गुराँस न्युज । तेह्रथुम, २९ मंसिर । गत मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावमा जिल्लाका २२ जना उम्मेदवारको जमानत जफत भएको छ । विजयी उम्मेदवारसहित प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार गरी छ जना बाहेक सबै उम्मेदवारले जमानत गुमाएका हुन् । जिल्लाबाट प्रतिनिधि सभातर्फ ११ जना र प्रदेश सभातर्फ दुई क्षेत्रका १७ जना गरी २८ जना उम्मेदवार रहेका थिए ।
तर प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा विजयी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरुले मात्र जमानत जोगाएका छन् । जमानत जफत बाट १ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभाको जमानतबाट एक लाख र प्रदेश सभाको जमानत जफतबाट ८२ हजार ५ सय रुपैयाँ सकलन भएको हो ।
जमानत जोगाउनेमा जिल्लाबाट प्रतिनिधि सभातर्फ निर्वाचित एमाले उम्मेदवार भवानीप्रसाद खापुङ र कांग्रेस उम्मेदवार सीता गुरुङ रहनुभएको छ । खापुङले ५०.४४ प्रतिशत र गुरुङले ४५.६६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (क) तर्फ विजयी एमालेका लक्ष्मण तिवारी र कांग्रेसका गोविन्द ढुंगानाको मात्रै जमानत जोगिएको छ । तिवारीले ५०.२३ र ढुंगानाले ४३.९५ प्रतिशत मत ल्याउनुभएको छ ।
यस्तै प्रदेश सभा (ख) तर्फ पनि विजयी एमालेका तेजमान कन्दङवा र कांग्रेस उम्मेदवार विजय सम्बाहाम्फेले जमानत बचाउनुभएको छ । कन्दङवाले ५३.५२ प्रतिशित र सम्बाहाम्फेले ४१.८० प्रतिशत मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभातर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शंंकरमान लिम्बु, नेकपा मालेका डिल्लीबहादुुर बुढाथोकी र संघीय समाजवादी फोरमका तुलसी प्रसाद अधिकारीको जमानत जफत भएको छ ।
यस्तै राष्ट्रिय जनमुक्तिका सागरनाथ रेग्मी, नयाँ शक्ति पार्टीका टंकबहादुर भट्टराई, राप्रपा राष्ट्रवादीका गौरीप्रसाद कन्दङवा, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी र मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङबाङको पनि जमानत जफत भएको छ । उनीहरु मध्ये कसैले पनि १० प्रतिशत मत ल्याउन सकेका छैनन् ।
प्रदेश सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे र विष्णुकुमार लिम्बु, संघीय समाजवादी फोरमका सुर्यबहादुर लिम्बु र मानध्वज सम्बाहाम्फे, नेकपा मालेका माधवप्रसाद दाहाल तथा नयाँ शक्ति पार्टीका विष्णुप्रसाद दाहाल र राजेन्द्र कन्दङवाको पनि जमानत जफत भएको छ ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सुर्यबहादुर थापा र मानबहादुर लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बु र डम्बरबहादुर लिम्बु तथा राप्रपा राष्ट्रवादीका धनराज कन्दङवा र यशोदादेवी कार्कीको पनि जमानत जफत भएको छ ।
प्रतिनिधि सभा सदस्यको लागि ४४ हजार ३ सय १ मत खसेकोमा १ हजार ९ सय मत भएको थियो । सदर मत ४२ हजार ३ सय १ मध्ये ९ जना उम्मेदवारले १० प्रतिशत मत समेत नल्याएकाले उनीहरुको जमानत जफत भएको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो ।
यस्तै प्रदेश सभा (क) तर्फ २४ हजार २ सय ६३ मत खसेकोमध्ये ८ सय ९१ मत बदर भई २३ हजार ३ सय ४५ मत सदर भएको थियो । प्रदेश सभा (ख) क्षेत्रमा पनि १९ हजार ९ सय ६३ मत खसेकोमा ७ सय १२ मत बदर भई १९ हजार २ सय ५१ मत सदर ठहरिएको थियो ।
एमालेको निरन्तर जीत
०४६ पछि भएका सबै चुनाव जित्दै आएको नेकपा एमालेले यस पटकको प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि जितेको छ । एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा पनि सबै क्षेत्रमा क्लीन स्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । ०४९, ०५४, ०५६ र ०७० को चुनाव पनि एमालेले नै जितेको थियो । प्रतिनिधि सभामा एमालेबाट तेश्रो पटक उम्मेदवार बनेका भवानीप्रसाद खापुङ दोश्रो पटक विजयी हुनुभएको हो ।
प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी हुनुभयो । प्रतिनिधि सभातर्फ विजयी खापुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गर्दै निर्वाचित हुनुभयो । खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी गुरुङले १९ हजार ३ सय १४ मत पाउनुभयो ।
यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा विजयी तिवारीले कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गर्नुभयो । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभयो भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नुभयो प्रदेश सभा (ख) मा विजयी कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरे भने सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।