भैरहवा ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह नगरपालिकाको उत्तरमा अवस्थित एउटा सानो गाउँ ।  चारैतिर घना जङ्गल र खोलाको बीचमा रहेको गाउँ जहांँ पूरै हरियाली छ ।  ८४ घरधुरी मगर बस्ती रहेको उक्त गाउँलाई कतिपयले सरहनटाँडी भन्ने गर्दछन् भने कतिपयले अर्गानिक गाउँको रूपमा पनि बुझ्ने गर्दछन् ।  देवदह नगरपालिकादेखि झण्डै तीन किलोमिटर उत्तरमा रहेको यो गाउँ २०६५ देखि अर्गानिक तराकारी गाउँको रूपमा परिचितसमेत बनेको छ ।

पछिल्लो समय आम नागरिक अर्गानिक खानेकुरातर्फ आकर्षित भएपछि सरहनटांँडी अहिले सबैको माझ चम्किएको छ ।  रूपन्देहीको अर्गानिक तरकारी खेतीको लागि पकेट एरियाको रूपमा रहेको देवदह ७ सरहनटाँडीका किसानले ४० हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।  वर्षात्को समयमा धानखेती गर्ने किसानहरूले हिउँदको समयमा सबैले अर्गानिक तरकारी खेती गर्दैै आएका छन् ।  २०६४ सालमा सरहनकाली कृषि सहकारी संस्था दर्ता गरी कृषकहरूले रूपन्देहीमै नमुना अर्गानिक खेती गरिरहेका छन् ।

व्यावसायिक रूपमा अर्गानिक तरकारी खेती गर्दै आएको गाउँमा ८४ घर सहकारीमा आबद्ध भएको संस्थाका अध्यक्ष मानबहादुर गाहाले जानकारी दिनुभयो ।  जिल्ला कृषि विकास कार्यालयले अर्गानिक तरकारीको पकेट एरियाको रूपमा विकास गर्न लागेको उक्त क्षेत्रमा ५० घरधुरी रहेको र सबै किसानले अर्गानिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।  ५८ जना कृषक सहकारीमा आबद्ध भएको जानकारी दिँदै अध्यक्ष गाहाले भन्नुभयो– “हामीले तरकारी बेच्नको लागि बजार नै जानुपर्दैन, बारीबाटै किसानहरूले खोसाखोस गरेर लैजाने गर्दछन् । ”

उक्त स्थानमा बुटवलबाट व्यवसायीहरू गएर किसानको घरघरबाट नै तरकारी उठाउने गरेका छन् ।  किसानको दैलोबाट नै तरकारी उठाउने गरेको किसानहरूको भनाइ छ ।
पानीको सुविधा भएकोले यहाँका किसानहरूले ०६४ सालमा कृषि समूह गठन गरी ०६५ सालमा दर्ता गरी सामूहिक रूपमा तरकारी खेती गर्दै आएका हुन् ।  वि.सं. २०६५ सालबाट पूर्णरूपमा अर्गानिक खेती सुरु गरिएको किसानहरू बताउँछन् ।  हिउँदको समयमा पानीको मात्रा कमी हुने गरेको कारणले केही समस्या हुने गरेको किसानको गुनासो छ ।  यसको साथै अर्गानिक विषादीको पनि अभाव रहेको किसानको भनाइ छ ।  असुरो, निम, बकाइनो जस्ता अर्गानिक विषादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पदार्थको अभाव भएको अध्यक्ष गाहाको भनाइ छ ।

किसानहरूले आ–आफ्नो जग्गाको स्थानमा करिब १० हजारदेखि ४० हजार रुपियाँसम्म खर्च गरी सिँचाइको लागि कुलोसमेत निर्माण गरेका छन् ।  किसानहरूले छ महिनाको एक सिजनमा करिब एक करोड १६ लाख रुपियाँको तरकारी बिक्री गर्ने गरेका छन् ।  किसानहरूले सिमी, गोलभेडा, तरुल, पिंडालु, गोभी, लसुन, प्याज, सागलगायतका सम्पूर्ण तरकारीको खेती गर्ने गरेका छन् ।
किसानले यसको लागि आफ्नो जग्गा अनुसारको लगानी गर्ने गरेका छन् ।  सिमीलाई किसानहरूले प्रतिधार्नी (२.५० किलो) को ८७ रुपियाँदेखि १४० सम्ममा बिक्री गर्दै आएका छन् ।  अहिले किसानले ४० रुपियाँ प्रतिकेजीमा टमाटर बिक्री गर्ने गरेका छन् ।
युवादेखि वृद्धसम्मका किसानहरू अर्गानिक खेतीमा रमाएको कृषि विकास कार्यालयकी प्राविधिक सहायक लक्ष्मी आचार्य तिवारीको भनाइ छ ।  उहाँले व्यावसायिक रूपमा अर्गानिक तरकारी खेती अपनाएका किसानहरूका लागि कृषि कार्यालयले पनि आवश्यक सहयोग प्रदान गर्दै आएको समेत बताउनुभयो ।
७६ वर्षीय दलबहादुर रेश्मीमगर पनि अर्गानिक तरकारी खेती गर्ने अर्का किसान हुनुहुन्छ ।  करिब आठकट्ठा क्षेत्रफलमा तरकारी खेती गर्नुभएका उहाँ भन्नुहुन्छ– “विषादी हाल्नु हँुदैन, लामो समय बाँच्नको लागि पनि विषादी नभएको तरकारी खानुपर्छ । ”

उहाँको भनाइलाई अनुशरण गर्दै तरकारी खरिदका लागि आम उपभोक्ता उहाँको दैलोमै पुग्ने गर्दछन् ।  जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख भोजराज सापकोटाले सरहनटाँडीमा करिब ७५ बिघा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिएको जानकारी दिँदै यस स्थानले पहिचानसमेत दिएको बताउनुभयो ।  स्वस्थकर, पूर्णरूपमा अर्गानिक खेती गरिएको कारण जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइको कार्यक्रम, बीउमा अनुदान, अर्गानिक मल, जैविक विषादीमा अनुदान दिएको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

त्यस्तै रूपन्देहीको देवदह नगरपालिका–१० भलुहीका किसान अमर लामिछानेले अर्गानिक खेती गर्न थालेको केही वर्ष भएको छ ।  विदेश नजाने कसम खाएर अर्गानिक खेतीमा लाग्नुभएका उहाँले अहिले एक बिघा क्षेत्रफलमा गोलभेडा, आलु, लसुन, बन्दागोभीलगायतका विभिन्न जातका तरकारी खेती लगाउनुभएको छ ।  पूर्णरूपमा अर्गानिक तरकारी उत्पादन गर्दै आउनुभएका उहाँलाई बजारको कुनै पनि चिन्ता छैन ।  उहाँले भन्नुभयो– “मेरो बजार भनेको यही भलुही हो ।  योभन्दा बाहिर जान्न” अर्गानिक तरकारी खेतीका सञ्चालक किसान अमर लामिछाने भन्नुभयो– “हामीले पूर्णरूपमा अर्गानिक तरकारी उत्पादन गर्दैै आएका छौँ, यहीँबाट नै तरकारी खोसाखोस हुन्छ । ”

करिब तीन लाख रुपियाँ लगानीमा तरकारी खेती गर्नुभएका उहाँले अहिले दैनिक रूपमा १५ सय रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।  जिल्ला कृषि विकास कार्यालयबाट समेत बीउ, मलखादमा अनुदान दिएको कृषि विकास कार्यालय रूपन्देहीका बागवानी विकास अधिकृत जोगेन्द्र गुप्ताले जानकारी दिनुभयो ।  उहाँजस्तै रूपन्देहीको देवदह ९ का ४४ वर्षीय तुलाराम पाण्डेले १६ वर्ष भारतको दिल्लीमा होटलमा काम गरी अहिले आफ्नै खेत करिब पाँच कट्ठामा अर्गानिक खेती गर्दै आउनुभएको छ ।
उहाँको खेतमा गोलभेडा, सिमी, आलुलगायतका तरकारीहरू लटरम्म फलेका छन् ।  एक वर्षमा करिब ३० देखि ४० हजार रुपियाँ लगानी गरेमा करिब दुईदेखि साढे दुई लाख रुपियाँ आम्दानी गर्नसकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया