नमुना तस्विर ।

गुराँस न्युज । तेह्रथुम । छथर गाउँपालिका–१, आङ्दिमका ज्ञानेन्द्र कार्की ७ वर्ष विदेश बसेर आएपछि फेरि पनि विदेशिने सोचमा थिए । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेशिनेक्रम बढ्दो छ । तर, उनीहरूमध्ये कमैले मात्र सोचेका हुन्छन् कि, मेहनत गर्दा स्वदेशमै रोजगारी सिर्जना हुन्छ भनेर ।
एकपटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको बताए । पछि उनले एकपटक घरै बसेर केही गर्ने सोच बनाए । अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने कार्कीले प्रमाणित गरिदिए ।
त्यत्तिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उनले अहिले घरैमा बसेर वार्षिक १२ लाखभन्दा बढी कमाइ गर्छन् । उनको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झन्डै २० लाख लगानी भइसकेको छ । सुरुमा आफैंले ऋण काढेर ३ लाख लगानीले थालेको व्यवसायमा अहिले २ लाख थपेका छन् । प्राइम बैंक र कृषि विकास बैंकबाट ५÷५ लाख कर्जासमेत लिएका छन् ।
फार्म सञ्चालननिम्ति स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताए । दुई वर्षमा उनले फार्मको खर्च कटाएर १० लाख ऋण चुक्तासमेत गरिसकेका छन् । उनका अनुसार फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर ४५ देखि ५५ रुपैयाँसम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक १ लाख २० हजार आम्दानी गरिरहेका छन् । ‘अहिले दूधबाट मात्रै ६० हजारसम्म बचत हुन्छ,’ उनले भने ।
विदेशबाट फर्किएपछि गाउँमा गाईपालन थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको पनि कार्कीले सुनाए । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ गएका थिए ।
‘विदेशमा धेरै मेहनत गर्नुपर्छ,’ कार्कीले भने, ‘घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ ।’
तर, अहिले भने उनी स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट छन् । ‘यहाँ कमाइ पनि छ, जोखिम पनि छैन,’ उनले थपे, ‘सुख–दुःख साट्ने परिवार पनि साथै छ ।’
एकबेला रोजगारी नपाएर विदेशिएका कार्कीले अहिले आफ्नो गाई फार्ममा ३ जनालाई रोजगारीसमेत दिएका छन् । गाईको रेखदेख, घाँस काट्ने, खोले र दानापानी खुवाउने, दुहुनेलगायत काम उनीहरूले गर्छन् । अब गाईको संख्या बढाएर १५ वटा पु¥याउने उनको योजना छ ।
कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेतीसमेत गरेका छन् । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उनको भनाइ छ । युवालाई कृषि पेसामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ ।

तपाईको प्रतिक्रिया