तेह्रथुम, २८ मंसिर । कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृर्ति ‘आँसुका थोपा’ शोक काव्य विहीबार सार्वजनिक भएको छ । तेह्रथुम साहित्य प्रतिष्ठानले प्रकासन गरेको सो काव्य तेह्रथुमका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले लोकार्पण गर्नुभएको हो ।
सो कवि प्यासीले म्याङलुङ्ग नगरपालिका–३, नागदह बस्ने स्व.रामकुमारी रसाइलीको स्मृतिमा लेख्नुभएको हो । प्रतिष्ठानले स्व.रसाइलीको पहिलो वार्षिकीको अवसमा उहाँकै निवासमा कार्यक्रमको आयोजना गरी शोक काव्य लोकार्पण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खनालसहित प्रतिष्ठानका सल्लाहकार तथा कवि उमानाथ भट्टराई, कवि गोविन्दराज श्रेष्ठ, प्राध्यापक यजुर्वेदानन्द भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष तुलसी रिमाल र स्व.रसाइलीका श्रीमान् रामलाल रसाइलीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको प्रतिष्ठानका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो ।
पुस्तकमाथि प्राध्यापक यजुर्वेदानन्द भट्टराईले चर्चा गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खनाल, कवि उमानाथ भट्टराई, गोविन्दराज श्रेष्ठ लगायतले प्यासीको काव्यमा समेटिएका विषयवस्तुबारे चर्चा गर्दै सो कृर्ति शोक काव्यमालाको एउटा श्रृङ्खला भएको धारणा राख्नुभयो । जिल्लामा पछिल्लो समय साहित्यिक गतिविधि सुस्ताउँदै गएको भन्दै त्यसलाई चिर्न समेत यो कृर्ति प्रकासनले सहयोग पु¥याएको वक्ताहरुको जोड थियो ।
यस्ता गतिविधिलाई निरन्तरता दिन समेत उनीहरुले सुझाव दिएका छन् । लेखक प्यासीले आफ्नी मामाकी छोरी दिदी पर्ने स्व.रामकुमारी रसाइलीको स्मृतिमा जीवन, माया, नाता र दुखदायी घटनाहरुलाई समेटेर काव्य तयार गर्नुभएको छ । ६० पृष्ठ रहेको सो काव्यमा २ सय १२ वटा श्लोकहरु समेटिएका छन् । पुस्तकको मुल्य १ सय ५१ रुपैयाँ रहेको छ ।