संरक्षणमा स्थानीयबासीको चासो
– प्रकाश धौलाकोटी
तेह्रथुम । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफा पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । पोखरीको अस्तित्व नै संकटमा पर्दै गएपछि स्थानीयबासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेराबारा, सरसफाई, पानीको मुहान पहिचान जस्ता विषयमा अहिले चासो बढेको छ । बाहिरबाट अवलोकनका लागि पुग्नेहरुलाई पनि स्थानीयबासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न भ्याउँछन् ।
संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पोखरीको संरक्षणका लागि तत्कालिन जिल्ला विकास समितिले छुट्टाएको ५ लाख रुपैयाँबाट हालै पोखरी परिसरमा घेराबारा गरिएको छ । सो रकमले पोखरी परिसरमा ३ सय ९० मिटर घेराबारा लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बुले बताउनुभयो ।
‘अब पानीको स्रोत जुटाउनु छ, श्रोतको पहिचान गर्नेक्रममा छौँ,’ गुराँस न्युजसँग उहाँले भन्नुभयो । प्राकृतिक रुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहोर बढ्दो छ । वर्षेनि मौषम परिवर्तन हुँदै पानीको मुहान धमाधम सुक्दै गएको छ ।
पाँच वर्ष अघिसम्म भरिभराउ हुने पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफुहरु प्रयत्नशील रहेको गुराँस न्युजसँग कुरा गर्दै अध्यक्ष लिम्बुले बताउनुभयो । प्राकृतिक विविधताले भरिपुर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्दछ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनि हजारौँ पर्यटकहरु ओहोर दोहोर गर्छन् । यो क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीहरुको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे बन, डाँडा काँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटकहरु आउँछन् ।
टिएमजेको सबैभन्दा ठुलो र महत्वपुर्ण पोखरी गुफा पोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीय स्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी १६ घरधुरी बस्छन्् । तीन हजार मिटर उचाईमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो । अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो । पाँच वर्षयता हिउँ नै कम पर्न थालेको उहाँले बताउनुभयो । ‘अब हामी पानीको स्रोत खोज्न लागेका छौं,’ गुराँस न्युजसँग उहाँले भन्नुभयोे, ‘त्यसपछि पोखरीभित्र रहेको बालुवा निकाल्ने र चारै तिर घुम्ने र हेर्ने ठाउँ बनाउने योजना छ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले आसपासका बीस घरधुरीले त्यही पोखरीको पानी प्रयोग गर्थे । मानिसको चाप बढ्दै जाँदा जंगल समेत फँडानी भएकाले वृक्षारोपण गर्ने समेत योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरी देखि बाहिरपट्टि लालिगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ । फुलका विरुवाहरु ठुला भएपछि पोखरी आसपास गुराँस सहित आकर्षक फुलहरु फुलाएर ढकमक्क बनाउने योजना रहेको स्थानीयबासी सुनाउँछन् ।
पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहाँसिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नामपनि गुफापोखरी राखिएको स्थानीयबासी बताउँछन् । सो गुफाको समेत संरक्षण गरी प्रचार प्रसार गर्ने योजना रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । सोही गुफासँगै पोखरी र बजारको अस्तित्व जोडिएकाले गुफालाई पनि प्राथमिकतामा राखेर संरक्षण गरी पर्यटकीय स्थल बनाउनुपर्ने स्थानीयबासी धर्के शेर्पा बताउनुहुन्छ ।
‘यहाँको गुफा र पोखरीले टिएमजे क्षेत्रकै ऐतिहाँसिक विषेशता बोकेको छ, यी नै पोखरी र गुफा नै पर्यटक भुलाउने बस्तु हुन्,’ शेर्पा भन्नुहुन्छ, ‘यिनैलाई संरक्षण नगरे हामी कसरी संरक्षित हुने ?’ टिएमजे क्षेत्रका तीनजुरे डाँडा, पाथीभरा र यहाँका उच्च क्षेत्रका बस्ती अवलोकन गर्दै पर्यटकहरु आवत् जावत् गर्छन् । प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडा, यसकारण पनि टिएमजे आफै पर्यटकीय स्थल हो ।
अझ कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा ¥याफ्टिङ गर्ने पर्यटक समेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारहरुको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने वडाअध्यक्ष श्रेष्ठको भनाई छ । अहिले यहाँको पदमार्ग भएर तमोरमा ¥याफ्टीङ गर्न आउनेहरु पनि बढेका छन् ।
तेह्रथुमको बसन्तपुर हुँदै गफा पोखरीसम्म सडकको पहुँच समेत स्थापित भइसकेको छ । सो सडकलाई मदन भण्डारी राजमार्गको नामाकरण गरी निर्माण गर्ने सरकारी योजना समेत रहेको छ । अहिले निर्माणाधीन सो सडक भएर ताप्लेजुङको दोभानदेखि गुफापोखरी, बसन्तपुर हुँदै धरानसम्म सीधा यातायात समेत सन्चालन हुन थालेको छ । ‘सडकको ट्रयाक बनेकै छ, अब भरपर्दो सडक बनुञ्जेल यहाँ पर्यटकलाई एक दिन अल्मलिने पुर्वाधारहरु खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, हामी प्रयत्नरत छौँ,’ गुराँस न्युजसँग कुरा गर्दै स्थानीयबासी हरि खनालले बताउनुभयो ।