संखुवासभा । संखुवासभामा १९ हजार ४ सय ३० मत बदर भएको छ । प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षमा भन्दा धेरै समानुपातिक तर्फ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय २३ मत खसेकोमा प्रत्यक्षमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । तर समानुपातिक तर्फ भने ४ हजार ८ सय ८२ मत बदर भएको हो । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ भन्दा १६ सय २६ मत बढी समानुपातिकमा बदर भएको हो ।
प्रत्यक्ष तर्फ प्रदेशसभा क मा १ हजार २ सय ११ मत बदर भएको थियो । समानुपातिक तर्फ ४ हजार ४ सय ६ मत बदर भएको थियो । यस्तै प्रदेशसभा (ख) मा १ हजार ३ सय २ मत बदर भएकोमा समानुपातिक तर्फ ४ हजार ३ सय ७३ मत बदर भएको छ । प्रदेश क मा ३३ हजार ४ सय ९६ र (ख) मा ३५ हजार ६ सय ९७ मत खसेको थियो ।
जिल्लामा १ लाख ५ हजार ४६ मतदाताले १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा मतदान गरेका थिए । प्रत्यक्ष तर्फ थोरै निर्वाचन चिन्ह र समानुपातिकमा धेरै चिन्ह भएका कारण बदर मतको संख्या बढेको कार्यालयले जनाएको छ । समानुपातिक तर्फ एउटै मतपत्रमा प्रदेश र प्रतिनिधिसभाको मत प्रयोग गर्नुपर्ने भएकोले समेत बदर मत बढेको कार्यालयको भनाइ छ । बदरमतको सङ्ख्या घटाउन मतदाता शिक्षाका लागि स्वयमसेवक खटाइए पनि प्रभावकारी नभएको मतदाताहरुले बताएका छन् ।