०७२ असोज ७ । राजधानीको एक रेस्टुरेन्टमा भएको कुराकानीका क्रममा हाल नयाँशक्ति संयोजक बाबुराम भट्टराईले माओवादी पार्टी छाड्ने संकेत गरे। माओवादीलाई नै नयाँशक्तिमा रुपान्तरण गर्ने आफ्नो ३ वर्षको प्रयास सफल नहुँदा निकै गलेका थिए उनी। ‘अब बाहिरबाट विकल्प खोज्ने बेला भयो’, उनले भनेका थिए।
सोही दिन उनले आफ्नो समेत अग्रसरता र हस्ताक्षरमा जारी संविधान विरुद्ध वक्तव्य जारी गरेका थिए।
‘संविधानसभाबाट संविधान जारी भएपछि पनि मुख्यतः तराई–मधेस र देशका विभिन्न ठाउँमा चलिरहेका आन्दोलन साम्य हुनुको सट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भएको छ। विगतको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायत जनताको संघर्षका क्रममा उठेका मुद्दाहरूलाई नयाँ संविधानमा पर्याप्त रूपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको प्रक्रियामा सबै सरोकारवालालाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण हो’, उनको विज्ञप्तिमा छ।
कुराकानी चलिरहँदा उनले संविधानको विरोधमा आन्दोलनरत मधेसकेन्द्रित दलका महन्थ ठाकुर, उपेन्द्र यादव लगायत नेतालाई पनि फोन गरिरहेका थिए। भनिरहेका थिए, ‘तपाईंहरु वातावरण बनाउनुस्, म पनि विरोधसभाहरुमा सम्बोधन गर्न आउँछु।’ तर, स्थानीय संघर्ष समितिले बाबुरामले पनि संविधानमा हस्ताक्षर गरेकाले मधेस पस्न नदिने, आउने भए सांसदबाट राजीनामा गरेर आउन चेतावनी दिइरहेका थिए। यसकारण पनि बाबुराम त्यसदिन निकै द्विविधाग्रस्त देखिन्थे।
त्यसको केही दिनअघि मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘बाबुरामजी आफैंमा जटिल प्रश्न हो। मैले ३० वर्ष झेलेँ, अरू कसैले १ वर्ष झेलेको हेर्न असाध्यै रहर छ।’ दाहालले पछिल्लो समय दुईबीच बढ्दै गएको तिक्ततापूर्ण सम्बन्धको पटाक्षेप मात्र गरेनन्, अरू कसैले झेलेको हेर्ने रहर बताएर भट्टराई बाहिरिए पनि फरक नपर्ने आशय व्यक्त गरे।
त्यसदिनको भेटमा मैले प्रचण्डको त्यो अभिव्यक्तिबारे भट्टराईको प्रतिक्रिया जान्न चाहेँ। भट्टराईले भने, ‘३० वर्ष मैले झेलेँ कि प्रचण्डले, त्यो इतिहासले मूल्यांकन गर्नेछ।’
भट्टराई पार्टी छाड्ने मनस्थितिमा पुगिसकेका रहेछन्। आफ्नो यो योजना ४ जना, त्यो पनि पार्टीकालाई मात्र सुनाएको उनले बताए। त्यसबेला रसियामा रहेका श्रीमती हिसिला यमी र छोरी मानुषीलाई पनि यसबारे जानकारी नरहेको उनको भनाइ थियो।
भट्टराईले भनेका थिए, ‘असोज १० गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा आफ्ना कुरा निर्णायक ढंगले राख्छु। त्यसपछि निर्णय लिन्छु।’
मैले ‘यसबारे समाचार बनाउँदा हुन्छ ?’ भनेर सोधेँ। किनकि म अनौपचारिक कुराकानीका लागि निम्त्याइएको थिएँ। ‘सीधै मिति–तिथि तोकेर त नगर्नुस्, मिलाएर लेख्नुहोला नि’, उनको भनाइ थियो। भोलिपल्ट असोज ८ मा मैले त्यसबेला काम गर्ने कान्तिपुरमा आधा पृष्ठभन्दा बढीको मेरो टिप्पणी प्रकाशित भयो, ‘विकल्प खोज्दै भट्टराई’ शीर्षकमा।
असोज १० को बैठकमा कुरा राखेर निर्णय लिन्छु भनेका भट्टराईले असोज ९ मै पार्टी र सांसद पदबाट राजीनामा दिए। मधेस झरेर त्यहाँको जनमत आफ्नो पक्षमा पार्न उनी यति हतारोमा थिए कि, पार्टीबाट एक्लै बाहिरिए। भलै पछि उनको नयाँशक्ति निर्माणका अभियानमा माओवादीबाट अन्य नेता पनि जोडिए र अहिले छाडि पनि सकेका छन्।
नयाँशक्ति गठनपछि भट्टराईले सुरुवाती चरणमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग निकटता बढाए। दुई पार्टीबीच एकताको कुरा पनि चल्यो। स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा तालमेल पनि गरे। पहिलो र दोस्रो चरणको निर्वाचनमा नयाँशक्तिले फोरमको चुनाव चिह्न मसाल लिएर प्रतिस्पर्धा गर्यो। तर, नतिजा दुवैको पक्षमा देखिएन।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन मूलरुपमा पहाडी भूगोल र पहाडे मूलको जनसंख्या बढी भएको तराईका जिल्लामा भएको थियो। यस्तोमा नयाँशक्तिसँगको तालमेलले फाइदा नपुग्ने देखेपछि यादव उनीबाट टाढिए। स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यी दुई पार्टीबीचको एकता टुटिसकेको थियो।
‘हामीले अरुको चुनाव चिह्नमा चुनाव लड्नु परेका कारण पनि स्थानीय तहमा जनमत आफूतिर तान्न सकेनौं’, भट्टराईको निष्कर्ष थियो। यो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नै ‘आँखा’ चिह्नबाट प्रतिस्पर्धा गर्न पाउने भएपछि उनलाई आशा थियो, केही गतिलै सिटसहित राष्ट्रिय पार्टी बन्न सकिन्छ। तर, चुनावको मुखमा माओवादीबाट आएका थुप्रै नेता उतै फर्किएपछि नयाँशक्तिलाई धक्का लाग्यो।
त्यसपछि भट्टराई वाम गठबन्धनको तयारीमा जुटे। असोज १७ गते राष्ट्रिय सभागृहमा वाम गठबन्धनको घोषणा हुँदा भट्टराई पनि सँगै थिए। एमालेका वामदेव गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ जस्तै वाम गठबन्धनका एक सूत्रधार थिए, भट्टराई। तर, श्रेष्ठकै विगतको उनीप्रतिको तुषका कारण गोरखाका कुनै क्षेत्र पनि भट्टराईलाई छाड्न तयार भएन माओवादी।
गोरखाबाटै चुनाव लड्नुपर्ने अवस्थामा अन्तिम विकल्प रोज्दै कांग्रेससँगको लोकतान्त्रिक गठबन्धनमा पुगे भट्टराई। किनकि एक्लै चुनाव लडेर नतिजा निकाल्न गाह्रो थियो उनलाई। उनले त चुनाव जिते, तर समानुपातिकतर्फ भने राष्ट्रिय दल बन्न आवश्यक ३ प्रतिशत मत पनि नआउने भएको छ।
यसपटक अर्को नयाँ राजनीतिक शक्ति विवेकशील–साझातिर बाँडिए मतदाता। यद्यपि साझाको पनि राष्ट्रिय पार्टी बन्ने सम्भावना छैन। तर, साझाले एक लाख ९५ हजार हाराहारी मत ल्याउँदा नयाँशक्तिले ७५ हजार मत पनि कटाएको छैन।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गरेर दस वर्षमा देशको काया फेर्नुपर्छ भनेर लागेका भट्टराई आफैं २ वर्षमा विकल्पविहीन अवस्थामा पुगेका छन्। समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा नयाँशक्ति संयोजक भट्टराईको ‘देब्रे आँखा’लाई मतदाताले रुचाएको देखिएन। राष्ट्रिय दल बन्न नसकेपछि अब गोरखा–२ बाट निर्वाचित भट्टराईको प्रतिनिधिसभामा प्रवेश स्वतन्त्र सांसदको रुपमा हुनेछ।
यस्तो अवस्थामा भट्टराईले के गर्लान्? स्वतन्त्र सांसदका रुपमा पाँच वर्ष संसदमै रुमल्लिने छन् वा अर्को पार्टीमा समाहित हुनेछन्? माओवादी छाड्नासाथ देखिएको मधेस मोह हेर्दा उनी फेरि यादव नेतृत्वको फोरम नजिक पुग्नेछन्। प्रत्यक्ष र समानुपातिक गरी करिब १६–१७ सिट ल्याउने देखिएको फोरम भट्टराईका लागि पनि राम्रो फोरम बन्न सक्छ। किनकि संसद् र सरकारलाई खबरदारी गर्न यो संख्या ठीकै हो। राजपा पनि एक भए त राम्रै संख्याको एक मोर्चा बन्न सक्छ।
पटकपटक गलहत्याइएपछि उनी माओवादी फर्कन गाह्रो छ। उनले भनिसकेका छन्, ‘यो जुनीमा प्रचण्डसँग एकता हुँदैन।’
अब त एकताको ‘हैसियत’बाट पनि तल खस्किएका छन्, भट्टराई। यथार्थमा विलय र अलि सहज शब्द खोज्दा समाहित हुने बाध्यतामा छन्। एक्लो बृहस्पति भएर संसदमा रहिरहनु प्रधानमन्त्री र शक्तिशाली पार्टीको शक्तिशाली नेता रहिसकेका उनलाई कष्टकर नै हुनेछ।
केहीका टिप्पणी अनुसार त सांसद छाडी विद्धत् पेशामा रहेर राजनीतिक अवकासको जीवन बिताउनु उनका लागि उत्तम विकल्प हुनेछ। तर, तत्काल सांसद पद त्याग्ने मनस्थितिमा छैनन् उनी। त्यसैले इतिहासमै पहिलोपटक भट्टराई विकल्पविहीन अवस्थामा पुगेका छन्।