन ।

तपाईको प्रतिक्रिया