काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभर ठूलो जनधनको क्षति गरिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन भारी वर्षा हुनेछ । जसका कारण नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा कायमै छ । भौगर्भिक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

विपद्को जोखिम कायमै रहेका कारण उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाउने ‘देवदूत’ बनेका छन् । विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन् । आफ्नो ज्यानको बाजी थापेर उनीहरू उद्धारमा खटेका छन् ।

सम्भावित विपत्बाट पीडितलाई उद्धार गर्न तीनवटै सुरक्षा अंगलाई हाइअलर्ट रहन निर्देशन गरेको छ । निर्देशनअनुसार ७७ वटै जिल्लामा तीनवटै सुरक्षा अंगका सुरक्षाकर्मी तयारी अवस्थामा रहेका छन् ।

सरकारले स्थानीय तह, सम्बन्धित जिल्ला अधिकारी, सामाजिक संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । गृह मन्त्रालयको समन्वयमा सुरक्षाकर्मी परिचालन भएका छन् । सामाजिक संस्था परिचालन तथा उद्धारका बाँकी काम भने गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भइरहेको छ ।

गृहका सूचना अधिकारी खुमाकान्त आचार्यले विपत् न्यूनीकरण र उद्धारमा खटिन मातहतका सबै सुरक्षा अंगलाई अलर्टमा रहन निर्देशन भएको बताए ।

उनले भने, ‘बाढी–पहिरोबाट हुने सम्भावित क्षति रोक्न सरकार सक्रिय छ । उद्धारका लागि हाइअलर्टमा रहन मातहतका सबै सुरक्षा निकायलाई निर्देशन गइसकेको छ । सम्बन्धित सिडिओ कार्यालयलाई पनि अलर्टमा रहन र सामाजिक संघसंस्था, स्थानीय तहलाई परिचालन गर्न भनिएको छ ।’

नेपाल प्रहरीले ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई अलर्ट रहन भनेको छ । पीडितको उद्धारमा लाग्न, राहत सामग्री वितरणमा सघाउन निर्देशन छ । तराई क्षेत्रमा हुन सक्ने प्रकोप न्यूनीकरण गर्न र उद्धारका लागि मोटरबोट, रबरबोटलगायत सामग्री जिल्लामा पठाइसकिएको छ । नेपाल प्रहरीले यसका लागि विशेषगरी मातहतको प्रदेश प्रहरी कार्यालयमा जिम्मेवार बन्न निर्देशन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले आवश्यक उपकरणसहित नेपाल प्रहरीको टोली विपत् क्षेत्रमा खटिएको बताए ।

‘स्थानीय तहको सानो इकाइसम्म पुगेको नेपाल सरकारको सुरक्षा संरचना नेपाल प्रहरी हो । त्यसो हुँदा सानोभन्दा सानो विपत्को घटनामा पनि प्रहरी खटिनुपर्ने अवस्था छ । यसका लागि हामीसँग करिब आठ हजारको संख्यामा विपत्मा खटिने डेडिकेटेड टिम छ । प्रत्येक टोलीलाई आवश्यकताअनुसार प्रदेश, जिल्ला र तल्लो युनिटसम्म खटाएका छौँ । सबैलाई अलर्ट रहन हामीले भनेका छौँ,’ प्रवक्ता कुँवरले भने, ‘यसरी खटिएका टोलीमा कम्तीमा प्रदेश तहमा एक सय २५ र जिल्ला तहमा ३० जनाको टोली हुन्छ । सबै डेडिकेटेड टिम हो । उद्धारका लागि विभिन्न उपकरण पनि आवश्यक पर्छ । त्यो पनि उपलब्ध गराएका छौँ ।’

उनले सहकार्य गरेर आफूहरूले विपत् क्षेत्रमा काम गरेको बताए । ‘उद्धारमा नेपाल प्रहरीको मात्रै जनशक्तिले भ्याउँदैन । त्यसो हुँदा थप सहयोगका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्नुपर्ने हुन्छ । यसका लागि हामीले सबै तयारी गरेका छौँ,’ प्रवक्ता कुँवरले भने ।

गृहका अनुसार सशस्त्र प्रहरीले पनि मातहतका ७७ वटै जिल्लाका गुल्मलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ । उद्धारका लागि तयार विशेषज्ञ टोलीलाई पनि अलर्टमा रहन भनेको छ । सशस्त्रमा पनि त्यस्ता विशेषज्ञ टोली एक हजार पाँच सयको संख्यामा छन् । बाढीबाट उद्धार गर्न मोटर तथा रबरबोट तराईका जिल्लामा पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया