पुस १ – राहुल गान्धीले कांग्रेस आइको नेतृत्व औपचारिक रुपमा सम्हाल्नुभएको छ । निर्विरोध पार्टी अध्यक्षमा चुनिएका राहुलले आफ्नी आमा सोनिया गान्धीलाई विस्थापित गर्दै पार्टी अध्यक्षको जिम्मेवारी शनिबारदेखि औपचारिक रुपमा सम्हाल्नुभएको हो । अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गर्नुभएको छ । अंग्रेजी अनि हिन्दीमा भाषण गर्दै राहुलले बिजेपीले देशभर हिंसा फैलाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘एकपटक आगो लाग्यो भने निभाउन मुश्किल हुन्छ, यो कुरा हामीले बिजेपीलाई बुझाउने प्रयास गरिरहेका छौँ । किनकी उनीहरु अहिले देशभर हिंसा फैलाउने प्रयासमा छन् ।’

देशमा लाग्दै गएको हिंसाको आगो निभाउने एक मात्र शक्ति कांग्रेस रहेको र कांग्रेसका नेता तथा कार्यकर्ता भाजपाले फैलाएको हिंसाको आगो निभाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । भाजपाले राजनीतिको प्रयोग नागरिकलाई बलियो बनाउनका लागि नभइ दबाउनका लागि गरिरहेको उहाँको आरोप छ । यसले गर्दा नागरिक राजनीतिबाट निराश रहेको राहुल गान्धीले बताउनुभयो । यस्तै कांग्रेस अध्यक्ष राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पछि धकेलेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘कांग्रेसले भारतलाई २१ औं शताब्दीसँग मिल्ने देश बनायो तर प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई पछि धकेल्दै मध्ययुग तर्फ लैजाँदै गरेको देखिँदै छ । मानिसलाई अरु भन्दा फरक भएकै आधारमा बर्बर रुपमा हत्या गर्ने युग तर्फ भारतलाई लैजाँदै हुनुहुन्छ उहाँ ।’

भिन्न भएकै आधारमा हुने गरेको हिंसाका कारण भारतको इज्जत अन्तर्राष्ट्रिय स्तरमा नराम्रो बन्दै गएको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री मोदी अहिले पूरै देशको आवाज आफू मात्रै बनेर बसेको र सबै योग्यता तथा विशेषज्ञतालाई किनारा लगाएको राहुलको आरोप छ । मोदीमाथि राहुलको यो अहिलेसम्मकै ठूलो आक्रमकम आरोप हो ।

तपाईको प्रतिक्रिया