काठमाडौं । राजा महेन्द्रले २०१३ सालमा टुँडिखेलको छेउ काटेर रंगशालालाई दिनुअघि टुँडिखेल अहिलेको जमलदेखि रंगशालासम्म र धरहरादेखि भृकुटी मण्डपसम्म थियो । त्यतिबेला ती सबै क्षेत्र सेनाकै नियन्त्रणमा थियोे । यद्यपि सर्वसाधारलाई पनि त्यहाँसम्मको पहुँच थियो ।

तर, विस्तारै टुँडिखेल खुम्चिँदै गयो । शहीदगेट र रत्नपार्कको सडक बनेपछि टुँडिखेल टुक्राटुक्रा भयो । रानीपोखरीको छेउमा शान्ति बाटिका बन्यो । रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च, आर्मी अफिसर्स क्लब र दशरथ रंगशालाको कारण अहिले सर्वसाधारणको पहुँचमा रहेको टुँडिखेल शहीदगेटदेखि सैनिक मञ्चसम्मको साँघुरो क्षेत्र मात्रै छ । अरु सबैलाई अर्कै नामले चिनिन थालिसकेको छ ।

अब भन् विशाल टुँडिखेलको अवधारणालाई फेरि ब्युुँताउन सरकार अघि बढेको छ । यसको गुरुयोजनाको काम सम्पन्न भई डीपीआर गर्ने प्रक्रियामा पुगेको छ । नेपाल पुनर्निर्माण प्राधिकरणको पहलमा बनेको उक्त गुरुयोजना अन्तर्गत बृहत्तर टुँडिखेलले उत्तरमा रानीपोखरीदेखि दक्षिणमा रंगशालासम्म र पूर्वमा भृकुटीमण्डपदेखि पश्चिममा धरहरासम्मको क्षेत्रलाई एकीकृत गरेर एउटा उद्यान बनाइनेछ । यो उद्यान विश्वकै एउटा नमूना उद्यान बन्नेछ ।

greater-tudikhel (5).JPG

यस्तो बन्दैछ बृहत्तर टुँडिखेल 

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार यो आयोजना संघीय सरकार, वाग्मती प्रदेश सरकार र काठमाडौं महानगरपालिका गरी तीनै तह मिलेर तयार हुनेछ । प्रदेश र स्थानीय तह पनि सो अवधारणा अघि बढाउन तयार भइसकेका छन् । अहिले टुँडिखेल क्षेत्रमा रहेका संयन्त्रहरुले पनि यो अवधारणालाई अघि बढाउन तयार भइसकेका छन् ।

गुरुयोजना अनुसार अबको टुँडिखेलको उत्तरमा रानीपोखरी हुनेछ । रानीपोरीको छेवैमा रहेको त्रिचन्द्र कलेजलाई त्यहाँबाट अटाएर पुरानो जनप्रशासन क्याम्पसमा स्थानान्तरण गरिनेछ । अहिले घण्टाघर रहेको भवन भने कलेजसँगै हुुनेछ ।

greater-tudikhel (3).JPG

त्यस्तै, कानून पुस्तकालय, इन्जिनिय संघ लगायत क्षेत्रसम्म टुँडिखेल फैलिनेछ । त्रिचन्द्र कलेजको छेवैमा रहेको प्रहरी आयुक्तको कार्यालय पनि त्यहाँबाट हटाइनेछ । उता दक्षिणतर्फ रहेको आर्मी अफिसर्स क्लबको कभर्ड हल पनि त्यहाँबाट हट्नेछ । यसको लागि नेपाली सेना यो क्षेत्र छोड्न तयार भइसकेको प्राधिकरणको भनाइ छ ।
बृहत्तर टुँडिखेललाई अहिले तीनवटा बाटोले काटेको छ । ती सबै बाटोहरुमा अब अन्डरपास बन्नेछन् ।

शान्तिवाटिकालाई रत्नपार्कसम्म छुट्याउने, टुँडिखेल र सैनिकको कभर्डहलबीचको शहीदगेटको सडक, टुँडिखेल र भृकुटीमण्डपको बीचमा रहेको सडक तथा सुन्धारा र टुँडिखेल बीचमा रहेको सडकमा अन्डरपास निर्माण हुनेछ । माथि भने हरियालीसहितको उद्यान बन्नेछ ।

greater-tudikhel (4).JPG

उता आर्मी अफिसर्स क्लबको कभर्ड हलमा अन्डरग्राउन्ड पार्किङ बन्नेछ । दशरथ रंगशाला तथा अन्य विभिन्न क्षेत्रका सवारीसाधनहरु सो स्थानमा पार्किङ गर्न सक्नेछन् । अहिले भृकुटीमण्डप रहेको स्थानमा पनि २ तहको संरचना बन्ने गुरुयोजनामा उल्लेख छ । अन्डरग्राउन्डमा नेपाली मौलिक कला संस्कृति झल्काउने वस्तुहरुको प्रदर्शनी तथा व्यापार गरिनेछ । माथिल्लो संरचनामा भने हरियाली पार्क फैलिनेछ ।

 

यो अवधारणा अन्तर्गत त्रिचन्द्र कलेजको सरस्वति निकेतन, रानीपोखरी, सैनिक मञ्च, शहीदगेट र दशरथ रंगशालालाई भने यथावत राखिनेछ । रानीपोखरी र दशरथ रंगशाला भर्खरै पुनर्निमाण भएका हुन् भने शहीदगेट र सैनिक मञ्चको ऐतिहासिक महत्व भएकोले यसलाई सोही स्वरुपमा आयोजनामा समेट्ने प्रयास गरिएको हो । सैनिक मञ्चलाइ प्राचीन कला शैली अनुसार निर्माण गरिनेछ ।

greater-tudikhel (2).JPG

बृहत्तर टुँडिखेलको सबै स्थानमा सर्वसाधारणको पहुँच हुनेछ । यो आयोजनाको लागत कति लाग्छ भन्ने अहिले अनुमान गरिएको छैन । डीपीआर तयार भएपछि मात्रै यसबारे भन्न सकिने प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बताउँछन् । यद्यपि संघ प्रदेश र स्थानीय तहले आयोजनाका केही भागहरुमा लगानी गर्न इच्छा देखाएका छन् । रत्नपार्कको अन्डरपासको लागि काठमाडौं महानगरपालिका तथा शहीदगेटको अन्डरपासको लागि प्रदेश सरकारले इच्छा देखाएको उनले बताए ।

 

पुनर्निमार्ण प्राधिकरणको म्याद भने आगामी पुसमा सकिनेछ । सो म्याद समाप्त भएपछि प्राधिकरण खारेज हुनेछ । प्राधिकरण खारेज भए पनि आयोजना निर्माणका लागि सरकारले कुनै निकायलाई तोक्ने ज्ञवाली बताउँछन् ।

साभार- नेपालअर्थ

तपाईको प्रतिक्रिया