इलाम, पुस १ – इलाममा प्रदेशसभा र प्रतिनिधिसभा र स्थानीय तहमा खसेको मध्ये ३१ हजार भन्दा बढी मत बदर भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलाममा प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फको मत बढी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय इलामले जनाएको छ ।

प्रदेशसभाको समानुपातिकमा १३ हजार ४ सय ६८ मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिकमा ८ हजार ६७ मत बदर भएको छ । यस्तै दुई प्रतिनिधिसभाको प्रत्यक्षमा ५ हजार १५ मत बदर भएको छ भने चार प्रदेशसभाको प्रत्यक्षमा ४ हजार ६ सय १९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार बदर भएका मतमा धेरैजसो मतपत्रमा ल्याप्चे लगाएको र भएकाजति सबै चुनाब चिन्हमा छाप लगाइएका, चुनावचिन्ह भएको घेराभन्दा बाहिरतिर छाप लगाइएका मतपत्र भेटिएका थिए  । सरकारले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्नु र राजनीतिक दलहरुले पनि चुनावी प्रचारको क्रममा मतदातालाई भोट हाल्ने तरिका नसिकाउनु, उम्मेदवार आफूले रोजेको नपरी अर्कै व्यक्ति उम्मेदवार हुनु नै धेरै मात्रामा मत बदर हुनुको कारण भएको इलाम नगरपालिका– ४ का राजेन्द्र निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रातिर त मतदाता शिक्षाका लागि कोही पनि आएनन् । यस्ता लापरवाहीका कारण मतदाताले आफूले रोजेको उम्मेदवारलाई दिएको मत बदर हुन पुगेको हो ।’

जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले भने निर्वाचनका बेला छोटो समयमा सबै तयारी गर्नुपर्दा मतदाता शिक्षा भनेजस्तो गरी सञ्चालन गर्न नसकेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा इलाममा १ लाख ३८ हजार ५ सय ६५ मत खसेकोमा ९ हजार १ सय ६५ मत बदर भएको थियो । स्थानीय तहको  चुनावमा जिल्लामा १ लाख ७८ हजार ९३ मतदाता थिए भने प्र्रतिनिधि तथा प्रदेशसभा चुनावमा २ लाख ४ हजार ४६ जना मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया