धनकुटा- मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ।

एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँच वटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन्। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो।

जिल्लाको निर्वाचनमा सहभागी भएकामध्ये सबैभन्दा कम मत प्राप्त गर्ने राप्रपाबाट प्रतिनिधिसभातर्फका उम्मेदवारले ३१ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय धनकुटाको तथ्यांकमा रहेको छ।

जमानत सफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लिम्बुवान लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत उम्मेदवारी दिएका सात दल छन्। निर्वाचनमा जमानत जोगाउन ६ हजार ६५५ मत आवश्यक हुने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

जिल्लामा उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका उम्मेदवारले रु १० हजार र प्रदेशसभातर्फका उम्मेदवारले रु ५ हजार धरौटीबापत रकम जम्मा गरेको रकम फिर्ता नपाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए।

निर्वाचनमा जिल्लाका ११ दलका १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए।

तपाईको प्रतिक्रिया