गुराँस न्युज । तेह्रथुम, १ पुस । जिल्लाबाट दोश्रो पटक चुनाव जितेपछि आयोजित विजयोत्सवको कोण सभालाई सम्बोधन गर्दै एमाले नेता भवानीप्रसाद खापुङले भन्नुभयो, ‘अहिलेसम्म संक्रमणको काल थियो, अब वाम–गठबन्धनको स्थायी सरकार बन्छ, आर्थिक समृद्धि र विकासको लहर सुरु हुन्छ ।’ विजयी नेता खापुङले यसअघि संविधान सभाको सदस्य हुँदा अधिक समय संविधान निर्माणमा बित्यो, अब विकासका काममा ध्यान लगाउँछौँ, भन्नुभयो ।

०६४ मा कांग्रेसका तुलसी सुब्बासँग पराजित खापुङ ०७० मा सुब्बालाई नै पराजित गरेर संविधान सभा छिर्नुभयो । दोश्रो पटक जिल्लाबाट निर्वाचित खापुङले अब सडक निर्माण, सिंचाई, खानेपानी लगायत पुर्वाधार विकास प्राथमिकतामा राख्ने बताउनुभयो । कोण सभामा बोल्दै विजयी एमाले नेताहरुले जिल्लालाई नमुना बनाउन भूमिका खेल्ने बताए ।
प्रदेश सभा (ख) क्षेत्रमा निर्वाचित एमाले नेता तेजमान कन्दङवाले आफ्नो क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गर्नुभयो । ‘जनप्रतिनिधि नहुँदा विकासका काममा अनियमितता थियो, अब त्यस्तो हुन दिन्नँ, तब आफैँ विकासका काम देखिन्छ,’ उहाँले भन्नुभयो ।

प्रदेश सभा (क) बाट निर्वाचित एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले जिल्लालाई प्रदेश नंं.१ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बताउनुभयो । ‘यहाँ अमुल्य प्राकृतिक छँटाले कुँदिएको तीनजुरे पहाड छ, नेपालकै अग्लो ह्यात्रुङ, गुराँस र दर्जनौँ प्राकृतिक ताल पोखरीहरु छन्, यी नै जिल्लाको समृद्धिका आधार हुन्,’ उहाँको तर्क छ ।
चुनाव जितेका उम्मेदवारले विजयोत्सवमा विकास र समृद्धिका प्रतिवद्धता जनाउँदै गर्दा चुनाव हारेका कांग्रेस उम्मेदवारले सञ्चारकर्मीलाई बोलाएर अबका पाँच वर्ष जनताको काम गर्ने बताउँदै थिए । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पुर्वाधार राज्यमन्त्री समेत रहनुभएकी कांग्रेस नेतृ सीता गुरुङले भन्नुभयो, ‘विकासका हिसाबले जिल्ला धेरै पछाडि छ, त्यसका निम्ति सबैले राजनीति भन्दा माथि उठ्न सक्नुपर्छ ।’

दुई पटक समानुपातिकबाट सांसद भएर काम गरिसक्नुभएकी नेतृ गुरुङ प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार बन्नुभएको थियो । समानुपातिक सांसद हुँदा पुरा गर्न नसकेका काम निर्वाचित सांसद भएर पुरा गर्छु, भनेकी नेतृ गुरुङले चुनाव हारेपछि पनि निरन्तर जिल्लाको विकास निर्माणकै लागि लागिरहने प्रतिवद्धता जनाउनुभयो । सरकारमा रहुन्जेल जिल्लाका सडक, सिंचाई, पुल–पुलेसा लगायत पुर्वाधार विकासका काम अगाडि बढाउने उहाँको भनाइ थियो ।
राज्यमन्त्री गुरुङले जिल्लाका सडक निर्माण लगायत अन्य पुर्वाधार विकासका एजेण्डा प्राथमिकतामा परेपनि आफु सरकारमा पुग्नासाथ आचारसंहिता लागेकाले काम गर्न नपाएको बताउनुभयो । पराजित कांग्रेस उम्मेदवारहरु जिल्ला सभापति गोविन्द ढुंगाना र नेता विजय सम्बाहाम्फेले पनि चुनाव हारेपनि पाँच वर्षसम्म काम गरेर जनताको मन जित्ने बताउनुभयो ।
चुनाव अघि मतदाताको घरदैलो पुग्दै गर्दा भाषणमा विकासे एजेण्डा बोलेका नेताहरु चुनावपछि पनि अडिग देखिए । विजयी नेताहरुले चुनावी अभियानमा बाँडेका एजेण्डा पुरा गर्ने बताउँदै गर्दा हारेका नेताहरुले पनि विकासकै चिन्ता लिएका छन् ।
त्यसो त तेह्रथुम जिल्ला त्यस्तो जिल्ला हो, जहाँबाट यात्रा टुंगिन्छ । ०५० सालतिरै तेह्रथुममा सडक भित्रियो, अहिले पनि निर्माणाधीन सडक पाँच सय किलोमिटर भन्दा बढी छ । तर एउटा पनि बाह्रै महिना सवारी सन्चालन योग्य छैनन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गतका दुई खोलामा पुल नहुँदा पुर्वी क्षेत्रका दुई गाउँपालिकाको सदरमुकामसँग सीधा सडक सम्पर्क जोडिएको छैन ।
म्याङलुङ्ग–ओख्रे खण्डको लम्बु खोलामा पुल नहुँदा छथर म्याङलुङ्गको सम्बन्ध उही दुरीको छ । तेह्रथुम अहिलेसम्म पनि छिमेकी पाँचथर र ताप्लेजुङसँग सीधा सडक सम्पर्कमा छैन । पुर्वी तराई झर्न कोशी राजमार्ग भएर धरान हुँदै फन्को मार्नुपर्छ । दक्षिण एसियाकै अग्लो ह्यात्रुङ (३६५ मिटर) झरना संरक्षण अभावमा पानीविहीन बन्दैछ । २८ प्रजातिका गुराँस पाइने बन नाँङ्गिदैछ ।
संरक्षण र पर्यटन प्रवर्धनको अभियानले गति लिएको छैन । सबैतिर विजुली बत्ती पुगेको छैन् । तमोर तटीय बस्तीमा खानेपानी छैन, बसाइ सराईले गाउँ रित्तिदै छन् । शैक्षिक संस्थाहरु रित्तिदैछन् । राजनीतिक दलका नेता र जनप्रतिनिधिले जिल्लाको विकासको दुरावस्थालाई यसअगाडि प्राथमिकतामा राखेर काम गर्न सकेका छैनन् ।
०४६ पछि विकासको क्रम सुरु भयो, तर जिल्लाले एक पटक पनि त्यस्तो मौका पाएनँ, जहिले जिल्लाको एउटा मात्रपनि नेता सरकारमा पुगोस् र जिल्लाको विकासमा टेवा पु¥याओस् । विकासको गति सुस्त भएकै कारण जिल्लाको समृद्धि अलमलिएको सरोकारवाला बताउँछन् ।

लामो समयदेखि अलमलिएको विकासको गतिलाई द्रुत बनाउन अबको आवश्यकता भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना बताउनुहुन्छ । ‘दलहरुले चुनावमा राजनीति गर्नु, अरु बेला मिलेर जिल्लाको विकासमा लाग्नुपर्ने देखिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘विकासको हिसावले जिल्लाको दुरावस्था देख्दा नेताहरुलाई पनि लाज लाग्नुपर्छ ।’ पत्रकार तिम्सीनाले विजयीले नेताले सही एजेण्डा रोज्ने र प्रतिपक्षीले साथ दिनुपर्ने अहिलेको आवश्यकताको भएको बताउनुभयो ।

जिल्लाको विकास र समृद्धिको आवश्यकता सम्बन्धमा नेताहरु पनि पुर्ण जानकार छन् । मतदाताका घरदैलोमा पुग्दा उनीहरुले तेस्र्याउने मागले जिल्लाको विकासमा सर्वदलीय प्रतिज्ञाको खाँचो भएको महसुस गरेको कांग्रेस युवा नेतृ तथा राज्यमन्त्री गुरुङको भनाई छ । ‘मतदाताको अहिलेको आवश्यकता पुर्वाधार विकासनै हो, सडक, पुल, खानेपानी र स्वरोजगारी धेरैले राखेका माग हुन्,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया