प्रकाश पाक्साँवा,

तेह्रथुम ।पूर्वी नेपालको तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको युमा संग्रहालय ऐतिहासिक तथा पुरातात्विक संग्रहालयको रूपमा परिचित हुन थालेको छ ।

मानव जनजीवनमा जन्मदेखि मृत्युसम्म प्रयोग गरिने वस्तु संकलन गरी संग्रहित गर्न थालिएसँगै संग्रहालय परिचित हुन लागेको हो ।

खास गरी लिम्बु समुदायमा प्रयोग हुने ऐतिहासिक तथा पुरातात्विक सामग्री राखिएका छन् ।

पर्यटकीय गन्तब्यको रूपमा चिरपरिचित तिनजुरे–मिल्के–जलजले क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजारनजिकै निर्माण गरिएको यो संग्रहालय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ ।

चो?लुङ पार्कको काखमा बनाइएको यो संंग्रहालय आदिम सभ्यताको रूप रहेको लालीगुराँस नगरपालिकाका मेयर अर्जनु माबोहाङको भनाइ छ ।

गोर्खाली फौज र लिम्बुवानबीच लडाइँ हुँदाका समयमा प्रयोग गरिएका हात हतियार, लिम्बु समुदायले प्रयोग गर्ने भेषभुषा राखिएका छन् ।

त्यस्तै मावन जीवनमा प्रत्यक्ष रूपमा आवश्यक हुने पुरातात्विक तथा ऐतिहासिक बहुमूल्य सामग्री संग्रहालयमा संकलन भइरहेका छन् ।

संग्रहालय निर्माणले इतिहासलाई जीवन्त राखेको संग्रालय अवलोकनमा पुगेका पर्यटक महेन्द्र मादेनले बताए ।

लालिगुराँस नगरपालिकाले यहाँ बसोबास गर्दै आएका विभिन्न जातजातिको इतिहासलाई संरक्षण गर्ने उद्देश्यका साथ संग्रहालय निर्माणमा वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ ।

संग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो रहेको स्थानीय रविकिरण मादेनले बताए ।

यहाँ राखिएका आदिम सभ्यताका सामग्री अवलोकनका लागि पर्यटकको आकर्षण चुलिन थालेको छ । ऐतिहासिक तथा पुरातात्विक संग्रहालय मात्र नभई नेपालमा नै पर्यटन विकासमा टेवा पुगेको छ ।

तपाईको प्रतिक्रिया