काठमाडौं– मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिँदै गर्दा सबैको चासो थियो, कति वटा राजनीतिक दलले राष्ट्रिय दलको हैसियत प्राप्त गर्लान्? आर्थिक समृद्विको नारासहित आएका नयाँ शक्ति र विवेकशील साझा पार्टीले के राष्ट्रिय दलको मान्यता पाउलान्?
नयाँ शक्तिमा एउटा कुरा तय थियो, पार्टीले राष्ट्रिय दलको हैसियत प्राप्त गरे नायिका करिश्मा मानन्धरले केन्द्रीय संसदमा प्रवेश पाउने। नयाँ शक्तिले प्रतिनिधिसभा सदस्यको समानुपातिकको सूचीमा करिश्मालाई पहिलो नम्बरमा राखेको थियो।
आर्थिक समृद्विको नारासहित खोलिएको नयाँ शक्तिको उद्घाटन सत्रदेखि नै करिश्मा चर्चामा थिइन्। उनले आफूलाई तिखार्ने क्रममा औपचारिक शिक्षामा कमजोर रहेको भन्दै कक्षा नौ बाट पढाइ अघि समेत बढाएकी थिइन्।
राजनीतिको आरोह–अवरोहमा अधिकांश ठूला नेताले बाबुरामको साथ छाड्दा पनि करिश्मा अडिग रहिरहिन्। पार्टी छाडेर धेरै नेता अरु पार्टीमा गए, कोही निस्क्रिय बसे। उनी भने पार्टी संगठनको हरेक गतिविधिमा क्रियाशील रहँदै बाबुरामलाई सघाइरहिन्। सेलिब्रिटी अनुहारलाई पार्टीले चुनाव प्रचारमा मतदातासँग भोट माग्न पनि अघि सारेको थियो। त्यसैले पनि होला, पार्टीले करिश्माको नाम समानुपातिकको पहिलो नम्बरमा राखेको थियो।
नयाँ संविधानमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था छ, राष्ट्रिय दल बन्न एक जना उम्मेदवारले प्रत्यक्षतर्फको निर्वाचनमा जित्नैपर्ने र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैको आशा पार्टी अध्यक्ष बाबुरामको निर्वाचन क्षेत्र गोरखा २ मा थियो। निकै रोमाञ्चक प्रतिस्पर्धामा बाबुरामले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराए। बाबुरामको विजय जुलुसमा सहभागी हुन करिश्मा समेत गोरखा पुगेकी थिइन्।
अब नयाँ शक्तिलाई राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने थियो। करिश्माको सांसद बन्ने अवसर त्यसमै अड्किएको थियो।
प्रत्यक्षतर्फको १ सय ६५ क्षेत्रकै नतिजा आइसक्दा समानुपातिकको मतगणना पनि अन्तिम चरणमा छ। नयाँ शक्तिले समानुपातिकतर्फ १ लाख भोट ल्याउने समेत छाँट देखिएको छैन। अन्तिम चरणमा पुगेको गणनामा नयाँ शक्तिले ७३ हजार मत प्राप्त गरेको छ।
यो मतपरिणामले नयाँ शक्ति अब राष्ट्रिय पार्टी बन्ने छैन। साथै, करिश्मा यस पटक माननीय नबन्ने निश्चित भएको छ।