सुनसरी ।  नेपालको डाँडा–पाखामा सिस्नोको झ्याङ जताततै हुन्छ । मन लाग्दा टिपेर तरकारीको रूपमा खाने नत्र त्यसै खेर गइरहेको हुन्छ । अचेल सहर–बजारमा हरियो सिस्नु वा धुलोको रूपमा बिक्री हुन थालेको छ । तर, त्यो ज्यादै न्यून मात्रामा हुन्छ । धरानका दर्जन युवाले भने डाँडापाखामा खेर गइरहेको जैविक घरेलु सिस्नुलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने उपाय खोजेका छन् । आफू र गाउँघरका किसानलाई पनि आत्मनिर्भर बनाउन धरान–१५, सुवेदी टोलका १४ जना युवाले जैविक सिस्नुको चिया उत्पादन सुरु गरेका छन् । लामो अनुसन्धान र परीक्षणपछि ती युवाहरूले नेटल धरान नेपाल नामक संस्था दर्ता गरेर जैविक सिस्नोको चिया (नेटल टि) उत्पादन गर्न थालेका हुन् ।

उनीहरूको उत्पादन शुक्रबारदेखि औपचारिक रूपमा बजारमा पुगेको छ । उक्त उत्पादनको एक कार्यक्रमबीच नवनिवार्चित प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेशसभा सदस्य प्रदीप भण्डारी, वडा १५ का अध्यक्ष नरेश ईवारम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष नेता भीम राई ज्वाला र संस्था अध्यक्ष डम्बर गुरुङले लन्च गरेका थिए ।
युवाका अनुसार गाउँघरमा खेर गइरहेको घरेलु सिस्नु संकलन गरेर प्रशोधन गरी चिया उत्पादन सुरु गरिएकाले ठूलो लगानी भएको छैन । स्थानीय स्रोत–साधन प्रयोग गरिएको र आफैंले श्रम गरेकाले करिब २० हजार जति मात्र लगानी छ । तर, आफ्नो श्रमको मूल्य पनि हिसाब गर्ने हो भने कम्तीमा पनि १० लाख पुग्ने लगानीकर्ता राजेश राई बताउँछन् । ‘हामी आफैं खटिएका छौं, त्यसैले धेरै लगानी देखिँदैन । तर, हामीले गरेको श्रमको हिसाब गर्ने हो भने १०–१२ लाख पुग्छ,’ उनले भने । भविष्यमा जैविक मल, अन्य चिया पनि उत्पादन गर्ने उनले बताए ।

आफ्नै गाउँघरमा खेर गएको स्रोत–साधनको उपयोग गरेर आर्थिक समृद्धि गर्ने उद्देश्यले लामो अध्ययनपछि मात्र उत्पादन सुरु गरेको संस्थाका सहसचिव गंगाराम कुलुङले बताए । उनका अनुसार विष्णुपादुका, भेडेटार, हर्दिया क्षेत्रबाट सुरुमा उनीहरूले नै सिस्नु खोजेर उत्पादन सुरु गरेका थिए । पछि गाउँलेबाट प्रतिकिलो ५० रुपैयाँमा सिस्नु खरिद गर्न थालेको उनले बताए । ‘स्थानीय स्रोत–साधनबाट हामी पनि आत्मनिर्भर हुने र किसानलाई पनि बनाउने भनेर प्रतिकिलो ५० रुपैयाँमा खरिद गर्न थालेका छौं,’ उनले भने, ‘यसले गाउँले किसान पनि लाभान्वित हुन्छन् ।’

घरेलु जैविक सिस्नसलाई डिहाइड्रेड च्याम्बरमा सुकाएर प्रशोधन गरी मसिनो धूलो बनाइन्छ । ती धूलोलाई प्याकेजिङ गरेर बजारमा बिक्रीका लागि पठाइने प्रोडक्सन मेनेजर गजेन्द्र राईले बताए । उनका अनुसार एक किलो सिस्नुबाट ७५ ग्रामसम्म चिया उत्पादन हुन्छ । हाल ३० ग्राम र ७५ ग्रामको प्याकेजिङ गरिएको छ । ३० ग्राम प्याकेटको मूल्य सय र ७५ ग्राम प्याकेटको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ । ‘कुनै पनि रासायनिक प्रशोधन र मिसावट नहुने भएकाले स्वास्थ्यलाई कुनै असर गर्दैन,’ अध्यक्ष डम्बर गुरुङले भने । हाल एक च्याम्बरमा मात्र उत्पादन भइरहेकोमा अब चाँडै नयाँ च्याम्बर बनाएर उत्पादन सुरु गरिने उनले खुलाए ।

कसरी भयो सुरुवात ?
खेर गइरहेको जैविक सिस्नुबाट चिया उत्पादन गर्ने श्रेय युवा माइक्रोबायोलोजिस्ट नरेश राईलाई जान्छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा माइक्रोबायोलोजी पढेका उनले जैविक सिस्नुबाट चिया उत्पादन गर्ने बारेमा लामो समय अध्ययन तथा अनुसन्धान गरे । उनले बेलायत, जर्मनका वैज्ञानिकले अनुसन्धान गरेर प्रकाशन गरेको जर्नल पेपर र सामग्रीको गहन अध्ययन गरेका थिए । त्यसक्रममा उनले थुप्रै मुलुकमा अग्र्यानिक नेटल टी बिक्री–वितरण भइरहेको पत्ता लगाए । ‘यो कुरा पत्ता लगाएपछि मैले ६ महिनासम्म पाइलट स्टिड गरें । र, आफैंले ट्रायलको रूपमा चिया सेवन गरे,’ राईले भने ।

पाइलट परीक्षण गरिरहँदा उनले बेलायतबाट एक व्यक्तिले नियमित रूपमा नेटल टी ल्याएर सवेन गरिरहेको थाहा पाए । उनले ती व्यक्तिलाई पनि आफूले ट्रायल गरिरहेको चिया सेवन गराए । ती व्यक्तिले बेलायतबाट ल्याएको नेटल टी जत्तिकै क्वालिटी भएको प्रतिक्रिया दिएपछि उनी उत्साहित मात्र भएनन्, आफ्नो अनुसन्धानलाई उत्पादनमुखी बनाएर बजारसम्म लैजाने सोच बनाए । ‘त्यसपछि मात्र संगठित भयौं । नेटल धरान नेपाल संस्था दर्ता गरेर उत्पादन सुरु ग¥यौं,’ माइक्रोबायोलोजिस्ट नरेशले भने, ‘माइक्रोबायोलोजिस्ट हुँ, त्यसैले उपभोक्ताको स्वास्थय अधिकार, उत्पादनको गुणस्तर सबै कुरामा सचेत छौं ।’ नेटल धरानमा डम्बर गुरुङ अध्यक्ष छन् भने रोहित कुलुङ, सचिवमा लोकराज निरौला, गंगाराम कुलुङ, कोषाध्यक्ष खगेन्द्र राई कुलुङ छन् भने सदस्यमा श्रीजंग राई, राजेश राई, गजेन्द्र राई, राजकुमार कुलुङ, चन्द्रमान श्रेष्ठ, डाकमान राई, उमेश भटराई, दिलकुमारी राई र गणेश राई छन् ।

‘नेटल टी’ बाट के फाइदा हुन्छ ?
वैज्ञानिक नाम अर्टिका डायोका भएको सिस्नु नेपालको डाँडापाखा जहीं पनि पाइन्छ । नेपालमा यसलाई घरेलु सिस्नु भनिन्छ । माइक्रोबायोलोजिस्ट राईका अनुसार जर्मन वैज्ञानिकले गरेको खोजमूलक लेखमा संसारको सबैभन्दा पौष्टिक आहार सिस्नु भएको उल्लेख छ ।  राईका अनुसार भिटामिन ए, सि, के, बी हुन्छ भने आइरन, क्याल्सियम, पोटासियम, फोस्फोरस, म्याग्नेजियम, जिंकजस्ता मिनरल्स पनि पाइन्छ । यस्तै, बिटा क्यारोटिन, क्लोरोफिल, एन्टिहिस्टामाइन, एमिनो एसिडलगायत फाइटो न्युट्रियन्स तत्त्वहरू पाइन्छ । ‘यी तत्त्वहरू मानिसको शरीरलाई अत्यावश्यक तत्त्व हुन्, यी सबै एउटै परिकार सिस्नुमा पाइन्छ ।

अरू कुनैमा पनि पाइँदैन,’ मायक्रोबायोलोजिस्ट राईले भने, ‘यसले डाइबिटिज, उच्च रक्तचाप, ग्यास्टिक, पायल्सको जोखिमबाट जोगाउँछ । मूत्र प्रणालीको इन्फेक्सनबाट मृगौला जोगिन्छ, बाथ, हड्डी गल्ने रोग निर्मुल हुन्छ र मुटुको रक्तसञ्चारमा स्फुर्त ल्याउँछ ।’ माइक्रोबायोलोजिस्ट राईका अनुसार जैविक सिस्नुबाट बनेको चिया औषधि गुण भएको क्याफिन फ्री उत्पादन हो । अन्य सामान्य चिया र कफीमा क्याफिनको मात्रा बढी हुनाले मन्द विषको रूपमा मानिसको स्नायु प्रणालीमा असर गर्छ । तर, क्याफिन फ्री चियाले कुनै हानी गर्दैन ।

पिउने तरिका
तातो पानी उमालेर एक जनाको निम्ति हो भने सानो चम्चा वा एक चिम्टी नेटल टी हाल्ने । त्यसपछि हल्का चलाउने र आगो निभाउने । कम्तीमा १० मिनेट छोपेर राखेपछि नेटल टी पिउन योग्य हुन्छ । छानेर वा नछानी पिउन सकिन्छ । नेटल धरानका अनुसार सामान्य व्यक्तिले बिहान, दिउँसो र बेलुका गरी दिनमा ३ कपसम्म मात्र नेटल टी पिउनु उचित हुन्छ । तर, न्यून रक्तचाप भएका व्यक्तिले भने दिनमा एक कप मात्र पिउन हुने माइक्रोबायोलोजिस्ट राईले बताए । औषधि गुण हुने भएकाले गर्भवती महिलाले भने सेवन गर्न नहुने माइक्रोबायोलोजिस्ट राईले बताए । उनले भने, ‘अरूलाई धेरै फाइदा हुने भए पनि गर्भवतीलाई यो टी पिउन उचित छैन । गर्भवतीले त अरू औषधी पनि सेवन गर्न हुँदैन, यो टी पनि त्यस्तै हो ।’

तपाईको प्रतिक्रिया