काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। भेटवार्तामा सबैभन्दा पहिले चुनाव जितेकोमा एकले अर्कोलाई बधाई दिएका थिए। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र दाहालबीच झन्डै आधा घन्टा भएको छलफलमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल भएको प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले बताए।

‘अब सबै प्रक्रियालाई अगाडि बढाउनुपर्छ। राष्ट्रपतिलाई विधेयक रोकेर राख्ने संवैधानिक अधिकार छैन। त्यो विधेयकलाई कसरी हुन्छ त्यहाँबाट अगाडि बढाउनुहोस्। विधेयक अड्काउने काम नगर्नुहोस्। म सत्ता छोड्न आतुर छु, तपाईँले ओलीसँग कुरा गरेर त्यसलाई अगाडि बढाउनुहोस्,’ भेटमा प्रधामन्त्रीले दाहाललाई भने। राष्ट्रपतिलाई कुनै पनि विधेयक रोकेर राख्ने अधिकार नभएको भन्दै देउवाले तुरून्त त्यसलाई पारित गराउन लाग्नुपर्ने बताए।

‘राष्ट्रपति कुनै पनि विधेयकहरू रोकेर राख्न, परामर्स गर्ने र फिर्ता गर्ने संविधानको अधिकार भित्र पर्दैन। त्यसका लागि धारा ६६ फेरि एक पटक पढ्नुहोस्। त्यसमा सबै लेखेको छ,’ देउवाले दाहाललाई भने,‘यसबाट राष्ट्रिय सभा पनि गठन हुन्छ। सरकार पनि गठन हुन्छ। जतिसक्दो चाडो म बालुवाटार छोड्न आतुर छु।’ भेटमा दाहालले यो मुलुक बनाउने दायित्व हामी तीनै दलको बराबर भएको भन्दै यसमध्यै सबैभन्दा ठूलो अभिभार लिएकोमा प्रधानमन्त्रीलाई बधाई दिए। ‘यो मुलुक बनाउने दायित्व हामी तीनै दलको हो। यस मध्ये झन तपाईँले चुनाव गराउनुभयो। बधाईको पात्र हुनुहुन्छ। तपाईँले ठूलो रिक्स लिएर चुनाव गराउनुभयो।

यसबाट ठूलो राजनीतिक गतिरोध अन्त्य भएको छ।’ दहालले राष्ट्रपतिकोमा अड्किएको विधेयक चाडै पारित हुनेमा प्रधानन्त्रीलाई आश्वास्त पारे। ‘राष्ट्रपतिकोमा अड्किएको विधेयकबारे म ओलीजीसँग पनि कुरा गर्छु तपाईँ ढुक्क हुनुहोस्,’ दाहालले भने। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया