काठमाडौँ । यसवर्षको मनसुरु हुनेवित्तिकै आएको बाढीपहिरोले देशभर सात जनाको ज्यान गएको छ भने २७ जना वेपत्ता छन् । हजारौँ परिवार विस्थापित भएका छन् ।

बाढीका कारण सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एक जनाको मृत्यु भएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकमा २० जना वेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीबाट विस्थापित भएका छन् ।

बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार एकजनालाई नदीले बगाउँदै गरेको देखे पनि प्रहरीले समात्न सकेन । फेला परेका शव पनि सनाखत हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हेलम्बु गाउँपालिका– २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६५ वर्षीय टीकामाया खड्का र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का च्याङगा तामाङ, काली तामाङ, वडा नम्बर ३ की साइँली तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरा सुन्दरी– १ का विमल खत्री, राम थापा, सुवास जिरेल, कमल खत्री, होमराज घिमिरे र रेसमलाल सार्की बेपत्ता छन् ।

त्यस्तै, भारतीय नागरिकहरू कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिकहरू सन यु चुवान, यु चि झु र गोङ टियान छियो पनि बेपत्ता छन् । उनीहरू मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारी हुन् ।

मेलम्ची बजारबाट विस्थापित भएका पाँच सयमध्ये तीन सय स्थानीयलाई सेनाले आफ्नै क्याम्पमा राखेर खान–बस्नको व्यवस्था मिलाएको छ । दुई सयजनालाई मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै, हेलम्बु क्षेत्रबाट विस्थापित करिब पाँच सयलाई स्थानीयको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले खान–बस्नको व्यवस्था प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मेलम्चीमा ६ सय र हेलम्बुका करिब तीन सय बासिन्दा प्रभावित अनुमान गरेको छ ।

बाढीले पुल बगाउनुका साथै सडक कटान गरेकाले मेलम्ची–हेलम्बु सम्बन्धविच्छेद भएको छ । मंगलबार रातिबाटै विद्युत् आपूर्ति पनि अवरुद्ध भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन । जसका कारण हेलम्बु क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले तहसनहस गर्न थालेपछि मंगलबार साँझदेखि रातिसम्म नदी आसपासका बासिन्दा ज्यान जोगाउँदै उकालोतर्फ भागाभाग गरेका थिए । मुसलधारे पानी परिरहेकाले अन्धकार रातमा सुरक्षित स्थानतिर जान पनि उनीहरूलाई समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया