काठमाडौँ, १ पुस । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने भिजन पाँच मिलियन योजना’ सार्वजनिक गरेको छ । बुधबार पाटाको ४१औँ साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो । पाटाले भिजन पाँच मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गरी पर्यटकलाई नेपाल ल्याउन पहल गर्नेसमेत जनाएको छ ।
पाटाले संयुक्त राष्ट्रसङ्घको पर्यटनसम्बन्धी दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो । साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँले भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो सङ्ख्यामा नेपालमा पर्यटक आउँछन, उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले पर्यटनमार्फत मुलुकको आर्थिक विकास सम्भव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटकीय सम्भावना बोकेका नयाँ गन्तव्यको खोजी गरी व्यापक प्रवद्र्धनमा साझेदारी भए योजनाले सार्थकता पाउने बताउनुभयो । पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको उल्लेख गर्नुभयो ।
पाटाको ४१औँ साधारणसभाले पर्यटन व्यवसायी सुनील शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।